गृह » बदलियो राजनीतिक परिदृश्य, चुनावपछि पार्टी एकीकरण समिति निष्क्रिय
प्रमुख समाचार राजनीति

बदलियो राजनीतिक परिदृश्य, चुनावपछि पार्टी एकीकरण समिति निष्क्रिय

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुने भएपछि कात्तिक १५ गते अर्थात उम्मेदवार मनोनयन गर्नेभन्दा अघिल्लो दिन चितवनमा माओवादी र एमालेको संयुक्त भेलाले पार्टी एकीकरण संयोजन समिति गठन ग¥यो । तर, गठन भएको दुई महिना पूरा हुँदा पनि समितिको एउटा बैठकसम्म बस्न सकेको छैन ।
वाम गठबन्धन गरेर चुनावमा उठ्ने र चुनावपछि पार्टी एकीकरण नै गर्ने दुवै पार्टीको केन्द्रीय तहमा सहमति भएको थियो । स्थानीय चुनावमा चितवनमा एमाले र माओवादीबीच तिक्ततापूर्ण सम्बन्ध थियो । त्यसलाई सामान्य बनाउने उद्देश्यका लागि पनि मनोनयन दर्ताको अघिल्लो दिन जिल्ला तहमा पनि पार्टी एकीकरण समन्वय समिति बनाउनु परेको एमालेका एक जिल्ला नेताले बताए ।
चुनाव प्रचारको क्रममा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका कृष्णभक्त पोखरेलले पार्टी एकीकरणका लागि चितवन जिल्लाले हस्तक्षेपकारी भूमिका खेल्ने भाषण गर्दथे । जिल्ला तहमासमेत एकता समिति बनेपछि चुनावका लागि मात्रै तालमेल नभएर पार्टी नै एक हुने छ भन्ने सन्देश कार्यकर्ता र मतदातालाई दिन खोजिएको थियो ।

कात्तिक १५ गते एमाले र माओवादी केन्द्रले भरतपुरमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा पार्टी एकीकरण संयोजन समिति गठन भएको घोषणा गरिएको थियो ।

समितिमा एमाले र माओवादी केन्द्रका गरेर कुल सातजना नेताहरु सम्मिलित छन् । ‘समिति बनेको हो । पहिला चुनावको व्यस्तता भयो । अहिले चुनाव जितेपछि पनि एक खालको व्यस्तता नै छ । तर, पार्टी एकता गर्न जिल्ला तहबाट पनि दबाब दिनुपर्छ र सक्रियता बढाउनु पर्छ । यसका लागि हामी तयार छौं । बैठक चाडै बस्ला’ समितिका सदस्य तथा एमाले चितवनकी सचिव पार्वती रावलले भनिन् ।
समितिमा एमाले नेता कृष्ण खनाल र माओवादी चितवनका इन्चार्ज ईश्वरी भट्टराई संयोजक छन् । त्यस्तै सदस्यहरुमा एमालेबाट जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का र सचिव पार्वती रावल नै छन् । त्यस्तै माओवादी केन्द्रका घनश्याम दाहाल र ज्ञानु बस्नेत पनि समितिको सदस्य छन् । संयोजक खनाल र सदस्य दाहाल प्रदेशसभामा निर्वाचित पनि भएका छन् ।
बैठकको अध्यक्षता नेपाली वर्णानुक्रमअनुसार आलोपालो गर्ने नियम बनेको थियो । ‘समितिमा बसेकै साथीहरु उम्मेदवार पनि हुनु हुन्थ्यो । चुनावसम्म प्रचारमै व्यस्त भइयो । चुनाव सकिएपछि पनि बैठक राख्न सकिएको छैन । तर, हामी राखेर एकीकरणका लागि जिल्लाले खेल्ने भूमिकालाई बढाउँने छौं’ संयोजक मध्येका एक माओवादी केन्द्रका नेता ईश्वरी भट्टराईले भने । समितिका अर्का संयोजक तथा एमाले नेता कृष्ण खनाल पनि समितिको औचित्य कायमै रहेको बताउँछन् ।
‘चुनावअघि प्रचारमै जुटियो । चुनावपछि पनि हामी जिल्लामा पार्टीहरु आन्तरिक समीक्षामा नै छौं । बैठक नबसे पनि एकीकरणको विषयलाई नजरअन्दाज गरेका छैनौं । केन्द्रले जे भन्छ हामी त्यो गर्न तयार मात्रै छैनौं कि केन्द्रलाई पनि एकीकरणको विषयमा सक्रिय हुन दबाब दिने छौं’ संयोजक खनालले भने । चितवनमा प्रतिनिधिसभाका सबै तीन र प्रदेशसभाका सबै छ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार नै विजयी भएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल उम्मेदवार हुने भएपछि दुई पार्टीका नेता कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउन हरप्रकारका प्रयास गरिएको थियो । कात्तिक १३ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन आउँदा स्वागतका लागि भरतपुर विमानस्थलमा एमालेका नेता र एमालेबाट विजयी वडाध्यक्षहरुको भीडभाड थियो । सो दिन विमानस्थलमा पत्रकार सम्मेलन पनि दुवै पार्टीका पत्रकार संगठनले संयुक्तरुपमा गरेका थिए ।
तर, पछिल्लो समय यस्ता दृश्य पनि देखा पर्न छाडेका छन् । पुस ७ गते नेता दाहाल चितवन आउँदा भरतपुर विमानस्थलमा स्वागतका लागि एमालेका कोही नेता पुगेका थिएनन् । पत्रकार सम्मेलन पनि माओवादी निकटको प्रेस सेन्टर नेपालले मात्रै आयोजना गरेको थियो ।

Comments

About the author

चितवन पोष्ट