गृह » चेपाङ मतदाताले भने, ‘देश फेरिँदै छ, भोट त हाल्नै पर्छ’  
प्रमुख समाचार

चेपाङ मतदाताले भने, ‘देश फेरिँदै छ, भोट त हाल्नै पर्छ’  

शक्तिखोर । शक्तिखोर बजार नपुग्दै गैरीबारी चोकमा एउटा सामान्य चिया पसल छ । सो पसलमा मिठो जेरी पनि बन्ने गर्छ । निर्वाचनको मौन अवधि सुरू भएको दिन मंगलबार बिहान सो पसल पुग्दा मान्छेहरु कोही थिएनन् । पसल मालिक जयबहादुर चेपाङ भन्दै थिए ‘हेर्नु न आज चिनी नभएर न चिया पकाउन पाइयो । न जेरी बनाउन ।’
चेपाङहरु सीमान्तकृत वर्गमा पर्ने नेपालका अल्पसंख्यक आदिवासी समुदाय हुन् । यो जातिको मुख्य बसोबास चितवन, मकवानपुर, धादिङ र गोरखाको पहाडी क्षेत्रमा छ । शिक्षा र अन्य सुविधा उपलब्ध नभएका कारण चेपाङहरु अन्य समुदायभन्दा पछाडि छन् । निर्वाचनको माहौलले देश ढाकेका बेलामा यो अल्पसंख्यक चेपाङ समुदाय के सोच्दो हो ? जयबहादुरलाई प्रश्न राख्यौं ।
‘उमेर भएदेखि भोट हाल्दै आएको हो । अब पनि हाल्ने नि किन नहाल्ने’ प्रश्न भूइँमा खस्न नपाउँदै जयबहादुरले भने । चुनावको चर्चामा पस्नुभन्दा पहिले नाम र उमेर सोध्दा जयबहादुरले रमाइलो गरी आफ्नो उमेर भनेका थिए ‘तीन मुरी छ पाथी ।’ मुरीमा २० पाथी हुन्छ । उनको उमेर ६६ पाथी अर्थात ६६ वर्ष पुगेको रहेछ । अहिलेसम्म कति चुनाव भयो कति पटक मत हालियो उनले सम्झन सकेनन् ।
‘जे होस् चुनाव हुँदा सबै जाग्छन् । भोट माग्दै आउँछन् । त्यसैले दिउँदिउँ लाग्छ । लाइन मै बसेर भोट हाल्ने गर्छु’ जयबहादुरले भने । छाप्रैमा भए पनि होटल राखेर चिया र जुलेबी अर्थात जेरी बेच्ने चेपाङहरु निकै कमै भेटिन्छन् । प्रायः चेपाङहरु पहाडको पाखापखेरोमा बस्छन् । खोरिया फाँडेर मकै रोप्छन् । आफ्नो खेतको उब्जनीले लामो समयसम्म खान पुग्ने चेपाङहरु अति नै कम छन् ।
पढेलेखेका धेरै नभएका कारण चेपाङहरु सरकारी होस् वा निजी जागिर खाने पनि कमै छन् । न त कमाउन भन्दै अलि टाढा वा विदेश नै जानेहरु प्रसस्तै छन् । आफ्नै पाखापखेरामा मिहेनत मजदुरी गर्ने र अन्न सकिए कन्दमुल र सिस्नो खाएर छाक टार्नेहरु धेरै नै छन् । आफ्नो जीवनमा धेरै चुनाव देखेका जयबहादुरले चेपाङको अवस्था भने खासै फेरिएको देखेका छैनन् ।
‘चुनावका बेला त नेताले के के भन्छन्, भन्छन् । उनीहरुले भनेका कुरा पूरा हुने भए त सुखसयलले भरिपूर्ण नै भइन्थ्यो । तर, चुनाव जितेपछि नेताहरु मन्तरी (मन्त्री) हुन्छ । हामी भने मुन्तिरको मुन्तिरै छौं’ जयबहादुरले भने । अघिल्लो पटक स्थानीय तहको निर्वाचन हुँदा चेपाङ समुदायका थुप्रै उम्मेदवार थिए । जितेका पनि थिए । त्यति बेला उनी धेरै नै खुसी भएका थिए ।
अहिले उम्मेदवारको भीडमा उनले कोही चेपाङ भेटेनन् । त्यसो त चितवनका कुल ९५ जना उम्मेदवारमध्ये एकजना चेपाङ उम्मेदवार पनि थिए । तर, ती उनको क्षेत्रका थिएनन् । त्यसैले जयबहादुरले भेट्न पाएनन् । समयसँगै चेपाङहरु पनि टाठाबाठा हुँदै आएका छन् । तर, चुनावमा भने किन कम उठ्छन भनेर जयबहादुरले गम खाँदैछन् ।
‘केही नभएको पनि हैन । यही शक्तिखोरमा चेपाङलाई पढाउन भनेर छात्राबास खुलेको छ । गाउँगाउँमा बाटो पुगेको छ । देश त पहिलाको भन्दा फेरिएको छ नि । तर चेपाङ खासै फेरिएको भने छैनन् । केही टाठा भएका भने छन् । धेरै नै टाठा भएको भए त चुनावमा पनि उठ्दा हुन्’ उनले भने । चुनावमा उठ्दा धेरै पैसा खर्च हुन्छ भन्ने पनि उनले नसुनेका हैनन् ।
‘अब पैसा खर्च गर्नु पर्छ भन्ने पनि सुनेको हो । पैसा नभएर चेपाङ नउठेको पो हो कि झै पनि लाग्छ । तर, पैसापैसा भन्छन् नेताले खै कहाँ खर्च गरेका छन् त पैसा ? पैसाले गर्दा फलानोले चुनाव जित्यो भन्छन् । गरिबलाई पैसा बाड्यो भन्छन् । हामी जस्तो गरिब कोही छैन । तर, यत्रो चुनाव भयो कहिल्यै हामीले नेताले दिएको पैसो भेटेको छैन’ जयबहादुरले भने ।
गरिबको नाममा देशमा राजनीति धेरै भए पनि खास गरिबहरुको अवस्था नफेरिएको देख्दा उनी दिक्क छन् । तर, आफ्नै पसल अगाडि केही बेर घोरिँदा केही न केही फेरिँदै गएको देख्छन् । ‘पहिला बाटो बिजुली, थिएन । गाडी आउँदैन थियो । अहिले त धेरै फेरियो’ पसलबाटै देखेको परिवर्तन बताए उनले । देश फेरिँदै गएको देख्दा मत हाल्ने जाँगर चल्ने गरेको उनले बताए ।
‘केही भएकै छैन भन्ने हैन । भएको छ नि । यसो हेर्दा धेरै थोक भएको पनि छ । तर, नेताले गर्छु भनेको वाचा कसम थोरै पनि पूरा हुँदैन । कुरो बिग्रेको यही हो । त्यसैले जनतालाई रिस उठेको हो । नेताले गलत गरे भनेर हामीले भोटै नदिने हुँदैन । बरु गर्ने जस्तो खोजेर भोट हाल्ने हो’ उनले भने । लामो समयदेखि मत हाल्दै आए पनि सधै एकै पार्टीलाई मत नदिएको उनले सुनाए ।

Comments

About the author

चितवन पोष्ट