गृह » चितवनमा कविशिरोमणिको सम्झना
समाचार समाज साहित्य

चितवनमा कविशिरोमणिको सम्झना

भरतपुर । नेपाली साहित्यमा कविशिरोमणि लेखनाथ पौड्यालको योगदानको कुनै मापन गर्न नसकिने भन्दै चितवनका करिब एक सय स्रष्टाहरुले शनिबार कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झेका छन् ।
१० भन्दा बढी स्रष्टाले पौड्यालको रचना वाचन गरेका छन् । कवि पौड्याललाई सम्झने अवसर चितवन साहित्य परिषद् (चिसाप) ले जुराइदिएको हो । साहित्य परिषद्ले शनिबार कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औं जन्मजयन्ती दुई स्रष्टालाई सम्मान गर्दै मनाएको हो । नारायणगढको आनन्दमार्गमा रहेको परिषद्को सभाहलमा दुई स्रष्टा सम्मानित भए । साहित्यकार दिपेन्द्रसिंह थापा ‘सहयात्री शव्दहरु’ कविता सङ्ग्रहबाट सम्मानित भएका हुन् । अर्का साहित्यकार ‘बतासा’ कथा सङ्ग्रहबाट सम्मानित भए । दुवैजनालाई नगद ५/५ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।
कार्यक्रममा कविशिरोमणि पौड्यालको स्थानको बारेमा डा नारायण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । साहित्यकारहरु श्याम सुवेदी, मनिष गौतम, प्रज्ज्वल खरेल, ऋषिराम पौडेल, प्रभाकर घिमिरे, सुचित्रा बमलगायतले कविशिरोमणि पौड्यालको कवितालाई सस्वर वाचन गरेका थिए । साहित्यकार तथा सम्मानित भएका थापाको बारेमा गणेश श्रमणले र ढुंगानाको बारेमा धनराज गिरीले चर्चा गरेका थिए । चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेमविनोद नन्दन प्रमुख अतिथि थिए । कार्यक्रममा गोविन्दराज विनोदी, श्यामजी अतिथि, नवराज ढुंगानालगायतले मन्तव्य दिए ।

 

Comments

About the author

चितवन पोष्ट