गृह » नयाँ सरकारको नेतृत्व आलोपालो : प्रचण्ड
प्रमुख समाचार राजनीति

नयाँ सरकारको नेतृत्व आलोपालो : प्रचण्ड

?

–दिपेन्द्र अधिकारी/तुलमान गुरूङ
भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपाल चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएको बताएका हुन् ।
“तर यस विषयमा एमालेसँग छलफल जारी नै छ,” उनले भने । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएको छ । सरकारको नेतृत्व को अघि र को पछि तथा कति समय भन्नेबारे आवश्यक छलफलपछि टुंगो लाग्ने उनको भनाइ छ ।
प्रचण्डले शनिबार एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने बताए । संयोजन समिति गठनका बेला चुनावपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आलोपालो प्रणाली अपनाउने भद्र सहमति भएको उनको भनाइ छ ।
शुक्रबार राजधानीमा बसेको पाँच दलको बैठकमा राष्ट्रिय सभा निर्वाचनको विधि एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भए पनि निर्णय भने नभएको पनि सम्मेलनमा जानकारी गराए । “अन्य राजनीतिक समझदारी बनाएर छिटोभन्दा छिटो नयाँ सरकार गठन गर्न जनादेशअनुसार छलफल भए पनि निर्णय हुन सकेन,” उनले भने ।
अध्यादेशको विषयमा पनि सबै कुरा मिलिनसकेको भन्दै उनले भने, “मिल्नुपर्छ भन्ने हो । संविधानले प्रष्टसँग नबोले पनि राष्ट्रिय सभा समावेशी र समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय नै हो । यस विषयमा वाम गठबन्धन छलफलमै छ ।”
भ्याएसम्म शनिबार काठमाडौँ फर्किएलगत्तै या आइतबार एमाले अध्यक्ष ओलीसँग यो विषयमा पनि छलफल गर्ने उनले बताए । ‘मिलेसम्म पार्टी समायोजनको विषयमा पनि छलफल गर्नेछौँ,’ उनले भने ।
मोदीको बधाईमात्र
माओवादी केन्द्रका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई फोन गरेर बधाई दिएको बताए । “फोन सम्पर्कमा बधाई दिनुबाहेक मोदीले अन्य विषयमा कुरा नगरेको प्रस्ट पार्छु”, प्रचण्डले भने, “ममात्रै होइन, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि बधाईमात्र दिएको बुझेको छु ।”
राष्ट्रिय सभा समावेशी
त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्ने बताए । “राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, राष्ट्रिय सभाको विषयमा सहमतिको प्रयास भइरहेको छ ।” राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलाएर संघीय संसद् बन्ने बताउँदै प्रचण्डले संघीय संसदमा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको उनले बताए ।
राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ थियो । उनले संविधानमा प्रष्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रिय सभा गठनमा जटिलता आएको बताए ।

Comments

About the author

चितवन पोष्ट