गृह » सुपा देउरालीको दर्शन गर्दा
साहित्य

सुपा देउरालीको दर्शन गर्दा

— ईश्वरीराज काफ्ले
भरतपुर महानगरपालिका वडा नं १८ मा अवस्थित यस श्री गुञ्जनगर मावि आफैँमा २०१६ सालदेखि इतिहास बोकेको पश्चिम चितवनको नमुना विद्यालयका रुपमा परिचित विद्यालय हो । उक्त विद्यालयमा अनगिन्ती समाज सुधारक एवम् देशका योद्धा, जुझारू, राष्ट्रसेवक एवम् हजारौँ प्रतिष्ठित नेपाल आमाका सपूतहरुको रगतले सिञ्चित यस भूमिको पवित्र मन्दिरमा हामी र हाम्रो एक थोपा पसिना चुहाउन कम्मर कसेका हाम्रा यस विद्यालयका शिक्षक साथीहरु अनवरत रुपमा लागिपर्नु भएको इतिहासका हरेक कालखण्डहरु साक्षी छन् । अनेकौँ उतारचढावका बाबजुद संघर्षरत साथीहरुको इच्छा, आकांक्षा, चाहनालाई मध्यनजर राख्दै साथीहरुको अपनत्व कायम राख्न दुईदिने अवलोकन भ्रमण तय गरी २०७४/९/८ गते बिहान अर्घाखाँची जिल्लामा अवस्थित सुपा देउराली देवीको दर्शन तथा सदरमुकाम सन्धिखर्कको अवलोकनपश्चात् २०७४/९/९ गते गन्तव्यमा फर्कने गरी आयोजना गरियो । भ्रमणमा जे देखियो र जे लेखियो, जीवनमा कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।
पौष महिनाको चिसो सिरेटोसँगै चलेको हावाले हामीलाई कता कता मुटु नै हल्लिने गरी हाम्रो बिहान २०७४/९/८ गते ठीक ४ बजे नै हामीलाई निद्रादेवीले जनाउ घण्टी दिँदै ब्युँझाइदिइन् । बाक्ला जाडो छल्न सक्ने कपडालाई आफ्नो जीउमा भिरेर हस्याङ्फस्याङ् गर्दै बसको प्रतीक्षामा हाम्रो ध्यान केन्द्रित रह्यो । हाम्रो गाडी भरतपुरबाट गुञ्जनगर माविको प्रांगणमा आइपुग्दा करिब बिहान ६ः४५ बजेको थियो । नजिकका साथीहरुको जमघट भइसकेको थियो । सबै साथीहरु हर्षोल्लास र प्राचार्यको कमान्डलाई स्मरण गर्दै सुपा देउराली देवी स्मरण गर्दै करिब बिहानको ठीक ८ बजे बसमा एकीकृत भयौँ । यात्रामा शिक्षक साथीहरु र बस स्टाफसहित २४ जनाको सहभागितामा हाम्रो बस अगाडि बढ्यो । बिहानको चिसो सिरेटोसँगै नारायणगढ बजार हुँदै नारायणी पुल पार गर्दै कुनै साथीको तीव्र इच्छालाई अवरोध गराउँदै हामी अगाडि बढ्यौँ । यात्रामा यस्ता झिनामसिना सवालहरुलाई थाती राख्दै तोकिएको गन्तव्यमा पुग्ने हाम्रो लक्ष्यलाई पूरा गर्नु थियो ।
हाम्रो बस अगाडि बढ्दै थियो । हामी कहिल्यै भेट नभएका जस्ता एकले अर्कालाई मुखामुख गर्दै मूकदर्शक भइरहेका थियौँ । किनकि, कुनै घरपरिवारमा पाहुना आयो भने त्यहाँ केही समय सन्नाटा छाउँछ र पछि आफैँ उघारिन्छ । ठीक त्यस्तै दृश्य थियो बसभित्रका हाम्रा साथीहरुमाझ पनि । अडियो र भिडियोको दृश्य पान गर्दै प्राकृतिक सौन्दर्यलाई चटक्कै बिर्सिएका हामी त्यही बसभित्रको अडियो र भिडियोले अलमल्याइरहेको छ । संसार विचित्रको छ । परिवर्तन क्रान्तिकारी भएर आउँछ, समय आफ्नै गतिमा दौडिरहेको हुन्छ । तर, त्यसलाई सही सदुपयोग गर्न सक्यौँ भने जीवनमा अगाडि बढ्ने सामथ्र्य आफैँ उजागर भएर आउँछ । दुई दिनअगाडिदेखिको योजना थियो हाम्रो प्राचार्य सरको । उहाँसँगैको समकक्षी साथीको पूर्व–पश्चिम राजमार्गको गोरूसिंगे बजारमा उहाँको हालको बसाइँ रहेछ । त्यहीँ हामी दिउँसो पुग्दा ठीक १ः३० बजेको थियो । साथीको पूर्ण आड र भरोसामा भ्रमणको तयारी गरेका रहेछौँ । साथीले निकै भरपर्दो काम गर्नु हुँदोरहेछ । उहाँको बोलीचाली र हाउभाउबाट नै संगत गर्नलायक साथीका रुपमा हामीले पाएका थियौँ । करिब २० मिनेट परिचयात्मक कार्यक्रमपश्चात् हामी गन्तव्यका लागि अघि बढ्यौँ । त्यतिबेला घडीले दुई बजेको संकेत दिइरहेको थियो ।
हाम्रो गाडी सुपा देउरालीको बाटोतर्फ लाग्दै गर्दा नयाँ जोश, उमंग र जाँगरका साथ अडियो र भिडियोलाई थाती राखी बसको झ्यालबाट बाहिरी दृश्यहरुको अवलोकन गर्न आतुर भए हाम्रा नयनहरु । नागबेली आकारमा रहेको उक्त बाटो साँघुरो भइकन पनि सफा पिच, दायाँबायाँ भूगोलअनुसारका बोटबिरूवाहरु, झरना, छहरा, खोलाहरु, चिरबिर चिरबिर चराचुरूङ्गीहरुको मनमोहक सुन्दर आवाजहरु घन्किरहेको थियो । हाम्रा आँखाहरु पालैपालो बाटोको र दायाँबायाँ रहेका पराले बस्तीहरु अवलोकन गर्नमा नै व्यस्त रहे । हाम्रा अनगिन्ती मनमा उब्जेका भावनाहरुलाई एकआपसमा साटासाट गर्ने फुर्सद नै थिएन, कुनै पनि साथीहरुलाई । अवस्था आफैँ परिवर्तन भयो । बाटोको अवस्था द्रुतगतिमा गुडेको बस र मित्रहरुको उकुसमुकुसले कयौँ साथीहरु शिथिल अवस्थामा आफूलाई नियालिरहनु भएको थियो ।
हाम्रा प्राचार्य साथीहरुले दिएको गाइडलाइनको पेपरले भनेको निर्देशनअनुसार होटल भूपू सैनिकमा सबै व्यवस्था अग्रिम बुकिङ फोनमार्फत् भइसकेको थियो । बेलुका खाजा, नास्ता, खाना, सुत्न र भोलिपल्टको बिहानको खानासमेतको बुक भइसकेको रहेछ । अतिथि देवो भवः हाम्रो वैदिक भाषाले सिकाएजस्तै थियो, उक्त होटल । करिब अढाई घन्टा नागबेली बाटोको गुडाइपश्चात् करिब ४ः३० बजे हाम्रो गाडी उक्त होटलअगाडि पुग्यो । हाम्रा सेवामा तत्पर उक्त होटलका सहकर्मी साथीहरु इसाराअनुसारको भोजन तयार गर्नमा तल्लीन रहे । चिसो मौसमसँगै चलेको हावाको स्पर्शले हाम्रो शरीरलाई जिस्काइरहेको थियो । विशेष गरेर मांसाहारी भोजनलाई बढी प्राथमिकता दिइएको थियो, तर पनि शाकाहारी भोजन मिल्ने नमिल्ने सँगै थियौँ । तैपनि भगवान् भरोसा, हामी २४ जना यात्रुहरुमध्येमा मात्र ३ जना शाकाहारी परिवारभित्र पर्दारहेछन् । बाँकी सबै मांसाहारी भोजनमा नै तल्लीन रह्यौँ ।
बेलुकाको रमझम हल्का खाजा–नास्तापछि झुल्किन थाल्यो । गीत, मुक्तक, नृत्यका साथमा निर्णायक मण्डल गठन गरी पहिलो, दोस्रो, तेस्रो बनाउने कपोलकल्पित एवम भ्रामक निर्णायकका साथ दोहोरी साँझलाई पछि पार्ने खालको दृश्य थियो त्यतिबेला । ७ बजेबाट सुरू भएको दोहोरी साँझ करिब १ बजेसम्म रह्यो । त्यसपछि आफ्नो कोठामा विश्रामका लागि लागियो, पहिलो दिनको दैनिकीलाई बिट मार्दै ।
भोलिपल्ट अर्थात् २०७४/९/९ गते बिहान ४ बजेदेखि नै यात्रालाई लक्ष्यमा पु¥याउनका लागि हाम्रा पाइलाहरुद्वारा विभिन्न योग, आसन, प्राणायमका साथ शरीरमा चुस्ती र स्फूर्ति पैदा गराउँदै थियौँ । बिहानको ठीक ६ बजिसकेको थियो । हामी हाम्रो गन्तव्यको केन्द्रबिन्दु सुपा देउराली देवीको दर्शनार्थ हाम्रा उही बाटोमा पर्ने मह¤वपूर्ण ऐतिहासिक किंवदन्तीमा आधारित कथावस्तुले समेटिएको थप गन्तव्यतिर लाग्यौँ । लाहुरे टाँसिएको भीर भनेर प्रख्यात मनोरम दृश्यको मन्दिर पुग्नुभन्दा अगाडि करिब ८०० मिटरमा उक्त तस्बिर टाँसिएको रहेछ । सुपा देउराली देवीको भाकल पूरा गरेर लाहुरे त्यसै त्यही बाटोमा हिँड्दै गर्दा देवीले श्राप दिएर लाहुरेलाई भित्तामा नै टाँसिदिएको दृश्य प्रत्यक्ष देख्न पाइने रहेछ त्यहाँ । भित्तामा टाँसिएको लाहुरेको चित्र र केही तल लाहुरेको मूर्तिले अत्यन्तै विश्वास र भरपर्दो देवीको शक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष अनुभव लिन पाइने उक्त ठाउँको दृश्य थियो ।
उकाली–ओराली चढ्दै गर्दा बिहानको ठीक ६ः३० बजिसकेको रहेछ । मन्दिर करिब ८ बजे खुल्ने नियम रहेछ । हाम्रो भीडलाई देखेर होला मन्दिरका पूजारी गुरूले हामीलाई पूजाआजाको सबै व्यवस्था गरिदिनुभएको थियो । हामी लामबद्ध रुपमा देवीको बासस्थान मन्दिर परिसरभित्र प्रवेश गरेर आफ्ना भाव, वाचा, विश्वास चढाउनमा व्यस्त भयौँ । समयले ल्याएको परिवर्तनसँगै फोटो सेसनलाई प्राथमिकतामा राख्दै सबैले पर्वको एकआपसमा वाचा, बन्धन, इच्छा, आकांक्षासहित फोटोलाई क्यामरामा कैद गर्दै बिहानको खाजानास्तामा व्यस्त भयौँ । त्यतिबेला घडीले बिहानको ८ बजाइसकेको थियो । हामी अर्को गन्तव्यको तयारीमा लाग्यौँ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कतर्फ हाम्रो बस अगाडि बढ्यो । उही नागबेली आवरणमा रहेको बाटो, हरिया पहाडी श्रृंखला, ढकमक्क फुलेका फूलहरु, सल्लो र चाँपका बोटबिरूवाहरु हामीलाई स्वागत गरिरहेका देखिन्थे । अघिल्लो दिनलाई पुनर्ताजगी गराउँदै हामी सदरमुकाम सन्धिखर्कतर्फ अगाडि बढिरह्यौँ । घडीमा त्यतिबेला १० बजिसकेको थियो । हाम्रो बस सदरमुकामको केन्द्रबिन्दुमा पुगी अडियो । बसलाई देख्दा पनि वाक्कदिक्क र पट्यार लाग्यो । गुलियो वस्तु धेरै खायो भने तीतो महसुस हुन्छ भनेजस्तै भएको थियो । करिब ३० मिनेटको बसाइँमा द्वन्द्वकालको स्मरणस्वरुप घटेको घटनाको वास्तविक स्थलको सामान्य निरीक्षणपश्चात् सन्धिखर्कको चिनोस्वरुप साथीहरुले आफूलाई मनपर्ने वस्तुको किनमेल गरी पुनः हामी उही बाटो फिर्ता भयौँ । सायद नौलो बाटो भएर होला, बस गुरूले जाँदा लगेको समयभन्दा झन्डै आधा घन्टाअगावै हामीलाई उही भूपू सैनिक होटलमा पु¥याइदिनु भएको थियो । सन्धिखर्कबाट बीच बाटोमा पर्ने नपुर चेकपोस्टको आडमा रहेको सानो ताललाई नैनितालको झझल्को मेटाउने गरी मनलाई सान्त्वना दिँदै अभिवादनका साथ हामी फिर्ता भएका थियौँ । त्यतिबेला घडीले १२ बजाइसकेको रहेछ । सबै साथीहरुलाई भोकले आकुलव्याकुल बनाइरहेको थियो । भोकमा जस्तोसुकै योजना पनि मीठो लाग्ने रहेछ । ‘एकदिनको पाहुना मीठो मीठो खाऊ, दुईदिनको पाहुना जतासुकै जाऊ’ भनेजस्तो अवस्था झन्डै भएको थियो । अघिल्लो दिनको दोहोरी साँझले तिर्सनालाई मेटाउन बीचबीचमा र बिदा हुने समयमा उही गीत र उही नृत्य दोहोरिएको थियो । उत्कृष्ट गीतमा सहभागी साथीहरु र उत्कृष्ट नृत्यमा सहभागीहरुलाई प्राचार्यज्यूबाट पुरस्कारको आयोजना पनि भएको थियो । हामी सहभागी साथीहरु, प्राचार्य सूर्यभक्त वाग्ले, तुलसी देवकोटा, रमेश बोगटी, रामचन्द्र अधिकारी, शिवहरि घिमिरे, मीना कुँवर, सरिता दवाडी (काफ्ले), सीता शर्मा ढकाल, चिरञ्जीवी पोख्रेल, मणिप्रसाद काफ्ले, ईश्वरीराज काफ्ले, होमनाथ काफ्ले, सुरक्षा लामिछाने, सुष्मा घिमिरे, कल्पना तमाङ, आशमाया तमाङ, मेनुका गुरूङ, गुरूप्रसाद अधिकारी, सागर पण्डित, सुमन काफ्ले, नारायणी अधिकारी, शान्तिदेवी काफ्ले (पोख्रेल), गुरू र हेल्पर भाइ गरी जम्मा २४ जनाको समूह भ्रमणको मुख्य पात्रका रुपमा रहेका थियौँ ।
भ्रमणका पात्रहरुले आआफ्ना विशेषताहरु उजागर गर्नुभएको थियो । गीतलाई जस्तातस्तै उतार्न सफल कलाकार सागर पण्डित सर हुनुहुन्थ्यो भने नृत्यमा मीना कुँवर, सुरक्षा मेडम, शिवहरि सर, सागर सर, सुष्मा मिस, रामचन्द्र सरलगायतकाले आआफ्नो प्रतिभा प्रस्फुटन गर्नुभएको थियो । गजलकार रमेश बोगटी सर र शिवहरि सर हुनुहुन्थ्यो भने हास्यव्यंग्यमा चिरञ्जीवी सर, त्यस्तै कविता तथा देवी प्रार्थनामा मणि सर हुनुहुन्थ्यो । आफ्नो प्रतिभा प्रष्फुटन गर्ने क्रममा बाख्री र बोकोको गीतमा नृत्य प्रस्तुत गर्नुहुने मीना मेडम र शिवहरि सरलाई भ्रमणमा थप रोमान्टिक नृत्यका लागि सम्झन सकिन्छ । माथि उल्लेखित सबै साथीहरुको प्रतिभाको वर्णन गर्न उही सूर्यको अगाडि बत्ती बालेजस्तै हुनेछ, किनकि सबै साथीहरुको उत्कृष्ट प्रतिभाले नै गुञ्जनगर मावि यो अवस्थामा आइपुगेको हो ।

Comments

About the author

चितवन पोष्ट