गृह » ‘सुन्ने कोही छैनन, भन्नु बेकार छ’
अन्तर्वार्ता समाचार समाज

‘सुन्ने कोही छैनन, भन्नु बेकार छ’

ढुंगाना बाजे उमेरले ७२ वर्ष पुगे । तर जागिरमा स्थायी हुने लोभले ५ वर्ष उमेर घटाउँदा कागजीरुपमा उनी अहिले ६७ वर्षका छन् । कुनै समय भृकुटी कागज कारखानामा काम गर्दा स्थायी हुनका लागि नागरिकतामा भएको उमेर बढी भएपछि सबैको सल्लाहमा उनले ५ वर्ष उमेर घटाए । तर, उनी स्थायी हुन सकेनन् । त्यसैले नागरिकतामा उमेर घटाउँदाको पीडा अहिले उनलाई छ । केही दिन अघि भेट हुँदा ढुंगाना चौधरी थरकै एक सहकर्मीसँग भरतपुर १० ट्राफिक चोकमा रहेको फलामे साइन बोर्ड हाते आरोको सहायताले काटिरहेका थिए ।
लमजुङ जिल्ला गिलुङमा २००२ सालमा जन्मिएका जीवनाथ ढुंगानालाई सबैले बोलाउने नाम हो,‘ढुंगाना बाजे ।’ उमेरले सत्तरी काटे पनि अझै पनि उनको काँधमा सडक सुधारका जिम्मेवारी छन् । डिभिजन सडक कार्यालय भरतपुरमा विगत १६ वर्षदेखि निरन्तर सेवारत उनी दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । हाल भरतपुर–११ भोजाड चिसापानी टोल बस्ने ढुंगाना शरीरले साथ दिएसम्म काममा लागिरहने बताउँछन् । बढ्दो उमेरमा पनि संघर्षशील जिवन बिताइरहेका प्रेरणापात्र ढुंगानासँग चितवन पोष्ट दैनिकका प्रमुख संवाददाता दिपेन्द्र अधिकारीले गरेको कुराकानी :
दैनिकी के कसरी चलिरहेको छ ?
बिहान सबेरै उठ्छु । बुढो मान्छे चिसो छ । त्यहि हो ७ बजे नै खाना खान्छु र काममा दगुरिहाल्छु । बेलुका घर फर्कदा ६ जति बज्छ ।
कुन कुन क्षेत्र हेर्नुहुन्छ ?
त्यही हो सर, खासमा लायन्सचोकदेखि आस्थचोकसम्म को हो । तर, कहिलेकाँही टाँडीसम्म पनि पुग्छु । साथमा झोला छुट्दैन । भूँइमा रहेको झोला उचाल्दै भने)
झोलामा के के छन् ?
के हुनु । सडक किनारामा १६ वर्ष बिताइयो । सावेल र गैंचा कार्यालयमा छाडे । झोलामा हँसिया छन् । अनि काम गर्दा लगाउने रातो ज्याकेट छ ।
राजनीतिक अवस्थाबारे तपाइँको के भनाइ छ ?
कुरा नगरम सर । आजको मान्छे हुँ र म । १७ सालदेखि भोट हाल्दै आएँ । अस्ति भर्खरै यही भोजाड स्कुलमा पनि भोट हालेँ । तर खै हामी जस्ताको दिन फेरिएन । राजा फेरिए सर दिन फेरिएन । सुन्ने कोही छैनन् त्यसैले यस्तो प¥यो, त्यस्तो प¥यो । यसो भएन, उसो भएन । यसो गरिदेउ भन्नु बेकार छ ।
के हुनुपथ्र्यो ?
के हुनु नी । हामी जस्ता गरिब निमुखाहरुले सजिलै बाँच्न पाउने व्यवस्था हुनुपथ्र्यो । मेरा दुई भाइ छोरा हुन अहिले दुबै विदेश छन् । उनीहरुले यही बसेर काम गरेर खाएको म हेर्न चाहान्थे । तर, त्यस्तो भएन । मलाई त राजा फालेकोमा पनि चित्त बुझेको छैन । राजा भनेको चक्रवर्ती हुन् । उनलाई फालेर ठूलो परिवर्तन होला भन्ने सोचियो । तर खै त भा को ? मैले कुरा नबुझेको भएँ तपाइँले बुझाइ दिनुप¥यो ।
अब बन्ने सरकारबाट केही आशा गर्नुभएको छ ?
आशा गरेको धेरै वर्ष भयो । हेर्नुस माथि सरकारमा को जाने भन्नेमा झगडा छ । अहिले सम्म झगडा मिलेको छैन । एकले अर्काको खुट्टा तानिरहेका छन् । उनीहरुलाई पुगेको छैन । हामीले के आशा गरेर यो देउ र त्यो देउ भन्नु सर । १७ सालदेखि हरेक सरकार हेरिराछम तर पाउनु केही छैन ।
अहिले धेरै दलहरु मिलेर थोरै भएका छन नी ? कस्तो लागेको छ ?
मिल्नु ठीक हो तर खै मिले जस्तो मात्र छ । ठ्यक्कै मिल्न सकेका छैनन् । हामी मिल्यौ नभनुन्नजेल कसका कुरा पत्याउनु र । धेरै हुनु भन्दा पार्टीहरु थोरै हुनु नै ठीक हो । अन्त्यमा एउटा गीत गाउँछु म तपाइँका लागि ।
पत्रकार ज्यू प्यारी कहाँबाट आउनुभो ।
मेरा लागि प्यारी के दुख पाउनुभयो ।।

 

Comments

About the author

चितवन पोष्ट