गृह » आरोपितले मत गन्न नपाउने 
प्रमुख समाचार

आरोपितले मत गन्न नपाउने 

भरतपुर । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ ।
जेठ १४ गते राति ११ बजेको समयमा कभर्डहल भित्र मत गणना हुँदै गर्दा ९० बढी मतपत्र च्यातिएको थियो । भरतपुर–१९ को मतपत्र च्यातिएकोमा साउन तेस्रो हप्ता पुनः मतदान भएको थियो । माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध मतपत्र च्यातेको आरोप छ । मतगणनामा बस्न कानुनले निषेध नगरे पनि नैतिकरुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताए । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भने, ‘मतपत्र च्यातिएको अभियोग लागेका दुई जनालाई गणनामा सामेल हुन दिइने छैन ।’
जिल्ला अदालत चितवनमा अझै पनि मुद्दा चलिरहेको छ । यस अघि उनीहरु जनही एक–एक लाख धरौटीमा छुटेका थिए । हाल यससम्बन्धी मुद्दा शर्माको इजलासमा परेको छ । निर्वाचन कसुरअन्तर्गत यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले पनि शिवाकोटी र न्यौपाने गणना प्रतिनिधिबाट बञ्चित हुने देखिन्छ ।
गणनामा महिला राखिने
मुख्य निर्वाचन अधिकृत शर्माले मतगणनामा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने बताए । गणनाका लागि महिला प्रतिनिधि पठाइ दिन राजनीतिक दललाई आग्रह गरिएको र सम्भव भएसम्म महिला मात्रै राखिने गणना सम्पन्न गरिने शर्माले बताए । गणना स्थल सभ्य, सौहार्द बनाउनका लागि तारजाली वा रक्षाका अन्य उपाय नअपनाइने उनको भनाइ छ । भरतपुर महानगरको पुनः मतदान गणनामा तारजाली प्रयोग गरिएको थियो ।
गणना कर्मचारीसँगै सुरक्षाकर्मी पनि महिला नै परिचालन हुने उनले बताए । पुरुषभन्दा बढी इमान्दार, अनुशासित, भद्र, सहनशील महिलाहरु हुने भएकाले सम्भावित घटना हुन नदिन महिला राख्न खोजिएको निर्वाचन अधिकृत शर्माले बताए । महिलाहरुको लागि यो एउटा सुनौलो अवसर र पुरुषभन्दा कम छैन भन्ने देखाउनका लागि राम्रो हुने उनले बताए । यो व्यवस्था लागू भएमा भविष्यमा नजिरका रुपमा यसलाई प्रयोग गर्दै जान सकिने समेत शर्माले बताए ।
जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । भरतपुरको चितवन माध्यमिक विद्यालयको तीन तले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ । तीन क्षेत्रको तीनवटा तलामा गणना गरिनेछ ।
मंसिर २१ को निर्वाचन समापनपछि दलहरुसँग बैठक बसी २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको शर्माले बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट