गृह » भरतपुर–२९ पूर्ण खोपयुक्त
अर्थ समाचार समाज

भरतपुर–२९ पूर्ण खोपयुक्त

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडाभर रहेका १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले आवश्यक खोप लिइसकेपछि यो वडालाई शुक्रबार पूर्ण खोप घोषणा गरिएको हो ।
कविलास स्वास्थ्यचौकीमा शुक्रबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पूर्ण खोप वडा घोषणा गरिन् । २९ वडामध्ये कविलास भरतपुर महानगरको १५ औँ पूर्ण खोपयुक्त वडा बनेको छ । यो वडाले साविक कविलास गाविसको सबै क्षेत्र समेटेको छ ।
कविलास स्वास्थ्यचौकी इञ्चार्ज भविश्वर अधिकारीले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत कविलास स्वास्थ्यचौकीले वडाभरका सबै घरघरै गणक पठाएर गरेको सर्वेक्षणमा जन्मेदेखि १ वर्षसम्मका १४४ र १ देखि २ वर्षसम्मका १४१ जना बालबालिका फेला परेका थिए । खोप सर्वेक्षणमा १२ देखि २३ महिनासम्मका ८७ जना सबै बालबालिकाले खोप लगाएको पाइएपछि वडालाई पूर्ण खोपयुक्त बनाइएको स्वास्थ्यचौकी प्रमुख भविश्वर अधिकारीले जानकारी दिए ।
जन्मेदेखि १५ महिनाको उमेरभित्र बीसीजी, डीपीटी हेप,–बि.हिबको ३ मात्रा, पीसीभीको ३ मात्रा, पोलियो ३ मात्रा, ९ र १५ महिनाको उमेरमा लगाइने दादुरा रूबेलाको २ मात्रा र १ वर्षको उमेर पूरा भएपछि जे.ई.को १ मात्रा लगाउनुपर्ने स्वास्थ्यचौकीका सिनियर अ.हे.ब.दिवाकर अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु ज्ञवालीले ११ थरि रोगका ७ थरि खोप लगाउनुपर्ने बताए । नेपाल सरकारले सबै बालबालिकालाई यी सबै खोप निःशुल्क लगाउँछ । भरतपुरका २९ वडामध्ये १५ वडा पूर्ण खोपयुक्त घोषणा भएपनि अझै १४ वडा घोषणा हुन बाँकी छन् । तिनीहरुलाई आगामी सन् २०१८ सम्म घोषणा गरिसक्ने उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले देशभरका ३३ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको बताउँदै चितवनमा पनि प्रगति भइरहेको बताए ।

 

Comments

About the author

चितवन पोष्ट