गृह » आधुनिक कांग्रेस निर्माणमा जुटौँ : विश्वप्रकाश 
राजनीति समाचार समाज

आधुनिक कांग्रेस निर्माणमा जुटौँ : विश्वप्रकाश 

रत्ननगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् ।
नेता शर्माले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । देशव्यापीरुपमा चुनावी पराजयपछि नेपाली कांग्रेसले आयोजना गरेको वृहत् सभामा प्रमुख आतिथिसमेत रहेका युवा नेता शर्माले कांग्रेस पराजित हुनुमा आफ्नो पनि दोष रहेको स्वीकार्दै भने, ‘हामी आफू बदलिन्छौँ, कांग्रेस बदल्छौँ, जो आफूलाई बदल्ने हिम्मत राख्दैनन् तिनले कांग्रेस बदल्न सक्दैनन् ।’
‘सक्नेले संसार बदल्न सक्छन्, कांग्रेस बदल्न किन सक्दैनन् ?’ युवा नेता शर्माले थपे, ‘जो–जो बदलिन्छन्, तीनले नेतृत्वले लिन्छन्, अब नबदलिनेहरुले बिदा लिन्छन् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले अबको साझा एजेण्डा कांग्रेसमा परिवर्तन रहेको बताए । लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने पार्टीका लागि हार–जीत स्वभाविक प्रक्रिया भए पनि संगठन सुदृढीकरणसहितको परिवर्तित कांग्रेस अबको एजेन्डा हो’, उनले भने ।
नेपाली कांग्रेस चितवनले चुनावी समीक्षा, सम्मानको अवसरमा आयोजना गरेको बृहत् सभामा कांग्रेस नेताहरुले पराजयको गम्भीर समीक्षा गर्दै आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने साझा धारणा व्यक्त गरे । कार्यक्रममा पूर्वी चितवनका दुई हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता एकनाथ रानाभाट, जिल्ला सभापति जितनारायण श्रेष्ठ, युवा नेता दिनेश कोइराला, उत्तम आचार्य, रुपनराज घिमिरेलगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट