गृह » आमा
साहित्य

आमा

आज मैले जन्मदिन मनाइनँ आमा
हजुरविना केको खुसी मनाउनु र आमा
दाजुभाइ दिदीबहिनी भोकै सुतेका छन्
मिर्मिरेमै काम गर्न भनी उठेका छन्
दिनभरि काम गर्दा नि भरिन्न पेट तिनको
यस्तो क्षणमा केको खुसी मनाउनु र आमा !

हजुरको तस्बिर हेर्दा अहिल्यै बोल्लिन् जस्तो
आवाज सुन्न नपाएर मन कस्तो कस्तो
चारैतिर खुसी भए खुसी हुन्थेँ आमा
यस्तो दृश्य देख्न पाए कस्तो हुन्थ्यो आमा ।

डाँडाकाँडा भीरपाखा नाङ्गै भएका छन्
गाउँघरका युवाहरु परदेश गएका छन्
तिनलाई यतै राख्न पाए कस्तो हुन्थ्यो होला
यही सोचेर दिनरात बित्छ मेरो आमा ।

अभावको पहाडमा उभिएछ देश
नेपाल आमा रोएकी छन् हेरेर यो दृश्य
आज मैले जन्मदिन मनाइनँ आमा
हजुरबिना केको खुशी मनाउनु र आमा !

Comments

About the author

चितवन पोष्ट