गृह » सकियो चितवन हात्ती महोत्सव, हात्ती पोलोमा माउण्ट एभरेष्ट विजयी
प्रमुख समाचार

सकियो चितवन हात्ती महोत्सव, हात्ती पोलोमा माउण्ट एभरेष्ट विजयी

होमनाथ सापकोटा
रत्ननगर । चितवन हात्ती महोत्सवअन्तर्गत भएको बहुचर्चित खेल हात्ती पोलोको उपाधि माउण्ट एभरेष्ट ग्रुपको एमई ट्राभल्स एण्ड टुर्सले जितेको छ ।
मेगा बैंकलाई ३ का विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै माउण्ट एभरेष्टले सो उपाधि जितेको हो । निर्धारित २० मिनेटको खेलमा माउण्ट एभरेष्टको टिमबाट चन्द्र तामाङले ४ गोल र विश्वम्बर चौधरीले २ गोल गरेका थिए । तामाङले एलिसाकली र चौधरीले चम्पाकली लिएर हात्ती पोलोमा प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी मेगा बैंकको तर्फबाट ठगहा पंजियारले २ गोल र सन्तकुमार चौधरीले १ गोल गरेका थिए । पंजियारले बिजुलीकली र चौधरीले पुष्पाकली लिएर हात्ती पोलो खेलेका थिए ।
चार समूह समभागी हात्ती पोलो खेलमा सबै भन्दा बढी गोलकर्तामा चन्द्र तामाङ, उत्कृष्ट खेलाडीमा ठगहा पंजियार र फेयर खेलाडीमा केमिका भण्डारी घोषित भई पुरस्कृतसमेत भएका छन् । ३० वर्ष लामो इतिहास बोकेको हात्ती पोलो खेल गत वर्षबाट चितवनमा हुन थालेको हो । चितवन हात्ती महोत्सवलाई थप आकर्षक बनाउन आयोजक क्षेत्रीय होटल संघ चितवनले आधिकारिकरुपमै सौराहामा हात्ती पोलो खेल सुरू गरेको हो ।
फास्टवाकको उपाधि टुरिजम बैंकलाई
त्यसैगरी हात्ती फाष्टवाक प्रतियोगिताको उपाधि टुरिजम बैंकले जितेको छ । निर्धारित १२५ मिटरको दूरी ३० सेकेण्डमा पार गरी लक्कीकलीले टुरिजम बैंकलाई उपाधि जिताउन सफल भएको हो । फाष्टवाकमा हिमालयन सोसल जर्नी द्वितीय भएको छ । सो संस्थाको प्रतिनिधित्व गरेको एकताकलीले निर्धारित दूरी ३१ सेकेण्डमा पार गरेको थियो । प्रतियोगितामा कोकोकला तृतीय भएको छ । सो संस्थाको प्रतिनिधित्व गरेको अनारकलीले निर्धारित दूरी ५३ सेकेण्डमा पार गरेको थियो ।
हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा हात्तीको सहभागिता रहेको थियो । विभिन्न चरणमा खेलाइएको सो प्रतियोगिताको फाइनलमा ६ वटा हात्तीले प्रतिस्पर्धा गरेको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । त्यसैगरी हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटबल प्रतियोगिताको उपाधि सीजी फुड्सले जितेको छ । कुमारी बैंकलाई ३–० गोल अन्तरले पछि पार्दै सीजीले सो उपाधि जितेको हो । सीजीका तर्फबाट खेल सुरू भएको ८ मिनेट ५४ सेकेण्डमा अमलटारीगजले पहिलो गोल गरेको थियो । सीजीकै कसरागजले दोस्रो हाफपछि लगातार २ गोल गरेर सीजीलाई उपाधि जिताउन सफल भएका थिए ।
छावाको फुटबलमा सीजी विजयी
हात्तीका छावाहरुको फुटबलमा सबै भन्दा बढी गोल कसरागजले गरेको आयोजकले जनाएको छ । सो प्रतियोगितामा पनि ४ वटा समूहको सहभागिता रहेको थियो । छावाहरुको फुटबलका लागि चितवन निकुञ्जका ४ हात्ती र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका ४ हात्ती प्रयोग गरिएको थियो । महोत्सवअन्तर्गत हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता, हात्ती बाथिङ, हात्ती वनभोजलगायत विभिन्न सांस्कृतिक कार्यक्रम भएको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।
चितवनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको सो हात्ती महोत्सव सकिएको छ । पुस ११ गतेबाट सुरू भएको सो महोत्सव शनिबार सकिएको हो । समापन कार्यक्रममा विभिन्न प्रतियोगितामा उपाधि जितेका हात्ती तथा संघसंस्थालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । संघका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, रत्ननगर नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट