गृह » निःशुल्क प्राप्त हास्यरस
विचार समाचार समाज

निःशुल्क प्राप्त हास्यरस

भनिन्छ कि साहित्यका अनेक रसमध्ये हास्यरस पनि एक हो । आफू हा“स्न कारण चाहिन्छ भने अरुलाई हँसाउन कला चाहिन्छ । नेपालका महजोडी र मनोज गजुरेल प्रसिद्ध हास्य कलाकारको रुपमा परिचित छन् । अब यी नामहरुमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि थपिएका छन् । उनले पोखरामा गत आइतबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा वाम गठबन्धन टुटाउन आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने जानकारी दिएपछि कमै मात्र हाँस्ने र अन्तरमुखी स्वभावको यो स्तम्भकार पनि खित्का छोडे नहाँसी रहन सकेन ।
नेकपा एमाले र माओवादी पार्टीबीच एकता प्रक्रिया निकै अगाडि बढिसकेको र उच्च तहका नेताहरुबीच पद व्यवस्थापनको गृहकार्य भइरहेको यो अवस्थामा प्रचण्डलाई फकाएर वाम गठबन्धन टुटाउँछु भन्नु चार्ली च्याप्लिनको जस्तो प्रभावकारी हाँसो बाहेक अरु केही हुन सक्तैन ।
महामन्त्री कोइरालासँग यदि जुटेको पार्टीलाई फुटाउन सक्ने जादुमय क्षमता छ भने त्यसको प्रयोग आफ्नै पार्टीभित्र गर्दा राम्रो हुनेछ । अनेक गुट र उपगुटमा विभाजित नेपाली कांग्रेसको चुनावी राजनीतिमा देखिएको दयनीय अवस्था देखेर यो स्तम्भकार पनि चिन्तित छ । प्रजातन्त्र स्थापना गरेको र गणतन्त्रमा पनि प्रभावकारी भूमिका खेलेको कांग्रेसलाई आलोचना गर्दैमा हाम्रो भूमिका पूरा हुँदैन । लडेकालाई उठाउने र सुतेकालाई ब्युँझाउने माननीय प्रवृत्ति र स्वभाव हामीमा हुनु जरुरी छ । चुनावमा कमजोर देखिएको कांग्रेसलाई रचनात्मक सुझावहरु दिएर उसको पुनर्जीवनको चाहना र कामना पनि हामीले नै गर्नुपर्छ ।
देशैभरि आफ्नै पार्टीको निराशाजनक अवस्था घामजस्तै छर्लङ्ग हुँदाहुँदै पनि पार्टी संगठनको सुदृढीकरण गर्नेतर्फ नलागेर वाम गठबन्धनलाई फुटाउने सपना देख्ने कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कुन शब्दले उनको पोखराको अभिव्यक्तिलाई प्रतिक्रिया र टिप्पणी गर्ने भन्ने विषयमा यो स्तम्भकार अन्यौलमा छ । हामी उनीलाई गाली वा आलोचना गरेर आफ्नो समय र उर्जावान शक्ति खेर फाल्न चाहँदैनौ । बरु यो भन्न विवश छौं कि उनी र उनीजस्तै केन्द्रीय नेताहरुको जीर्ण सोचकै कारण कांग्रेसले चुनावमा नराम्रो हार व्यहोर्नु परेको हो । आफू र देउवाले मात्र जितेर कांग्रेसले जितेकै ठहर्दैन । रामचन्द्र पौडेल, डा रामशरण, अर्जुन नरसिंह केसी र गोपालमान श्रेष्ठलगायतले पनि चुनाव जितेको भए आज परिदृश्य अर्कै हुने थियो । तर, विडम्बना के छ भने कांग्रेसले आफ्नो घर पनि नबनाउने र अरुको बन्न लागेको घर पनि भत्काउने विनाशकारी सोचले नै यो दुर्दशा भएको हो । सबैलाई चेतना भया ।
–अर्यालय

 

Comments

About the author

चितवन पोष्ट