गृह » यस निर्वाचनका अँध्यारोभन्दा उज्याला पक्षहरु
विचार

यस निर्वाचनका अँध्यारोभन्दा उज्याला पक्षहरु

डा. धनपति कोइराला
dpk2068@gmail.com
प्रतिनिधि तथा प्रदेशसभाका निम्ति भएको यो निर्वाचन विभिन्न कारणले विशेष रहन पुग्यो । त्यसो त, पहिलो र दोस्रो संविधानसभा निर्वाचनका पनि खास विशिष्टता नभएका होइनन्, तर यो निर्वाचन भने यी धेरै कारणले विशेष बन्न पुग्यो :
गठबन्धन
स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेपछि एमालेले पनि कतै राप्रपा, कतै लोकतान्त्रिक फोरम र कतैकतै माओवादी केन्द्रसँग ठाउँविशेषका निम्ति तात्कालिक गठबन्धन ग¥यो । तर, यो गठबन्धनले राष्ट्रिय तहसम्म चर्चा पाए पनि अन्तर्राष्ट्रिय जगत्कै ध्यानाकर्षण गर्न भने सकेको थिएन । स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै स्थानीय तह (२०७४) निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको एमाले र तेस्रो बनेको माओवादी केन्द्रका बीच गठबन्धन भएपछि यसले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय जगत्कै ध्यानाकर्षित ग¥यो । खासगरी, साउथब्लकदेखि समुद्रीपारसम्म तरङ्ग पैदा ग¥यो । यसलाई कमजोर बनाउन सकेको ताकत प्रयोग भयो र अझै भइरहेको शीर्षनेताहरुको अभिव्यक्तिमा झल्किरहेकै छ । विशेषगरी, दुई दलको निर्वाचनकेन्द्रित वाम गठबन्धनलाई पार्टी एकीकरणमा रुपान्तरित हुन नदिने चलखेल भइरहेको आरोप सत्ता गठबन्धनका नेताहरुको टिप्पणी रहेको छ ।
यसलाई नेपाली कांग्रेसले असहज र अप्राकृतिक भन्दै टिप्पणी मात्र गरेन, उसले अधिनायकवाद आउने, रूनै नपाइने, अब कहिल्यै चुनावै नहुने, देश अस्थिरतातर्फै धकेलिनेजस्ता आरोप लगाइरह्यो । उसैले वाम गठबन्धनलाई आवश्यकताभन्दा धेरै चर्चामा ल्याइरह्यो । तर, आपूmले भने घोषित लोकतान्त्रिक गठबन्धनलाई मूर्तरुप दिन सकेन । क्षेत्रीय पार्टीले समेत यसलाई त्यति सकारात्मक रुपमा लिन सकेनन् । यसर्थ, नकारात्मक पाटोबाट गठबन्धन चर्चामा छाइरह्यो ।
तर, जनस्तरबाट भने गठबन्धनको हार्दिक स्वागत भयो । थ्रेसहोल्डका कारण दलहरु गाभिने क्रम आरम्भ भइसकेको सन्दर्भमा ठूला दलहरु नै आपसमा मिल्दा र गाभिने क्रम पनि आरम्भ भएपछि जनता यसबाट आशावादी भएका हुन् । जति थोरै दल हुन्छन् त्यति नै कलह र वैमनस्य कम हुने र एउटा दलले बहुमत ल्याउन सक्ने भएकाले राजनीतिक स्थिरता र विकास हुने सम्भावना भएकाले पनि दलहरुको यो गठबन्धनलाई जनताले सकारात्मक रुपमा लिएका हुन् । यसबाट विभिन्न गुट र उपगुटमा विभाजित भएको कांग्रेस एक भएको छ । मिल्नै नसक्ने राजपा र संघीय समाजवादी फोरम आपसमा गठबन्धन गरी निर्वाचनमा जुटेका छन् । यस अर्थमा पनि यो निर्वाचन विशेष बनेको छ ।
आर्थिक समृद्धिका एजेन्डा
अघिल्ला निर्वाचनमा दलका प्रायः सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयहरु नै घोषणापत्रका मुख्य एजेन्डा बन्ने गरेका थिए । तर, यसपटकको निर्वाचनमा केही ठूला दलले एकले अर्को दललाई घटिया र निकम्मा रहेको देखाउने प्रयत्न गरे पनि मूलतः ती दलहरुका र अन्य थुप्रै सानाठूला दलका एजेन्डाहरु आर्थिक समृद्धि र विकासमै केन्द्रित रहेको पाइयो । उनीहरुको घोषणापत्र, चुनावी भाषण र वक्तव्यहरु पनि समृद्धि केन्द्रित नै रहे ।
मतगणना कार्य
यसअघि भएका निर्वाचनमा सुरक्षा चुनौती देखाएर पहिलो चरणको निर्वाचनको मतदानलाई तत्काल गणना गरी मत परिणाम तत्काल घोषित गरिएको थियो । यस चुनावमा पनि उत्तिकै सुरक्षा चुनौती हुँदाहुँदै पनि निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना गर्ने व्यवस्था गरेपछि यो निर्वाचन यसदृष्टिले पनि विशेष बन्न गएको छ । अर्को कुरा, पहिलो चरणको निर्वाचन परिणामले दोस्रो तेस्रोलाई प्रभाव पार्छ भनिए पनि त्यसले स्थानीय तहको चुनावमा खासै त्यस्तो प्रभाव पारेको देखिएन । यति हुँदाहुँदै पनि दोस्रो निर्वाचन हुन बाँकी ११ दिनसम्म राखेर बल्ल मतगणना गर्ने भन्ने विषय निकै जटिल र जोखिमयुक्त रहे पनि मतगणना रोक्ने कार्यले एउटा खास विशेषता बोक्न पुगेको देखिन्छ ।
राजनीतिज्ञताभन्दा धनवान्
दलहरुले पहिलोमा भन्दा दोस्रो संविधानसभा निर्वाचनमा त्यागी, सिद्धान्तनिष्ठ, सहयोगी समाजसेवी, राजनीतिक व्यक्तित्वभन्दा पैसावाललाई अतिशय मह¤व दिई टिकट दिएको पाइयो । त्यस्ता सिद्धान्तनिष्ठ व्यक्तिहरुले वरिष्ठ हुँदाहुँदै पैसाको अभावमा प्रतिनिधि सभातर्फको प्रत्यक्षमा नभई प्रदेशसभामा अझै पैसा नभए समानुपातिकतर्फ टिकट पाए । त्यो पनि पछि पाउने सम्भावना कम रहेको स्थितिमा राखेको पाइयो । यसर्थ, दलले पैसावाल व्यक्तिलाई प्राथमिकतामा राखेर उम्मेदवारको टिकट दिए । चाहे ती पैसावाल कस्ता हुन्, कसरी सम्पत्ति कमाएका हुन् तिर नगई जुन तरिकाले आर्जन गरेको भए पनि पैसावालालाई मह¤व दिएको देखियो । प्रायः त्यस्ता पैसावालहरु उद्योगपति, व्यापारी, ठेक्कापट्टावाला, बोर्डिङवाला, नदीजन्य सामग्री बेचबिखन गर्ने, जग्गा दलाल आदि रहेको देखियो । यो स्थानीय निकायभन्दा यसमा झन् उत्कर्षता प्राप्त गरेको अवस्था हो ।
शक्ति प्रदर्शनको सट्टा घरदैलो
यस निर्वाचनमा दलहरुले शक्ति प्रदर्शनलाई खास प्राथमिकतामा राखेको पाइएन । यसअघिका निर्वाचनमा दलहरुले शक्ति प्रदर्शनका नाममा साइकल ¥याली, गोरूगाडा ¥याली, रिक्सा र अटो रिक्सा ¥याली, कार, भ्यान, बस आदिको समेत उपयोग गरी निर्वाचन क्षेत्र परिक्रमा गर्दै आप्mनो पार्टीको शक्ति प्रदर्शन गर्ने गर्थे । तर, यसपटक ससानो समूहहरुमा मात्र प्रस्तुत हुने गरेको देखियो । शक्ति प्रदर्शन गर्नुभन्दा घरदैलो कार्यक्रमलाई नै सबैले मह¤व दिएको देखियो । दलहरुले पनि प्रायः ठूला नेता आउँदा गाउँसहर नै उचालेर ल्याएनन्, बरू जतिसम्भव रह्यो त्यसैलाई ठूलो उपस्थिति मानेर आमसभा गरे । उनीहरुले एकअर्काप्रति कटाक्ष गरे पनि व्यक्तिगत भण्डाफोरका तुच्छ गाली बर्साएनन् ।
भोजभतेर संस्कृति
पञ्चायतकालमा निर्वाचनका प्रचारप्रसार गर्ने क्रममा र सभा, गोष्ठीहरु हुँदा भोजभतेर गर्ने प्रचलन थिएन । बरू, निर्वाचनमा जित्ने उम्मेदवारहरुले आफूले जितेको खुसीयालीमा मात्र भोजभतेरको आयोजना गर्दथे । प्रजातन्त्रको उदयपछि एउटापछि अर्को निर्वाचनमा भोजभतेर लगाउने प्रचलन झन्झन् बढ्दै जान थाल्यो । अहिले संविधानसभाद्वारा निर्माण गरिएको संविधानअनुरुप हुन लागेको निर्वाचनमा प्रायःजसो उम्मेदवारहरुले अघिल्लो निर्वाचनका विकृतिलाई झनै बढवा दिँदै उम्मेदवारी दिएकै दिनदेखि अनवरत भोजभतेर लगाइरहेका छन् । यस्तो संस्कृति झन्झन् बढी अघिल्लो रेकर्डलाई पछिल्लो रेकर्डले तोडेर यसको खास विशेषता बन्न गएको छ ।
प्रचार सामग्री
अघिल्लो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा दलहरुले आप्mनो प्रचारका लागि आआफ्ना दलका झन्डा र चुनाव चिन्ह अङ्कित टीसर्ट, झोला, क्यापटोपी आदि हजारौँको संख्यामा वितरण गरेका थिए । सँगसँगै चुनाव चिन्ह अङ्कित पम्प्लेट पर्खाल, घरको भित्ता, पुलपुलेसा, बाटोघाटो जताततै टाँसेर विकृत तुल्याइन्थे । ब्रोसर जताततै फालेर यसले बाटो फोहोर बनाइएका हुन्थे । यस चुनावमा कताकति यस्ता सामग्री टाँसेको पाइए पनि समग्रमा व्यापक कमी आएको देखियो । साथसाथै झन्डा र ब्यानरहरुको प्रयोगमा भने अलिक व्यापकता देखियो । सँगसँगै स्थानीय रेडियो, स्थानीय टेलिभिजन, स्थानीय पत्रपत्रिका र राष्ट्रिय सञ्चारमाध्यमहरुलाई समेत उच्चतम उपयोग गरेको देखियो । यसमा पर्दापछाडि अघिल्ला निर्वाचनहरुमा भन्दा भाउ बढाएर प्रतिभोट मुद्रा वितरण गरेको सुनियो ।
सामाजिक सञ्जाल
स्थानीय तहमा भन्दा यस निर्वाचनमा उम्मेदवारहरुले आफ्नो र आप्mनो पार्टीको प्रचारप्रसारका निम्ति सामाजिक सञ्जालको उच्चतम उपयोग गरेका छन् । उनीहरुले फेसबुक, ट्वीटर, भाइबर, म्यासेन्जरहरुको उपयोग गरेको देखियो । यसमा आप्mना धारणा राख्ने र प्रतिक्रिया माग्ने, आप्mना राजनीतिक प्रतिबद्धता व्यक्त गर्नेजस्ता कार्य गरेको पाइयो ।
संयम
२०४६ को प्रजातन्त्र प्राप्तिपछिको निर्वाचनमा एमाले र कांग्रेसका बीच कैयौँ स्थानमा भीडन्त भए । ¥यालीहरुमा पनि हस्तक्षेप र भीडन्त भए र धेरैले ज्यान गुमाए । यहाँसम्म कि दाजु कांग्रेसमा भाइ एमालेमा वा भाइ कांग्रेसमा दाइ एमालेमा, पिता एउटामा र पुत्रहरु अर्को पार्टीमा समेत विभक्त भए । उनीहरुले बोलचाल नै बन्द गरे । काटाकाटसमेत गरे । भिन्न दल भएमा बन्धुबान्धवहरुले बिहेबारी नै गरेनन् । एककिसिमले छोइछिटो नै बन्द गरे । बिस्तारै निर्वाचन हुँदै जाँदा यो क्रम रोकिँदै गर्दा पहिलो संविधानसभाको निर्वाचनमा माओवादी र गैरमाओवादीका बीच निकै स्थलमा भिडन्तहरु भए र कैयौँले त्यसबखत पनि ज्यान गुमाए । अघिल्लो स्थानीय निर्वाचनमा पनि कतिपय स्थानमा छिटपुट यस्ता घटना भए । तर, यो निर्वाचनको पहिलो चरणको निर्वाचनमा खासै त्यस्तो घटना देखिएन र दोस्रो चरणको निर्वाचनको यो चरणमा आइपुग्दा खासै त्यस्तो घटना देखिएको पाइँदैन । बुथ क्याप्चरका घटना पनि सुनिएन ।
निष्कर्ष
यसप्रकार, यस निर्वाचनमा सरसर्ती हेर्दा केही अँध्यारा पक्षहरु देखिए पनि धेरै राम्रा र उज्याला पक्ष नै देखा परे । यद्यपि, अँध्यारो पक्षले उज्यालो पक्षमा ग्रहण लगाइरहेको हुन्छ, तापनि ती अँध्यारा पक्षमा समेत दलहरुले प्रकाश छर्न प्रयत्न गरेमा आगामी दिनमा उज्यालो नै सर्वत्र छाउने आशा राख्न सकिन्छ । यद्यपि, अहिलेको हकमा भोजभतेर संस्कृति, पैसावालालाई टिकट दिने प्रवृत्ति, पैसा दिएर मत खरिद गर्ने उत्तरोत्तर प्रवृत्तिको विकास यसमा देखिएका अत्यन्त औँसीमय कालरात्रि हुन् । राजनीतिक कार्यकर्ता तथा नेतागणमा देखिएको सम्यम र धैर्य तथा आर्थिक समृद्धिको एजेन्डा यस निर्वाचनको आशलाग्दो पूर्णिमामय पक्ष हो । यस्तै, परिवर्तित प्रचार सामग्री, घरदैलो कार्यक्रम, स्वस्थ तथा बौद्धिक रुपमा सामाजिक सञ्जालको उपयोग, गठबन्धन र साना दलहरुको विलय र दलीय धु्रवीकरण पनि उत्तिकै सबल पक्ष हुन् । यसले तमसोमा ज्योतिर्गमय भन्ने वैदिक मन्त्रको सारले भनेझैँ आगामी दिनमा अझै केही भागमा रहेको अँध्यारोलाई चिर्दै सर्वत्र उज्यालो किरण छाउने सङ्केत मिल्दछ ।

 

Comments

About the author

चितवन पोष्ट