गृह » कम्युनिष्ट योद्धाको पार्टी एकता हेर्ने रहर
राजनीति समाचार समाज

कम्युनिष्ट योद्धाको पार्टी एकता हेर्ने रहर

किशोर खनाल
भरतपुर । नेपाल कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीति गुरू खम्बासिंह कुँवरले चुनावी तालमेल गरेका दुई पार्टी (माओवादी केन्द्र र एमाले) को पार्टी एकता भए प्रचण्ड र ओली नेपालको मात्र होइन, विश्वकै नेता हुने बताएका छन् ।
९१ वर्षका कुँवरले प्रचण्डलाई पटकपटक बाम तालमेल गर्न सुझाव दिएका थिए । ‘मेले दिएको सुझाव प्रचण्डले मानेका हुन्, मेरो सुझावपछि चुनावी तालमेल भएको हो । अब पार्टी एकता अवश्य हुन्छ । पार्टी एकता भए प्रचण्ड र ओली देशको मात्र होइन, विश्वकै नेता हुनेछन्’ कुँवरले भने ।
देशमा बदलिएको राजनीति उतारचढावबारे बुझ्न कँवरको डेरामा पुग्दा उनी विस्तारामा आराम गरिरहेका थिए । पिसाब, प्रेसर र सुगरलगायतका विभिन्न रोगबाट पीडित भएका कुँवरले देशमा भएको दुई पार्टी एकीकरणप्रति खुसी प्रकट गरे । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुनुअघि र पछि पटकपटक वाम तालमेल गर्न सुझाव दिएँ, उहाँले हुन्छ भन्नुभएको थियो । त्यहीअनुसार अहिले काम भइरहेको छ ।’
हाल कुँवर माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी प्रवेश गराएका कुँवरले नै हो । ‘प्रचण्ड गोर्खाको आरुघाटमा पढाउँथे । म पार्टीको गण्डकी अञ्चल प्रमुख थिएँ । माक्सवादी प्रशिक्षण दिन गोर्खा आरुघाट गएँ । त्यतिबेलै प्रचण्डलाई पार्टी प्रवेश गराएर प्रशिक्षण दिएँ’ कुँवरले भने ।
प्रचण्ड चितवन आएको बेला पटकपटक खम्बासिंह कुँवरलाई बोलाएर भेट्छन् । कुँवर सर्वहारा हुन् । उनले आफ्नो पूरै सम्पत्ति नै पार्टीलाई दिएका छन् । अहिले उनी भरतपुर–१२ थानीचोकमा डेरामा बस्दै आएका छन् । उनको हेरविचार नातिनी बुहारीले गरेकी छन् । ओखतीमुलो र खानपानको खर्च पार्टीले गरिदिएको छ ।
पछिल्लोपटक चुनावको बेला कुँवरलाई बोलाएर प्रचण्डले भेटेका थिए । त्यतिबेला उनले जसरी भए पनि पार्टी एकीकरण गर्न सुझाव दिएका थिए । ‘दुई पार्टी अहिले चुनावी तालमेल भए पनि पार्टी एकीकरणपछि मात्र देशको विकास हुन्छ । पार्टी एकता भएमा विभिन्न कालखण्डमा भएका गल्तीहरु पनि छोपिन्छ । देश अग्रगमनतर्फ बढ्छ’ चुनावताका मैले प्रचण्डलाई भेटेर यही भनेको हो । उहाँले हुन्छ भन्नुभएको थियो’ कुँवरले भने ।
उनी जीवनको उत्तराद्धतर्फ ढल्कँदै गएका छन् । धेरै कुरा उनी बिर्सन्छन् । ‘कति सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको हो, त्यो पनि मैले बिर्सें, कति सालमा के के भयो, के के गरियो । यी सबै भुल्दै गएको छु’ उनी भन्छन्, ‘दीर्घ रोगहरुले झन् गलाएको छ ।’
उनको डेरामा उनलाई भेट्न उनका थुप्रै चेलाहरु आउँछन् । राजनीतिमा सबैका गुरुजस्ता भएका छन् उनी । ‘किरणजी (वैद्य) ले फोन गर्नुहुन्छ, पार्टी हेडक्वाटरबाट पनि फोन आउँछ । वैद्य र विप्लवका मान्छेहरु डेरामा भेट्न आउँछन् र सल्लाह माग्छन्’ उनले भने, ‘विप्लव र वैद्यहरुले पार्टी एकीकरणलाई रुचाएका छैनन् । वाम एकतालाई दक्षिणपन्थी भन्छन् । जनवादलाई छोड्यो भन्ने आरोप पनि लगाउँछन् । उनीहरुलाई पनि मैले सही बाटो समात्नु भन्ने सल्लाह दिएको छु ।’
प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा पहिला उनी कुँवरको कोठामै भेट्न गएका थिए । त्यतिबेलादेखि नै उनले प्रचण्डलाई वाम एकता गर्न सुझाव दिएका थिए । कांग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्दा उनलाई त्यति मीठो लागेको रहेनछ । दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि भरतपुर एयरपोर्टमा प्रचण्डले उनलाई भेट्न बोलाएका थिए । ‘विश्वमै नभएको गठबन्धनसँग मिलेर सरकार बन्यो, वाम गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्नूस् अनि पार्टी एकीकरण गर्नूस् । मैले यही भनेको थिएँ’ कँुवरले भने, ‘मेरो भनाइअनुसार पार्टी एकीकरणलाई कसैले रोक्न सक्दैन, अवश्य हुन्छ ।’
१९८४ साल वैशाख १० गते लमजुङको बाङ्गे गाविस वडा नम्बर ७ मा बुबा ललितजंग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् । २०१५ सालमा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पे ।
‘जनयुद्ध अगाडि मैले एमालेसँग पार्टी एकताको लागि पहल गरेको थिएँ, त्यतिबेला एकता हुन सकेन । युद्धकालमा पनि छलफलहरु भए । शान्तिप्रक्रियामा आएपछि पनि पटकपटक पार्टी एकताबार छलफल चल्यो । अहिले आएर यो साकार हुँदैछ’ कुँवरले भने, ‘प्रचण्ड र ओलीले सही बाटो लिएका छन् । पार्टी एकीकरण हुन्छ । जनताले सुशासन पाउँछन् । उनीहरु नेपालको मात्र होइन, विश्वमै नमुना बन्नेछन् ।’

 

Comments

About the author

चितवन पोष्ट