गृह » नागरिकता देखाएर भोट हाल्न पाइने
समाचार समाज

नागरिकता देखाएर भोट हाल्न पाइने

किशोर खनाल
भरतपुर । मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचयपत्र नपाएका मतदाताहरु मतदानबाट वञ्चित नहुने भएका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नआएको खण्डमा मतदाताले नागरिकता वा अन्य परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउनेछन् । निर्वाचन कार्यालय भरतपुरले नयाँ वा पुराना जुनसुकै मतदाताले मतदाता परिचयपत्र हराए वा आयोगबाट भुल भएर नआए मतदानबाट वञ्चित नगराइने जनाएको छ ।
‘मतदाता परिचयपत्र आयोगबाट नआए वा हराए नागरिकता, सवारी चालक अनमतिपत्र वा पूरा परिचय खुल्ने अन्य कागजात देखाएर पनि भोट हाल्न पाइन्छ’ निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले भने, ‘मतदाता नामावलीमा नाम हुन अनिवार्य छ, नामावलीमा नामै नभए भोट हाल्न पाइनेछैन ।’
मतदाता नामावलीमा अथवा मतदाता परिचयपत्रमा सामान्य त्रुटि भएको खण्डमा पनि भोट हाल्न पाइने व्यवस्था गरिएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । नामावलीमा वा परिचयपत्रमा केही त्रुटि भएमा सानोतिनो भुलचुक मानेर नागरिकतालाई मुल आधार बनाइ भोट हाल्ने व्यवस्था मिलाइने निर्वाचन आयोग भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए ।
चितवनमा रहेका ४०८ वटै मतदान केन्द्रबाट मंगलबार नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको छ । आफ्नो परिचय खुल्ने कागज देखाएर मतदाताहरुले धमाधम परिचयपत्र लिएका छन् । आज बुधबार पनि मतदाताले आफ्नो मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार आज बुधबार साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गरिनेछ । आयोगका कर्मचारीहरुले परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइरहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे अझै अन्यौल कायमै रहेको छ । ‘अन्योल मेट्नको लागि निर्वाचन शिक्षा कार्याकर्ताहरुले २१ गतेसम्म मतदान केन्द्रको बाहिर बसेर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउनेछन्’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने । मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे स्वयंसेवकले पनि सिकाउनेछन् ।
चितवनका मतदान अधिकृतहरु सुरक्षाकर्मीसहित निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा तैनाथ अवस्थामा छन् । उनीहरुले मतदान केन्द्र वरिपरी ३०० मिटरसम्मलाई निषेधित क्षेत्र घोषणा गरेका छन् । सर्वदलीय बैठक गरेर सकेका छन् ।
तीन रंगको हुन्छ मतपत्र
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङ्गको मतपत्र हुनेछ । समानुपातिकतर्फको मतपत्र लामो हुन्छ । सुरूमा मतदाताले प्र्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको चिन्हमा मत हाल्नेछन् । त्यसपछि प्रत्यक्षतर्फको उम्मेदवारको चिन्हमा मत हाल्नेछन् ।
अन्तिममा समानुपातिक उम्मेदवारको चिन्हमा मत हाल्नेछन् । एउटा मतपत्रमा स्वस्तिक छाप लगाएर मटपेटिकामा मतपत्र खसालेपछि बल्ल मतदाताले अर्को मतपत्र पाउँछन् । समानुपातिक प्रणालीतर्फ दुवै तहका लागि एउटै पृष्ठको तल र माथि सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछ ।
कति छन् मतदाता ?
चितवन जिल्लाको स्थानीय तहको चुनावको मतदाता संख्याभन्दा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ४१ हजार ३३ मतदाता बढेका छन् ।
चितवनको तीन निर्वाचन क्षेत्रको मतदाता संख्या तीन लाख ५४ हजार ३६ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा तीन लाख १३ हजार २ मतदाता थिए । यो चुनावमा महिला मतदाताको संख्यामात्र एक लाख ८४ हजार ६९ छ । पुरुष मतदाता एक लाख ६९ हजार ६५ छन् । पुरुषको तुलनामा महिला मतदाताको संख्या १५ हजारले धेरै छ ।
धेरै पुरुष युवा जनशक्ति विदेशमा र बाहिरी जिल्लामा रहेको हुनाले पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी भएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।
चितवन क्षेत्र नम्बर एकमा एक लाख १९ हजार ९९८ मतदाता छन् । जसमा महिला मतदाता एक लाख ६२ हजार २९९, पुरुष मतदाता एक लाख ५७ हजार ६९९ छन् । चितवन क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २१९ मतदाता छन् । जसमा महिला मतदाताको संख्या ५५ हजार ५०१ र पुरुष मतदाता ५२ हजार ७१७ छ । चितवनमा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ३ मा छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता छन् । जसमा महिला मतदाता ६६ हजार २६९ र पुरुष मतदाता ५९ हजार ५४९ छन् ।

Comments

About the author

चितवन पोष्ट