गृह » पार्टी एकताका विषयमा भ्रम हटाऔँ : नेता पाण्डे
प्रमुख समाचार राजनीति

पार्टी एकताका विषयमा भ्रम हटाऔँ : नेता पाण्डे

?

तुलमान गुरूङ
समिटार । नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एकदुई दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बसेर एमाले र माओवादी पार्टी एकीकरण गर्ने बताएका छन् ।
राप्ती नगरपालिका वडा नं १० स्थित स्वामीटारको राष्ट्रिय माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन गर्दै नेता पाण्डेले दुई पार्टीको एकताको विषयमा भ्रममा नपर्न आग्रह गरेका हुन् । त्यसपछि वाम गठबन्धनको सरकार बन्ने उनले बताए । उनले भने, ‘अब जनताले भनेका कुरा सबै पूरा हुन्छ,’ नेता पाण्डेले भने, ‘तपाईहरू ढुक्क भएर बस्नोस् ।’
उनले विद्यालयको लागि १५ लाख रूपैयाँ बजेट छुट्याइसकेकोले विद्यालयको आवश्यक संरचना निर्माण गर्न मद्दत पुग्ने बताए । बाँकी आवश्यकता पनि बिस्तारै पूरा गर्दै जाने उनले प्रतिबद्धता जनाए ।
विद्यालयमा आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला शिक्षा कार्यालय चितवनले पुस्तकालयको लागि साढे छ लाख रूपैयाँ बजेट पारेको थियो । तर, त्यति बजेटले पुस्तकालयको लागि संरचना निर्माणमै खर्च भएको विद्यालयका प्रधानध्यापक आशमान तामाङले जानकरी दिए । उनका अनुसार जिल्ला शिक्षा कार्यालयले दिएको बजेटबाट जम्मा दुई लाख ६१ हजार रूपैयाँको मात्रै पुस्तक खरिद गर्न सकोेका थियो ।
तर, अहिले राप्ती नगरपालिका वडा नं ८ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका भीषणहरि सिलवाल र उनको परिवार मिलेर पुस्तकालयलाई सहयोग गरेका छन् । सिलवालले मात्रै दुई लाख १५ हजार रूपैयाँसहित परिवारको तर्फबाट करिब साढे तीन लाख रूपैयाँ बराबरको पुस्तक पुस्तकालयको लागि सहयोग गरेका छन् । शिक्षक, विद्यार्थी र अभिभावकलाई पढ्ने वातावरण सिर्जना होस् भनेर विद्यालयमा सहयोग गरिएको सिलवालले बताए ।
ज्यादै विकट क्षेत्रमा प्रयोगमा नआउने र सुगम क्षेत्रमा प्रयोग भइसकेकोले आवश्यकता र प्रयोग दुवैलाई हेरेर समीटारको विद्यालयमा सहयोग गरिएको उनले बताए । विद्यालयले पनि पुस्तकालय स्थापना भएपछि आवश्यक पर्दा र फूर्सदको समयमा पुस्तक पढ्न पाइने भन्दै खुशी व्यक्त गरेको छ । विसं २०३५ सालमा स्थापना भएको विद्यालयमा यो वर्ष ५२७ जना विद्यार्थी अध्ययनरत छन् ।

 

Comments

About the author

चितवन पोष्ट