गृह » पहिलो चरणको निर्वाचनले दिएको सन्देश
विचार

पहिलो चरणको निर्वाचनले दिएको सन्देश

– रामशरण गैरे
sriramgaire@gmail.com

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका ७४ क्षेत्रका मतदाताले दिएको मत जिल्ला सदरमुकाममा संकलन भएको छ । कुल एक करोड २१ लाख ९८ हजार मतदातामध्ये एकचौँथाइ मतदाता पहिलो चरणको निर्वाचनमा सहभागी भइसके भने बाँकी मतदाता २१ गते हुने निर्वाचनको प्रतीक्षामा छन् । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फका १२८ र प्रदेशसभातर्फका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एक हजार ७४२ र प्रदेशसभा सदस्यमा दुई हजार ९६६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । देशमा राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनापछि पनि राजनीतिक अवस्था र संस्कारमा गुणात्मक अन्तर आई नसकेकाले निर्वाचनको गरिमा कायम रहन सकेको छैन ।
पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको तथ्यांक छ । केही महिनाअघि मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा अहिले सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० प्रतिशत कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७५ प्रतिशत मत खसेकोमा अहिले ६५ प्रतिशतमात्रै मत खसेको छ । शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेका हिमाली र उच्च पहाडी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उपस्थिति ढिलो भएको थियो । पहिलो चरणमा निर्वाचन भएको क्षेत्रको भूगोल जटिल भएकाले टाढा–टाढा मतदान केन्द्र राखिएका थिए । त्यसले गर्दा मतदातालाई पुग्न गाह्रो भयो । जाडो सुरू भएर हिमाली भेगमा हिउँसमेत परेकाले वृद्धवृद्धालाई मतदान गर्ने स्थानसम्म पुग्न गाह्रो भयो । त्यसैले पनि यसपटकको मतदानमा मत कम खस्नु एक कारण हुनसक्छ ।
मत कम खस्नुको अर्को मुख्य कारण युवा रोजगारीका लागि विदेसिनु पनि हो । आमनागरिकलाई मतको भन्दा आफ्नो रोजीरोटीको जोहो प्यारो भएको देखिन्छ । मत हाल्नभन्दा परिवार पाल्न धन कमाउनु पहिलो प्राथमिकता भएको निष्कर्षमा युवा पुगेको देखिन्छ । उम्मेदवारले उनीहरुलाई अर्थको जोहो गर्न र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएर रोक्न सकेको देखिएन, जसको परिणामस्वरुप खसेको मत प्रतिशत कम भयो । निर्वाचन तथा उम्मेदवारको आचरण र व्यवहारका कारण पनि मत खस्ने प्रतिशत कम हुँदै गइरहेको छ । उम्मेदवारलाई मतदाताले जिताएर पठाएपछि आफू जितेको क्षेत्रका लागि उनीहरुले गरेको काम उदाहरणीय र प्रशंसनीय नभएको स्थितिले पनि मतदाता मतदान गर्न नआएका हुन सक्छन् ।
मत बदरमा पनि उलेखनीय सुधार नभएकै देखिन्छ । मत कसरी, कहाँ र कहिले हाल्ने भन्ने सिकाएरमात्रै हुँदैन । मत किन हाल्ने ? यो मतले मुलुकमा कति परिवर्तन ल्याउँछ ? मतदाताले निर्वाचनपछि के पाउँछन् ? भन्ने विषयमा पनि शिक्षा दिनु जरूरी थियो, त्यो हुन सकेन । मुलुकमा युगान्तकारी परिवर्तनपश्चात् नयाँ संविधान निर्माण भएको छ । त्यही संविधान कार्यान्वयन गरी मुलुकमा विकासको ढोका खोल्नका लागि, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र संक्रमणकाल अन्त्यका लागि यो निर्वाचन गर्न लागिएको हो भन्ने शिक्षा मतदातालाई दिन नसकिएकै हो । त्यसमा कसैले चासो राखेर कसैले मतदातालाई शिक्षा दिन उपयुक्त ठानेनन् । दोस्रो चरणका लागि पनि उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ । यस्तो अवस्थामा उम्मेदवार त्यति नै हुन्छन् । मतपत्र त्यही नै हो । मतदातालाई मतदाता शिक्षा नपुगेर र पुगेर पनि मतदाता दोधारमा परेको अवस्था छ । उम्मेदवार र राजनीतिक दलले घरघरमा पुगेर वा एकै स्थानमा भेटेर जानकारी गराउन सकेको खण्डमा मात्र मतको प्रतिशत बढाउन सक्ने सम्भावना रहन्छ । निर्वाचनको प्रक्रियामा उम्मेदवारलाई हामीले जिताएर के पायौँ र ? अहिले भाग नलिँदा के हुँदोरहेछ र ? भनेर हेर्नेलाई कन्भिन्स गर्न सक्दा केही फरक पर्छ । केहीको मानसिकतामा यिनले अहिले धेरै पैसा खर्च गरेर निर्वाचन जित्छन् । जितेपछि माथि गएर गाउँमा फर्कंदै फर्कंदैनन् । अहिलेसम्म जितेर केही काम गरेनन् भनेर निरूत्साहित भएर पनि मतदाता मत दिन नआएका हुन सक्छन् ।
चुनाव प्रचारप्रसारकै क्रममा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना भए र मतदानकै दिन पनि मतदातामा त्रास फैलाउने उद्देश्यले विभिन्न ठाउँमा बम विस्फोट गराइए । यी प्रतिकूल परिस्थितिमा पनि मतदाताको उत्साहपूर्ण सहभागिता रह्यो । पहिलो चरणमा कुल चार हजार ४६३ मतदान केन्द्रमध्ये रूकुमको बाफिकोट गाउँपालिका–५ को रत्न मावि (क) केन्द्र र आठबिसकोट नगरपालिका–११, राष्ट्रिय मावि (ख) केन्द्र गरी दुईवटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भयो । दोलखा, जाजरकोट, सिन्धुपाल्चोकलगायतका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच तनावको स्थिति भए पनि मतदान सम्पन्न भयो । पहिलो चरणको मतदान सफलतापूर्वक सम्पन्न भए पनि चुनौती अझै बाँकी छन् । जाजरकोटलगायतका विभिन्न स्थानमा मतपेटिका सङ्कलनका क्रममा आक्रमण भएको छ भने केही स्थानमा मतपेटिका संकलन र पार्टी प्रतिनिधित्वको विषयमा दलका कार्यकर्ताबीच विवाद भएको छ । दोस्रो चरणको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्वाचन आयोगले निर्णय गरेकाले अब मतपेटिका सुरक्षित गर्ने कार्य झन् चुनौतीपूर्ण छ ।
रूकुममा मतपेटिकामा एसिड खन्याएर जलाइयो । यस्ता कार्य दोहोरिन पनि सक्छन् । हार्दैगए मत च्यात्ने परम्परा त बसाली सकिएको छ । यसका लागि बेलैमा सतर्कता अपनाउनुपर्छ । पहिलो चरणको निर्वाचनमा भएका बम विस्फोट र राजनीतिक दलका कार्यकर्ताबीचको झडपका घटनाले दोस्रो चरणको निर्वाचनको सुरक्षा चुनौती बढाएको छ । पहिलो चरणको निर्वाचन क्षेत्रमा मौन अवधिमा भएका आचारसंहिता उल्लंघनलाई दोस्रो चरणका निर्वाचन क्षेत्रमा कसरी नियन्त्रण गर्ने भन्ने चुनौती छ । सामाजिक सञ्जालको प्रयोग गरेर सर्वसाधारणमात्रै नभई उम्मेदवार र दलका केही उच्च तहकै नेताबाटै आचारसंहिता उल्लंघन भएको छ । यस्ता घटनालाई दोस्रो चरणको निर्वाचनमा दोहोरिन नदिन समयमै सजगता आवश्यक छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग र नेपाल सरकारले थप प्रयास गर्नुपर्ने त छँदैछ, सर्वसाधारण नागरिक, राजनीतिक दल र अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिले पनि चनाखो हुनुपर्ने देखिएको छ ।
त्यसमाथि, हाम्रो निर्वाचन प्रणाली पनि जटिल छ । यसअघि हामीले गरेका दुई निर्वाचन संविधान बनाउनका लागि गरिएका थिए, सरकार बनाउनका लागि भनेर गरिएको थिएन । ती निर्वाचनलाई हामीले आवधिक निर्वाचनभन्दा पनि भन्दैनौँ र भन्न उचित पनि हुँदैन । अहिले लामो समयपछि भएको आवधिक निर्वाचन पाँच वर्षका निम्ति सरकार निर्माणका लागि हुन लागेको हो । निर्वाचनपछि बन्ने सरकारले मुलुकमा दिगो विकासको ढोका खोल्न सक्छ । मुलुकमा विकासको ढोका खोल्न योग्य व्यक्तिलाई निर्र्वािचत गरेर पठाउनुपर्छ भन्ने शिक्षा हामीले जनतासम्म पु¥याउन नसकेकै हो । पैसै बाँडेर भए पनि निर्वाचन जित्नुपर्छ भन्ने परम्परागत संस्कारबाट दलहरु माथि उठ्न सकेनन् । त्यसको ठीकविपरीत मतदाता भने उनीहरुलाई खान र लुटन जाने भ¥याङ बन्न हामी किन मतदानका लागि जाने ? भन्ने बुझे कि जस्तो लाग्छ ।
हाम्रो राजनीतिक इतिहास हेर्दा आजसम्म जति पनि ठूला गल्ती भएका छन्, ती उच्चतहकै नेतृत्वबाट भएका छन् । जनताले जहिले पनि दलहरुलाई परिवर्तनका लागि भएका संघर्षमा साथ दिएका छन् । यहाँसम्म कि जनताले पूर्वराजा ज्ञानेन्द्रलाई पनि आफ्नो गल्ती सच्चाएर जनताको विश्वास जित्न सकिने अवसर दिएका थिए, तर उनले आफ्नो कार्यशैलीमा सुधार ल्याएनन् र सदियौँदेखिको सामन्ती संस्कारलाई नै अनुसरण गरे । प्रमुख दलकै क्रियाकलापका कारण एकथरी व्यक्ति हिजोकै व्यवस्था र अवस्था ठीक थियो भन्न बाध्य भएका छन् । तर, यसको अर्थ हिजोकै अवस्था ठीक थियो भन्ने होइन, बरू अहिलेका दलहरुले जनआकांक्षाअनुसार काम गर्न नसक्दाको परिणाम हो । यसै कारणले पनि जनतामा निराशा छाएको र भविष्यप्रति चिन्तित हुनुपरेको सत्य हो । तर, सधैँ निराशामा बसेर देशका समस्या समाधान हुँदैन । सुधार र प्रगतिको बाटो समात्नैपर्छ ।
सबैको एउटै उद्देश्य आर्थिक समृद्धि हुनुपर्छ । त्यसका लागि आवश्यक राजनीतिक सुधारका कार्यलाई अघि बढाउँदै लैजानुपर्छ । निर्वाचनले मात्र सही व्यक्ति चुनिन सक्छ, तर निर्वाचनले तुरून्तै आर्थिक समृद्धि ल्याउने होइन । निर्र्वािचत व्यक्ति तथा पार्टी कसरी अघि बढ्छन्, त्यसका आधारमा देशको भावी नक्सा कोरिने छ । जुनसुकै गठबन्धनले बहुमत ल्याए पनि मुख्य विषय राजनीतिक स्थिरता होस् भन्ने हो । एउटा गठबन्धनले बहुमत ल्यायो भने नीतिगत रुपमा देशले एउटा निश्चित बाटो अपनाउने छ । विगतमा झैँ सरकार गठन र विघटनको खेलमा समय बर्बाद गर्नुपर्ने अवस्था आउने छैन । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा छोटो समयमै सरकार परिवर्तन भइरहने खेलले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजान नसकिएको तीतो यथार्थ हाम्रासामु छ । त्यसको फाइदा विदेशी शक्तिले उठाए । तर, अब त्यस्तो नहोस् भन्नेतर्फ आममतदाता सचेत बन्नुपर्छ । हुन त, देशका जल्दाबल्दा समस्या खासगरी गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्यसम्बन्धी समस्याको समाधान तुरून्तै होला र देश आत्मनिर्भर हुने बाटोमा लाग्ला भन्नेमा अहिले नै ढुक्क हुने अवस्था छैन, तर वर्तमान परिस्थितिमा प्राप्त विकल्पमध्ये सकारात्मक विकल्प रोज्नुबाहेक जनतासमक्ष अन्य उपाय छैन । तर, चुनावमा आफूले उपयुक्त ठानेको गठबन्धनलाई विजयी बनाए पनि जनताको निरन्तरको सतर्कता र खबरदारीको आवश्यकता सधैँ परिरहने छ ।

Comments

About the author

चितवन पोष्ट