गृह » चितवनमा समानुपातिक सांसद चयन
राजनीति समाचार समाज

चितवनमा समानुपातिक सांसद चयन

चितवन । प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरुले सांसद चयन गर्न थालेका छन् । प्रदेशसभातर्फ नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायतका दलहरुले सांसद चयन गरिसकेका छन् ।
नेकपा एमालेबाट प्रदेशसभा ३ को समानुपातिकतर्फ चितवनकी नेतृ पार्वती सिलवाल सांसद बनेकी छन् । भरतपुर महानगरपालिका ११ निवासी सिलवाल एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । एमालेबाट समानुपातिकतर्फको बन्द सूचीमा चितवनबाट सिलवाससँगै मंगलराम दराई, हरिप्रसाद सापकोटा र फूलमति चौधरी परेकी थिइन् ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि शुक्रबारै समानुपातिकतर्फको सांसद टुङ्गो लगाएको छ । माओवादी केन्द्रबाट चितवनकी नेतृ कञ्चन खनाल र सीता अधिकारी प्रदेश ३ को सांसद बनेका छन् । प्रदेश ३ मा माओवादीले ८ वटा सिट पाएको थियो । खनाल र अधिकारीसँगै चितवनका अम्बिका लामिछाने बन्द सूचीमा परेका थिए ।
त्यसैगरी राप्रपा (प्रजातान्त्रिक)ले पनि प्रदेशसभातर्फ एकमात्र सिटको सांसद टुङ्गो लगाएको छ । प्रदेशसभा ३ मा पाएको एक सिटमा चितवनकी नेतृ रिना गुरूङ सांसद चुनिएकी छन् । गुरूङ कालिका एफएमको स्टेशन म्यानेजर तथा टिभी कालिकाको निर्देशकसमेत हुन् ।
राप्रपा (प्रजातान्त्रिक)ले ७ वटा प्रदेशमा एकमात्र सिट ३ नम्बर प्रदेशमा पाएको थियो । नेतृ गुरूङसँगै चितवनबाट प्रतिभा प्रजा, बेलीमाया बोटे, अनिता प्रजा चेपाङ, रामशरण पाठक, मानकुमारी मल्ल, मञ्जु बर्तौला कँडेल, चन्द्राकुमारी चौधरी, जानुका सार्की, भीमकुमारी महतो समानुपातिकतर्फको सांसदको बन्द सूचीमा परेका थिए ।
यस्तै राप्रपाले पनि शुक्रबारै सांसदको टुङ्गो लगाएको छ । प्रदेश ३ को सांसदमा सिन्धुलीकी रीता माझी सांसद बनेकी छन् । चितवनबाट सांसदको बन्द सूचीमा गीता चौधरी परेकी थिइन् ।
नेपाली काँग्रेसले भने सांसदको नाम टुङ्गो लगाउन बाँकी छ । ३ नम्बर प्रदेशको सांसदका लागि चितवनबाट गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, गीता गुरुङ, बलराम पौडेल, बिनु रायमाझी पौडेल र कमला राजभण्डारीको नाम बन्द सूचीमा रहेको छ ।
संसदमा ३३ प्रतिशत महिला सहभागिता आवश्यक पर्ने भएकोले यसपटक समानुपातिकतर्फको सांसदमा महिलाहरुको संख्या बढी हुने भएको छ । प्रत्यक्षतर्फ धेरै कम महिला उम्मेदवार विजयी भएपछि आवश्यक संख्या समानुपातिकतर्फबाट पु¥याउन लागिएको हो ।

 

Comments

About the author

चितवन पोष्ट