गृह » गुरु र बाबु नै भक्षक, चितवनमा गम्भीर अपराधका घटना बढ्यो
प्रमुख समाचार

गुरु र बाबु नै भक्षक, चितवनमा गम्भीर अपराधका घटना बढ्यो

दिपेन्द्र अधिकारी
भरतपुर । चितवनमा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वर्ष पुस्तक प्रकाशन पूर्व आयोजना गरेको समीक्षा कार्यक्रममा गत एक वर्षको अवधिमा जबर्जस्ती करणी, करणी प्रयास, हत्या, बहुविवाह, मानव बेचबिखनका घटनाहरु बढेको जानकारी दिइएको हो ।
इन्सेकका अनुसार सन् २०१६ भन्दा सन् २०१७ मा १५ वटा गम्भीर प्रकृतिका घटना बढेको छ । सन् २०१६ मा कुल ६४ घटना रहेकोमा चालु वर्षमा ७९ पुगेको छ । जबर्जस्ती करणी मुद्दा अघिल्लो वर्ष १९ वटा रहेकोमा यस वर्ष ३० वटा पुगेको चितवनका इन्सेक प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए ।
त्यस्तै जबर्जस्ती करणी प्रयास अघिल्लो वर्ष २५ घटना रहेकोमा यस वर्ष २० वटामात्र रहेको इन्सेकले जनाएको छ । सन् २०१६ मा कर्तव्य ज्यानतर्फ ६ घटना रहेकोमा यस वर्ष बढेर १२ पुगेको पाइएको छ ।
यस्तै अघिल्लो वर्ष बहुविवाहका चार घटना रहेकोमा यस वर्ष थपिएर सात पुगेको छ । मानव बेचविखनतर्फ पनि अघिल्लो वर्ष ६ वटा घटना दर्ता भएकोमा यस वर्ष ९ वटा पुगेकोछ ।
गुरू र बाबु नै भक्षक
१४ वर्षीया बालिकालाई ४० वषीय बाबुले जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भदौमा मुद्दा चलाएको थियो । सो मुद्दाको किनारा लगाउँदै चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त अभियुक्त बाबुलाई पुस २ गते १५ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
त्यस्तै १२ वर्षीया बालिकालाई चितवनको रत्ननगर–१ स्थित झरानाथ बालविकास केन्द्रमा आश्रय दिएका ६३ वर्षीय पूर्वशिक्षक गोविन्द ढकालले गत वैशाख महिनादेखि नै निरन्तर शारीरिक सम्बन्ध राखेको खुल्यो । ढकालविरुद्ध चितवन अदालतमा मुद्दा चलिरहेको छ ।
बालिका बढी पीडित
चितवनमा जबर्जस्ती करणी घटनामा २५, करणी प्रयासमा १३, हत्यामा २ र मानव बेचबिखनमा एक बालिका पीडित बनेको पाइएको छ । अघिल्लो वर्ष करणी घटनामा ८, करणी प्रयासमा १२ र मानव बेचबिखनमा २ बालिका पीडित भएका थिए ।
चितवनमा यस अवधिमा कुल ७९ घटना दर्ता भएकोमा जम्मा २० वटा घटनाको मात्रै चितवन अदालतले फैसला गरेको छ । जबर्जस्ती करणीका १४, कर्तव्य ज्यानका २, बहुविवाहका ३ र मानव बेचविखनका एक घटना फैसला भएको चितवन अदालतका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जानकारी दिए ।
शुक्रबार समीक्षा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शर्माले जुनसुकै घटनाको पनि पीडितले न्याय र पीडकले सजाय पाउनैपर्ने बताए ।
पछिल्ला घटनाहरुमा बालिकाहरु पीडित भएको भन्दै अपराध न्यूनीकरणका लागि राज्य, विभिन्न सरोकारवाला निकाय प्रतिवद्ध हुनुपर्ने शर्माले बताए । कार्यक्रममा बार एशोसिएसन चितवनका अध्यक्ष अधिवक्ता गोपिलाल देवकोटा, चितवन अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्त, पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीलगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट