गृह » ‘पुल भत्कायौँ, फर्कन ठाउँ छैन’ : प्रचण्ड
प्रमुख समाचार

‘पुल भत्कायौँ, फर्कन ठाउँ छैन’ : प्रचण्ड

दिपेन्द्र अधिकारी
भरतपुर । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला वाम पार्टीले पुल भत्काएर अघि बढेकाले अब पुनः फर्कनका लागि ठाउँ नभएको बताएका छन् ।
पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपीशर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको उनले बताए । आइतबार भरतपुरमा नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय बुद्धिजिवि संगठनको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले भने,‘एमाले अध्यक्ष केपी ओली र मैले मिलेर नै नफर्कने गरी पुल भत्काएका छौं, अब फर्कने ठाउँ नै छैन ।’ साथै उनले हाल राष्ट्रियसभा गठनका विषयमा देखिएको विवाद लम्बिन नदिई छिटै सरकार गठनमा लाग्ने समेत बताए । आफू राजधानी बाहिर भए पनि एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्कमा रहिरहेको बताउँदै प्रचण्डले भने,‘विवाद धेरै दिन जान्न, अब छिटै नयाँ सरकार बन्छ ।’
पार्टीसँग आवद्ध केही संगठनहरु मिलाउँदा समस्या हुने भए पनि तिनका समेत विकल्पहरु तयार भइसकेको उनले बताए । वाम गठबन्धनले ल्याएको बहुमतले केही व्यक्तिलाई टाउको दुख्नु स्वभाविक भएको र यो प्रक्रिया कुनै नौलो समेत नरहेको प्रचण्डले बताए । दुई पार्टी बीचको एकता भाड्न खोज्नु हास्यास्पद रहेको उनको टिप्पणी थियो ।
कांग्रेस प्रतिपक्ष
यसैगरी राष्ट्रियसभामा कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुने जानकारी पनि उनले दिएका छन् । प्रचण्डले कांग्रेसलाई परेको मर्काका सम्बन्धमा पनि ओलीसँग फोनमा कुराकानी भएको जानकारी दिए । ‘बहुमतीय प्रणालीमा जाँदा उहाँहरुको एउटा पनि सिट नआउने रहेछ, यस्तो हुनु राम्रो होइन भन्ने हामीलाई पनि लागेको छ, प्रतिपक्षमा पनि कोही त चाहियो नि, त्यसैले उहाँहरुको पनि त्यहाँ प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विषयमा हामीले कुराकानी गरेका छौं ।’
बुद्धिजीवीलाई बधाई
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका बुद्धिजीवीहरुले चुनावको समयमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै बधाइ दिए । नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले संयुक्त निर्वाचन प्रचार कमिटी र नागरिक अभियान नै चलाएका थिए ।
सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षासेवी टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटाले निर्वाचनमा जनताको अपेक्षा र चाहना नतोडियोस् भन्ने शुभकामना दिँदै शुभकामनापत्र वाचन गरेर सुनाएका थिए । उक्त कार्यक्रममा बोल्दै सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख खेमनारायण सापकोटाले झण्डै ८ वटा सामुदायिक क्याम्पस रहेको देशमा एउटा पब्लिक विश्वविद्यालयको आवश्यकता रहेकोमा प्रचण्डसहितका निर्वाचित प्रतिनिधिहरुलाई अवगत गराएका थिए । कार्यक्रममा प्रतिनिधिसभा १ प्रदेश (क) का दावा दोर्जे लामा, प्रतिनिधिसभा २ प्रदेश (क) का घनश्याम दाहाल, (ख) का विजय सुवेदी क्षेत्र ३ प्रदेश (क) का कृष्ण भूर्तेल र (ख) का रामलाल महतोको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट