गृह » अहिलेको शक्तिकेन्द्रनै माओवादी केन्द्र : प्रचण्ड
राजनीति

अहिलेको शक्तिकेन्द्रनै माओवादी केन्द्र : प्रचण्ड

रामकुमार श्रेष्ठ
कावासोती । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले माओवादी केन्द्र जता गयो त्यतै सरकारका लागि बहुमत पुग्ने भएकोले अहिलेको शक्ति केन्द्र नै माओवादी भएको समेत दाबी गरेका छन् ।
बुधबार नवलपुरको कावासोतीमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरुसँग मिलेर सरकार बनाउन खोजे पनि त्यसले बहुमत नपुग्ने भएपछि अब वाम गठबन्धनको पार्टी एकता नगर्नुको विकल्प नभएको बताए ।
त्यस्तै राष्ट्रियसभा गठनका लागि उनले मंगलबारको बैठक पनि आफैले डाकेको तर एमालेका कारण सहमति जुट्न नसकेको बताए । उनले एकल संक्रमणीय प्रणालीमा जाँदा पाँच दलको राष्ट्रियसभामा प्रतिनिधित्व हुने र बहुमतीय प्रणालीमा जाँदा वाम गठबन्धनको मात्र प्रतिनिधित्व हुने भएकोले वाम गठबन्धनलाई फाइदा हुने भए पनि एकल संक्रमणीय प्रणालीमा गएर सबै दलको प्रतिनिधित्व गराउनु पर्छ भन्नेमा आफू रहेको बताए ।
उनले एमालेको एक्लै बहुमत आउने सक्ने अवस्था हुँदा एमाले पार्टी एकताबाट टाढिन खोजे पनि अहिले पनि पार्टी एकताको लागि एमाले पनि सकारात्मक भएको बताए । उनले अहिले नेपालमा कम्युनिस्टहरु एक हुन आवश्यक रहेकोले त्यसको विकल्प नभएको भन्दै उनले आफ्नै प्रस्तावमा वाम गठबन्धन बनेको सोही अनुसार पार्टी एकता हुने भएकोले ढुक्क हुन आफ्ना कार्यकर्ताहरुलाई आश्वाशन दिए ।

Comments

About the author

चितवन पोष्ट