गृह » पाँच गजल
साहित्य

पाँच गजल

– लीला दाहाल (अधिकारी)
नीरस यो सपना रित्तो जीवन छ तिमीले छोडेदेखि
लगातार यादहरुको झडप छ तिमीले छोडेदेखि

उजाड मरूभूमि भाको छ यो संसार मेरा लागि
न कुनै रमझम न कुनै महक छ तिमीले छोडेदेखि

तिमीलाई त बसाउने हजार मुटु भेटिए तर
मेरो भने आफ्नै मुटु अलग छ तिमीले छोडेदेखि

मायाले जिन्दगी स्वर्ग हुन्छ भन्थे कथाका प्रेमीहरु
खै कसरी विश्वास गरुँ नरक छ तिमीले छोडेदेखि

प्रेमको महलमा राजारानी बनी बस्ने कसम थियो
तर एउटा गगन अर्को भको सगर छ तिमीले छोडेदेखि
१.
जिन्दगी समयको खेल रहेछ
दुःख र सुखको मेल रहेछ

अडिग रहनु पर्ने चट्याङ पहाडझैँ
जिन्दगी वर्षा यामको भेल रहेछ

अनेक घुम्ती र मोडमा यसलाई घुमाउँदै
जान नसके जिन्दगी फेल रहेछ

प्याजको डल्लो समस्या भोगाइको
जिन्दगी डब्बैडब्बाले जोडिएको रेल रहेछ

दुःखमा आत्तिनु र सुखमा मात्तिन हुँदैन
जिन्दगी जन्म र मृत्युको छेल रहेछ
२.

कहिल्यै ओबाएनन् मेरा नयन तिम्रै यादमा
धड्किनै छोड्यो मुटुको धड्कन तिम्रै यादमा

किन बाँच्न मन लाग्थ्यो र जिन्दगी नै हारेपछि
जिउँदै मरिसक्यो मेरो जीवन तिम्रै यादमा

बगेको खोला फेरि कहाँ फर्काउन सक्छु र मैले
त्यागिदिएँ मैले मेरा बालापन तिम्रै यादमा

तिमीले दिएका पीडाहरु नै मेरो जिन्दगी भो
बाहिर देखिँदैन भित्र रोएको मन तिम्रै यादमा

कसरी हाँस्न सक्छु र म आज मुटु नै दुखेपछि
तोडी गएको मुटु बल्झिन्छ झन् तिम्रै यादमा
३.

जून हाँसेको देखेर
म रमेको देखेर

तिमी तरङ्गित भयौ
म फुलेको देखेर

आउआउ छिट्टै भन्यौ
म अडेको देखेर

पर्ख पर्ख एकछिन भने
तिमी जुरूक्क उठेको देखेर

म त्यसै लजाएँ
तिमीले चुमेको देखेर
शिर मेरो उठायौ
लाजले झुकेको देखेर

म झल्याँस्स बिउँझिएँ
सपनीमा उडेको देखेर
४.

आत्मालाई छोडेर ढुंगालाई पुज्छ मान्छे
पुज्नेलाइ छोडेर मूर्तिको अगाडि झुक्छ मान्छे्

बुझेर हो कि नबुझेर हो बुझ्नै गाह्रो
भित्र व्यथा लुकाएर बाहिर खुल्छ मान्छे

भित्र पाप बोकेर धर्मको नाममा दाम कमाउनेहरु
फूलको थाली बोकेर देशविदेश डुल्छ मान्छे

मानवताको परिभाषा खोज्न शब्दकोष पल्टाउनेले
रटेर घोकेर भए पनि आदर्शको कुरा भुक्छ मान्छे

गफ गर्दा आकासकै तारा झार्छु भन्नेले
अलिकति सहयोग माग्दा आफैँमा लुक्छ मान्छे
दिनरात आदर्श र नैतिकताको प्रवचन दिनेले
घरमा लक्ष्मीको तिरस्कार गर्दै बाहिरतिर झुल्छ मान्छे
५.

 

Comments

About the author

चितवन पोष्ट