गृह » छायामा मेघौलीको पर्यटन
समाचार समाज

छायामा मेघौलीको पर्यटन

रामशरण गैरे
मेघौली । देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवन विकास भइरहँदा सौराहा पछिको मुख्य पर्यटकीय केन्द्र मानिने मेघौली भने पर्यटकको अभावमा प्रायः सुनसान देखिन्छ ।
कला, संस्कृति र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भए पनि प्रचारप्रसारकै अभावमा मेघौली छायामा परेको छ । राप्ती र नारायणीको संगमस्थलबाट देखिने मनोरम सूर्यास्त, चितवन राष्ट्रिय निकुञ्जका लोपोन्मुख जनावरहरुको सहजै अवलोकन गर्न सकिने यो क्षेत्र कुमाल, थारु समुदायको कला संस्कृतिको निम्ति प्रख्यात ठाउँ पनि हो ।
करिब २३ बिघा क्षेत्रफलमा फैलिएको एयरपोर्ट, आठवटा सामुदायिक वन तथा सिमसार क्षेत्रसमेत यो क्षेत्रको आकर्षण रहेको र यहा दूर्लभ एकसिंगे गैंडा तथा खर मयुरलगायतका पशुपंक्षीहरुको अवलोकन सजिलै गर्न सकिने भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङ बताउँछन् ।
चितवनका सबै क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भए पनि मेघौली विशेष मह¤व राख्ने पर्यटकीय क्षेत्र हो । पर्यटकीय दृष्टिकोणले राम्रो भए पनि मेघौली क्षेत्र छायामा परेको छ । मेघौलीमा ठूला लगानीका तीन मझौला लगानीका ६ र साना लगानीका १३ गरी २२ वटा होटल रहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
सौराहा आएका १० प्रतिशत पर्यटक पनी मेघौली नआउने हुँदा यसको लागि सडक मार्ग विस्तार हुनु जरूरी छ । भरतपुरबाट २५ किमी पश्चिममा पर्ने मेघौली जाने मुख्य मार्ग कालोपत्रे गर्न वर्षौदेखि ठेक्का भए पनि कामले पूर्णता पाएको छैन । हप्ताको तीन दिन मात्र सञ्चालन हुने मेघौली एयरपोर्टको स्तरवृद्धिसहित नियमित सञ्चालन हुनुपर्ने हो । हप्ताको तीन दिन पनि पर्यटकको अभावमा नियमित सञ्चालन हुन नसकेको भरतपुर–२८ का वडाध्यक्ष आशबाहादुर कुमाल बताउँछन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवन विकास भइरहँदा मेघौलीले भने आन्तरिक तथा बाह्य पर्यटकक आकर्षण गर्न नसकेको चितवन क्षेत्र नं. ३ को प्रदेश ‘क’ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेल बताउँछन् । भुर्तेलले मेघौली कसरालगायतका क्षेत्रलाई वाइल्ड टुरिजमको रुपमा विकास गर्नुपर्ने बताउँदै आएका छन् ।
पश्चिम चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरुमा सीतामाई पटियानी, बेलहठ्ठा सामुदायिक वन, कसरा गोही प्रजनन केन्द्र, शुक्रनगर किगंफिसर, मेघौली, गोलाघाटलगायत क्षेत्रको विकास गर्नुपर्ने र प्रचारप्रसार गर्नुपर्ने सांसद भुर्तेलले बताए । चितवन विकासको सम्भावना भनेको जल र पर्यटक बताउँदै आएका भुर्तेलले नारायणी नदीलाई व्यवस्थापन गर्दै जल पर्यटकलाई अगाडि बढाउने बताएका छन् ।
यस क्षेत्रमा मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै नारायणी तथा राप्ती कटानले गरेका कटान र क्षतिका न्यायोचित तथा एकमुष्ठ क्षतिपूर्ती दिनुपर्ने र तटबन्धन गर्दै पश्चिम चितवनको दीर्घकालीन विकास र पर्यटकीय सम्भावनालाई उजागर गर्नको साथै समृद्ध चितवन बनाउनका लागि योजनाबद्धरुपमा अघि बढ्ने भुर्तेलले बताए ।

Comments

About the author

चितवन पोष्ट