गृह » ठोरी पुगेर प्रचण्डले भने, ‘यो नाकाको विकास हुन्छ ’
प्रमुख समाचार राजनीति

ठोरी पुगेर प्रचण्डले भने, ‘यो नाकाको विकास हुन्छ ’

दिपेन्द्र अधिकारी
भरतपुर । नाकाबन्दीको समयमा चितवन र देशभरी नै कतिपय वस्तुको माग ठोरी नाकाबाट भएको वैध तथा अवैध आपूर्तिले पूरा ग¥यो । भारतसँग जोडिएका अन्य चलायमान नाकाहरु ठप्प रहेको बेला चितवनको माडी हुँदै पर्साको ठोरी पुगिने नाका भने व्युतिएको थियो ।
नाकाबन्दीको समयमा यस नाकाले नेपालीलाई दिएको राहतका कारण अहिले पनि यस नाकाको मह¤व उत्तिकै छ । प्रदेश नम्बर २ मा पर्ने यस नाका पर्सा जिल्लामा पर्छ । तर, यहाँका मानिसहरु भने आफूहरुलाई चितवनमा गाभेर प्रदेश नम्बर ३ को बनाउन निरन्तर माग गरिरहेका छन् ।
प्रचण्ड ठोरीमा
चुनाव जितेर केही दिनको बधाइ र सम्मानपछि राजधानी पुगेका प्रचण्ड गत शुक्रबार पुनः चितवन फर्किए । अहिले उनलाई यहाँ बधाई र सम्मान थापेर भ्याइनभ्याइ छ । सम्मान लिने क्रममा प्रचण्ड आफ्नो चुनाव क्षेत्र चितवन ३ को माडी बाँदरझुला हुँदै भारतसँगको नाका रहेको स्थान ठोरी पुगे । प्रचण्डले सोमबार ठोरी नाकाको निरीक्षण गरे । आफू प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवाद ज्ञापन गर्न जाने क्रममा प्रचण्ड ठोरी पुगेका हुन् ।
नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने प्रचण्डको भनाइ छ । नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीका लागी यो मार्ग निकै महत्वपूर्ण रहेको उनले बताए । केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दाबी छ । चुनाव लगत्तै एमाले अध्यक्ष केपीशर्मा ओली रसुवा पुगे सँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्साको ठोरी पुगेका हुन् ।
नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको प्रचण्डको भनाइ छ । प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका छन् । त्रिदेशीय साझेदारीका आधार आगामी ५ वर्ष भित्र ठोरी केरुङ मार्ग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका हुन् । उनले नयाँ बन्ने सरकारको पहिलो प्रथमिकतामा ठोरी रहने बताए ।
ठोरी ३ नम्बर प्रदेशमा
ठोरी नाकाको अवलोकन पश्चात उनले सरकार गठन लगत्तै सो क्षेत्रलाई तीन नं प्रदेशमा गाभ्न पहल गर्ने प्रतिबद्धता जनाए । गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाँभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाइ छ । प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भए पनि मधेस आन्दोलनका कारण रोकिएको बताए । ठोरीका स्थानीय जनताले पटकपटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए ।

Comments

About the author

चितवन पोष्ट