गृह » कान्दालीले उचालेको स्वाभिमान
सम्पादकीय

कान्दालीले उचालेको स्वाभिमान

अवसर पाउने हो भने सफलता हासिल गर्न भूगोल र सिमानाले केही फरक पार्दो रहेनछ भन्ने उदाहरण देखाएका छन्– चितवनको विकट पहाडी क्षेत्र कान्दाका बालबालिकाले । इटहरीमा भएको १२ औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिपमा कान्दाबाट प्रतिनिधित्व गरी सावित्री तामाङले स्वर्णपदक र बुद्धिबहादुर चेपाङ र राममाया चेपाङले कास्यपदक उचालेर स्वाभिमान राखेका छन् । विषालु च्याउ खाँदा बाबुराम चेपाङको परिवारका आठ जनाले ज्यान गुमाउनु परेको हृदयविदारक घटनाले कान्दालीको कथा बोल्छ । विसं २०६७ जेठमा भएको सो घटनामा बाबुराम चेपाङका नौ महिने नातिमात्रै बाँच्न सफल भए । त्यस विदारक घटनापश्चात् कान्दाको चर्चा चलेको हो । विषालु च्याउले गाउँमा गरेको विनासपछि विष्णु गौतमले आफ्ना दुई छोराहरुको स्मृतिमा लक्ष्मी प्रतिष्ठानमार्फत सुविधासम्पन्न छात्रावास निर्माण गरी विद्यार्थीहरुलाई पठनपाठन र अतिरिक्त क्रियाकलापमा सहभागी गराएका थिए । त्यही छात्रावासमा पढ्ने विद्यार्थीहरुले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक पाएर चमत्कार गरे । सीमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङको दुर्गमबस्तीबाट प्राप्त यो सफलताले कान्दालीको उज्ज्वल भविष्य प्रतिबिम्बित गरेको छ । कान्दालीको अवस्था बदल्ने च्याम्पियनहरु उदाउन थालेको अनुभूति भएको छ ।
भीरपाखामा हुर्केबढेका र राज्यका सबै अवसरबाट वञ्चित रहेका कान्दाका यी ताराहरु किन पनि चर्चामा छन् भने अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १३ देशका खेलाडीहरुले भाग लिएको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर स्वर्णपदक हासिल गर्नु आफैँमा नौलो विषय हो । अवसर पाए जुनसुकै क्षेत्रका खेलाडीले आफ्नो क्षमता देखाउन सक्दारहेछन् भन्ने दृष्टान्त पनि हो यो । पेटभरि खान नपाउने, एकसरो कपडा पनि लगाउन नसक्ने, पेट भर्न गिठ्ठा–भ्याकुर र च्याउ खोज्नुपर्ने कहर कान्दालीको थियो । कान्दालाई बदल्न होस्टेमा हैँसे गर्दै जुट्ने अभियन्ताहरु यतिखेर बधाईका पात्र बनेका छन् । कान्दाको दुर्भाग्यको पीडालाई परिवर्तन गरेर कान्दालाई नमुना गाउँ बनाउन लागिपर्ने तमाम मनकारीहरु, सहयोगीहरु, संघसंस्थाहरु पनि बधाईका पात्र हुन् । बालबालिकालाई अतिरिक्त क्रियाकलापअन्तर्गत कान्दा डोजाङमा सहभागी गराएर प्रशिक्षण दिने सुमन दाहाल पनि धन्यवादका पात्र बनेका छन् । सदरमुकाम भरतपुरबाट पूरै एकदिनको समय लाग्ने दुर्गम कान्दाले पाएको यस सफलताले हामी सबैलाई हर्ष लागेको छ ।
खेलाडी राष्ट्रका गहना हुन् । उनीहरुका लागि राम्रो प्रशिक्षण, उपयुक्त अवसर, लगानी र प्रवद्र्धन गर्न सक्ने हो भने सफलता हासिल गर्न सकिन्छ । कसैको पनि कल्पनाभन्दा विपरीत कान्दाका बालबालिकाले उचालेको स्वाभिमान, राष्ट्रिय स्वाभिमान हो । कान्दाजस्तै कुनाकन्दरामा रहेका यावत् ग्रामीण विकट क्षेत्रका बालबालिकाले यस्ता अवसर पाए पक्कै पनि सफलता हासिल गर्न सक्छन् । सरकारले देशकै स्वाभिमान बढाउने र गौरवको अनुभूति दिलाउने खेल क्षेत्रमा पर्याप्त लगानी गरी कान्दाकै जस्ता बालबालिकालाई खेलकुदका क्षेत्रमा आकर्षित गर्न सक्नुपर्छ । कान्दामा डेढ वर्षयता तेक्वान्दो सिक्दै आएका कान्दाका विद्यार्थीले हासिल गरेको स्वर्णपदकलाई प्रशिक्षक दाहालले ‘ओलम्पिकमा स्वर्णपदक जितेसरह’ भनेर प्रतिक्रिया दिए । उनको भनाइले के पुष्टि गर्छ भने असुविधा र विपन्नताका बीच पनि कान्दालीले स्वर्णपदक चुम्नु अस्वाभाविक लाग्ने स्वाभाविक वास्तविकता हो । यस्तै अस्वाभाविक लाग्ने चमत्कारहरु कान्दालीले गर्नुपरेको छ । अहिले कान्दालीले विषालु च्याउ खाएर मृत्युवरण गर्नुपर्ने अवस्था छैन । अब अखबारहरुमा कान्दालीले उदाहरणीय र चमत्कार गरेका समाचारहरु छापिनेछन् ।

Comments

About the author

चितवन पोष्ट