गृह » उवासंघ चितवन अधिवेशनको तयारीमा, ‘प्रतिनिधिपत्र दर्ता शुल्क हट्यो’
प्रमुख समाचार

उवासंघ चितवन अधिवेशनको तयारीमा, ‘प्रतिनिधिपत्र दर्ता शुल्क हट्यो’

किशोर खनाल
भरतपुर । उद्योग वाणिज्य संघ चितवनले ५१ औं साधारण सभा तथा अधिवेशनको तयारी तीव्र रुपमा गरिरहेको छ । यही पुस २९ र ३० गते हुने अधिवेशनको तयारी दुु्रत गतिमा अगाडि बढिरहेको उवासंघ चितवनका अध्यक्ष राजन गौतमले बताए ।
साधारण सभाको उद्घाटन सत्र पुस २९ गते र निर्वाचनको मिति पुस ३० गते तोकिएको छ । यसपटकको अधिवेशन ३५ औं अधिवेशन हो । अधिवेशनले ३ जना मनोनितसहित २९ सदस्यीय कार्यसमिति छनौट गर्नेछ । सार्वजनिक बिदाको समयमा पनि उद्योग वाणिज्य संघ साधारण सभा सम्पन्न गर्न घनिभूतरुपमा जुटेको छ ।
उवासंघ चितवनमा जिल्लाभरका व्यवसायीहरुले सदस्यता लिएका छन् । मुग्लिन, भण्डारा, खैरहनी, माडी, मेघौलीलगायत जिल्लाका विभिन्न ठाउँका व्यवसायीहरु सदस्य बनेका छन् । उवासंघ चितवनका कार्यकारी निर्देशक गौरव खतिवडाले संघमा तीन हजार ३३९ सदस्य रहेको जानकारी दिए । पछिल्लो समय उवासंघ चितवनमा सदस्यता लिनेक्रम बढ्दो छ ।
संघका लेखा अधिकृत डम्बरराज रेग्मीले हालसम्म २५ सय जनाले सदस्यता नवीकरण गरेको बताए । उनले भने, ‘साउनदेखि यता सदस्यता लिएकाले साधारण सभामा बस्न पाउँछन् तर मताधिकारको प्रयोग गर्न पाउँदैनन् ।’
सदस्यता लिएको छ महिना पूरा भएको र एकपटक सदस्यता नवीकरण भएकोले मताधिकारको प्रयोग गर्न पाउँछन् । जसको नाममा सदस्यता नवीकरण भए पनि एकै घरका परिवारका सदस्यले मताधिकारको प्रयोग गर्न सक्ने संघका लेखा अधिकृत रेग्मीले जानकारी दिए । भोट हाल्नुअघि प्रतिनिधिपत्र दर्ता गराउनुपर्छ ।
‘प्रोपाइटर आफैँ आए पनि प्रतिनिधि पठाए पनि प्रतिनिधिपत्र दर्ता गर्नैपर्छ । प्रतिनिधिपत्र दर्ता नगरी मताधिकारको प्रयोग गर्न पाइँदैन’ रग्मीले भने । यसअघि प्रतिनिधिपत्र दर्ता गराउन शुल्क लाग्थ्यो भने यसपटक शुल्क नलाग्ने अधिकृत रेग्मीले बताए ।
उवासंघ चितवनको वस्तुगततर्फ ३० वटा संघ छन् । कर्पोरेटतर्फ (ठूला व्यवसायी) ६१ जना सदस्य छन् । उद्योग वाणिज्य संघले साधारण सभा सम्पन्न गर्न तयारी समिति गठन गरेको छ । समितिको मूल संयोजकमा रोहितकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले सभा सम्पन्न गर्न ७ वटा विभिन्न समितिले काम गरिरहेको बताए । प्रतिनिधिपत्र घरघरमा पु¥याउने र चिठीहरु पठाउने काम धमाधम भइरहेको छ । उवासंघले आइतबारसम्म नवीकरण गर्ने सदस्यलाई २५ प्रतिशत विलम्ब शुल्क छुट गरेको थियो ।

Comments

About the author

चितवन पोष्ट