गृह » एमालेबाट निर्वाचनको समीक्षा
राजनीति

एमालेबाट निर्वाचनको समीक्षा

भरतपुर । नेकपा एमाले चितवनको बिहीबार बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा गर्दै सबै मतदातालाई धन्यवाद दिएको छ ।
वाम गठबन्धनबाट जिल्लामा आएको परिणामलाई उत्साहजनक भएको भन्दै सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा मतदाताको चाहना बमोजिम जिम्मेवारी निर्वाह गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकले सोचे अनुसारनै परिणाम ल्याउन सफल भएको भन्दै जितमा मतदाताको अमूल्य सहयोग भएको जनाएको छ ।
बैठकले नयाँ संरचना अनुसार निर्माण भएको पार्टीका विभिन्न कमिटीहरुले चुनावी समीक्षा गर्दै रिपोर्ट जिल्ला कमिटीमा छिटो बुुझाउनको लागि निर्देशन दिएको छ । निर्वाचनमा खटिएका सबै कमिटीअन्तर्गतका नेता तथा कार्यकर्ताहरुलाई धन्यवादसमेत दिएको छ । त्यस्तैगरी पार्टी एकीकरणको तयारीमा रहेकाले जिल्लाका सबै जनवर्गीय संगठनहरुको अर्को सूचना नआएसम्मका लागि अधिवेशन नगर्ने निर्णय गरेको एमाले जिल्ला इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।
त्यस्तैगरी निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीले बधाई तथा शुभकामना कार्यक्रम राख्ने निर्णय भएको एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए । केन्द्रीय कार्यालयको निर्णय बमोजिम जिल्लामा माओवादी केन्द्र र एमाले बीच चुनावी तालमेलसहित पार्टी एकीकरणसम्बन्धी प्रतिबद्धता गरेकाले छिटो एकीकरणको काम सम्पन्न गर्नको लागि अनुरोध गरेको छ । चुनावी समयमा गरेको प्रतिबद्धता पूरा गर्न जिल्ला पार्टीले केन्द्रीय पार्टी कार्यालयलाई एकीकरणको कार्यलाई मुर्तरुप दिनको लागि अनुरोध गरेको प्रचार विभाग प्रमुख रेग्मीले बताए ।
एमाले प्रदेश नं। ३ का उपसंयोजक काशीनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा जिल्ला इन्जार्च खनालले चुनावी समयमा जनता माझ बोलेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताए । विजेता सबैले आफूले बोलेका, पार्टीले अगाडि सारेका सबै विकासका एजेण्डा पूरा गर्नको लागि सुझाव दिए । हामीले अब जनताको सर्वोपरी हितमा राखेर आफ्ना कामहरु अगाडि बढाउनु पर्दछ उनले भने त्यही अनुसार हामी बढ्नेछौ । बैठकमा प्रदेश उपसंयोजक अधिकारी, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट