गृह » चितवनलाई हरियाली जिल्ला बनाउन पहल
समाचार समाज

चितवनलाई हरियाली जिल्ला बनाउन पहल

भरतपुर । चितवन जिल्लालाई सफा, सुन्दर र हरियाली जिल्ला बनाउनका लागि सबै निकाय तथा संघसंस्थाबाट पहल भइरहेको छ ।
पछिल्लो समय निर्माण भएका कुनै पनि कार्यालय पूर्णरूपमा अपाङ्गमैत्री तथा सरसफायुक्त हुनुपर्ने भन्दै सरोकारवाला निकाय तथा संघसंस्थाहरूले पनि दबाब दिइरहेका छन् । तर, जिल्लामा केही कार्यालयबाहेक प्रायः कार्यालयहरू अझै पनि पूर्ण सरसफाइयुक्त बनाउन सकेका छैनन् भने पूर्णरूपमा अपाङ्गमैत्री संरचना बनाउने कुरा बोलीमा मात्रै सीमित छ । पूर्णरूपमा अपाङ्गमैत्री संरचना निर्माण गर्ने काम सम्बन्धित संघसंस्था वा निकाय नै भए पनि सरसफाइको लागि भने जिल्लाका केही युवा समूह जिल्लालाई नै पूर्ण सरसफाइयुक्त बनाउन लागिपरेका छन् ।
यही सिलसिलामा विगत डेढ वर्षदेखि सरसफाइ अभियानमा सक्रिय चितवनको ‘वे ग्रुप’ले भने चितवनलाई गुटखामुक्त जिल्ला घोषणा गर्ने अभियान नै थालेको छ । सार्वजनिक स्थानमा सबैभन्दा बढी फोहोर भएकै गुट्खाको खोल (प्लास्टिक) भएकोले सबैभन्दा पहिले त्यसैलाई हटाऔँ भन्ने सोचाइका साथ अभियान सुरू गरिएको समूहले जनाएको छ । समूहकोे ७५औँ शृङ्खलाअन्तर्गत गत असोज २३ गतेदेखि समूहले ‘गुटखामुक्त अभियान’को लागि भरतपुर महानगरका विभिन्न वडाहरूमा हस्ताक्षर अभियान नै सञ्चालन गरेको छ । अहिले उनीहरूले विभिन्न टोलटोलमा हस्ताक्षर संकलन गरिरहेको छ ।
समूहका सदस्य शिव घिमिरेका अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडाहरूमध्ये ४/५ वटा वडा मात्रै बाँकी छन् । अरू सबै वडामा स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा हस्ताक्षर गराइएको उनले बताए । समूहले यही मंसिर २९ गतेसम्ममा भरतपुर महानगरपालिकाभित्रका सबै वडाहरूबाट हस्ताक्षर संकलन गरेर सक्ने लक्ष्य लिइएको छ । संकलित हस्ताक्षर आउँदो पुस १४ गते जैविक विविधता दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी रहेको समूहका अर्का सदस्य भोजनारायण कँडेलले जानकारी दिए ।
मानव स्वास्थ्यलाई पनि प्रत्यक्षरूपमा असर पार्ने हुँदा सकभर यस्ता घातक पदार्थ सेवन नगर्न समूहले सबैलाई आग्रह गरेको छ । आफ्नो टोललाई सफा राख्नको लागि सम्बन्धित टोलबासीकै भूमिका मह¤वपूर्ण हुने भएकोले टोल सुधार समिति तथा सम्बन्धित टोल तथा वडाका क्लबहरूले पनि सरसफाइलाई ध्यान दिन पनि समूहले सुझाव दिएको छ । विभिन्न सरकारी संघसंस्थाहरूले यो विषयमा ध्यान दिनुपर्ने भएकोले ती संघसंस्थाहरूलाई पनि दबाब दिइरहेको छ ।
जिल्लाको सरसफाइको लागि स्वतस्फूर्त रूपमा युवाहरू सक्रिय भएकोले जोसुकैलाई समूहमा जोडिएर काम गर्न चाहेमा समूहमा प्रवेश गर्न सकिनेछ । समूहलाई सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी विभिन्न संघसंस्थाहरूले पनि सहयोग गर्दै आएको छ ।

Comments

About the author

चितवन पोष्ट