गृह » श्रीमान् वीरबहादुर आजबाट मञ्चन
कला समाचार समाज

श्रीमान् वीरबहादुर आजबाट मञ्चन

तुलमान गुरूङ
नारायणगढ । लामो समयपछि नारायणी कलामन्दिरमा आज बुधबारदेखि ‘श्रीमान् वीरबहादुर’ नाटक मञ्चन हुने भएको छ ।
‘कर्मी नाट्य समूह’ले नारायणी कला मन्दिरमा चितवनमा नाटक घर निर्माणको लागि सो नाटक मञ्चन गर्न लागेको कर्मी नाट्य समूहले जनाएको छ । समूहका संयोजक मुकुन्द खलपात्रका अनुसार चार दिनसम्म चल्ने नाटक नियमित दुई शो चल्नेछ ।
नाटकको तयारीबारे जानकारी दिने उद्देश्यले मंगलबार विशेष शो गरिएको थियो । चितवनका पत्रकार र यहाँका पुराना कलाकारहरूका बीचमा विशेष शो मञ्चन गरिएको थियो । धनगढीका कथाकार रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ कथा सङ्ग्रहभित्रको ‘श्रीमान् बीरबहादुर’ शीर्षकको एउटा कथालाई नाट्य रूपान्तरण गरेर मञ्चन गर्ने तयारी गरिएको हो ।
करिब डेढ महिना समय लगाएर तयार गरेको नाटकको सबै तयारी सकिएको समूहका संयोजक खलपात्रले जानकारी दिए । नाटकमा पोखरा घर भई काठमाडौँको शिल्पी थिएटरमा आवद्ध रहेर काम गरेका सुरेश जिसीले बीरबहादुरको भूमिका निर्वाह गरेका छन् । नाटकको मुख्य पात्र नै बीरबहादुर हो । चितवनमा पनि नाटकको राम्रो सम्भावना भएकोले नाटकको विकासको लागि आफू चितवन आएको उनले बताए । वीरबहादुर एउटा थारू समुदायको युवा हो । तर, फरक भूमिकामा आफू देखिएको भन्दै उनले भने, ‘थारू समुदायको भूमिका निर्वाह गर्नु भनेको मेरो लागि एकदमै चुनौतीपूर्ण थियो । तै पनि पात्रलाई न्याय दिलाउने प्रयास गरेको छु ।’ अभिनयमा उनलाई खासै समस्या छैन । तर, पात्र र चरित्रलाई कसरी निभाउने भन्ने चिन्ता भने सधैँ रहिरहने उनी बताउँछन् ।
नाटकका मुख्यपात्र ‘वीरबहादुर’ की श्रीमती अर्थात् प्रेमलताको भूमिकामा कृपा अधिकारी देखिएकी छिन् । खासमा उनी फेसन डिजाइनर हुन् । केही म्युजिक भिडियोमा काम गरेकी उनले पहिलो पटक नाटकमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । नाटकको कथावस्तु मन परेकोले नाटकमा काम गर्ने रूचि बढेको उनी बताउँछिन् । २१ वर्षकी युवतीले करिब ३० वर्षकी महिलाको भूमिका निभाउन त्यति सजिलो नभए पनि डेढ महिनासम्मको अथक प्रयासले नाटक राम्रो बनेको उनले दाबी गरिन् । रिहर्सलको क्रममा धेरै दुःख भएको भन्दै उनले आफ्नो प्रस्तुति हेरेर प्रतिक्रिया दिन पनि दर्शकहरूलाई आग्रह गरिन् । ‘एकदमै धेरै मेहेनत गरेर नाटक मञ्चन हुँदैछ,’ उनले भनिन्, ‘त्यसैले हाम्रो समूहको प्रयास र कर्मी नाट्य समूहको प्रयासलाई सफल पार्नको लागि तपाइँहरू नारायणी कला मन्दिरको हलसम्म आइदिनुहोला ।’
करिब एक घण्टा लामो नाटकमा प्रहरी प्रशासन, पत्रकार, मजदुर (रिक्सा चालक) र युवतीको कथा समेटिएका छन् । नाटकमा कुमारी आमाले सन्तान जन्माउँदा समाजले हेर्ने दृष्टिकोण र पत्रकारले त्यसलाई समाचारमा मुख्य शीर्षक बनाएर लेख्दा उनलाई परेको असरलाई देखाइएको छ । नाटक हेरेर चितवनका पुराना कलाकार ऋद्धिचरण श्रेष्ठले नाटक धेरै राम्रो बनेको बताए । नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘चलचित्र र नाटक भनेको नित्तान्त फरक कुरा हो ।’ नाटक र फिल्मबारे उदाहरण दिँदै उनले थपे, ‘फिल्म भनेको शरीरको कुनै अंगमा चिलाउँदा लुगा बाहिरबाट कन्याएजस्तो हो । नाटक भनेको कपडाभित्रै हात लगाएर कन्याए जस्तै आनन्द आउने चिज हो ।’ चितवनमा नाटकको राम्रो संभावना रहेकोले यसैलाई निरन्तरता दिन सके अझ राम्रो हुने भन्दै उनले सुझाव दिए ।
नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले पनि चितवनमा नाटकको राम्रो सम्भावना भएर पनि निरन्तरताको कमीले नाटकले स्थान पाउन नसकेको बताए । त्यसो त नारायणी कला मन्दिरले पनि प्रयास नगरेको होइन । नारायणी कला मन्दिरबाटै स्वर्गीय शिव रेग्मी, मौसमी मल्ल, गणेश उप्रेती, ऋद्धिचरण श्रेष्ठ, पुष्प आचार्य, प्रेम श्रेष्ठ जस्ता कलाकारको जन्मिएका हुन् । कर्मी नाट्य समूहले नारायणी कला मन्दिरभन्दा बाहिर रहेर पनि राम्रो नाटक मञ्चन गर्न सफल भएको भन्दै अध्यक्ष प्रधानले उच्च प्रशंसा गरे ।
नाटकमा सुरेश जिसी, कृपा अधिकारी, विवेक तिवारी, अञ्जान ढुङ्गाना, भीष्म जोशी, सुमित आचार्य, प्रदीप आचार्य, अस्मिता थापा, रञ्जना सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । आज बुधबारदेखि मञ्चन हुने नियमित शोको लागि दुई सय र पाँचसय रूपैयाँको दरमा दुईथरी टिकटको व्यवस्था गरिएको कर्मी नाट्य समूहले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट