गृह » निर्वाचनको मौन अवधि सुरू,सामाजिक सञ्जालबाट पनि मत माग्न नपाइने
प्रमुख समाचार

निर्वाचनको मौन अवधि सुरू,सामाजिक सञ्जालबाट पनि मत माग्न नपाइने

भरतपुर । बिहीबार मतदान हुने भएका कारण निर्वाचनको प्रचारप्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ ।
मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचारप्रसार गर्न पाउँदैनन् । उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् । फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालबाट समेत यो समयमा मत माग्न नपाइने अधिकारीहरुले चेतावनी दिएका छन् ।
‘यदी त्यसो गरेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना र सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने कानुनी प्रवधान छ’ निर्वाचन आयोगले चितवनका लागि खटाएको केन्द्रीय अनुगमन समितिका टोली प्रमुख सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले सोमबार साँझ जिल्ला प्रशासनमा भएको पत्रकार सम्मेलनमा जानाकारी दिए । टोलीले सुक्ष्म अनुगमन पनि गर्नेछ ।
अर्का टोली प्रमुख सहसचिव रामकृष्ण सुवेदीले उल्लंघनका घटना भए सूचना दिन मतदाता र सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘हामी पनि खटिरहेका छौं । सुक्ष्म अनुगमनका लागि अर्को टोली पनि आएको छ । मौन अवधिमा गर्न नपाइने कामहरु कही कतै भएको रहेछ भने हामीले रोक्ने छौं । यस्ता घटना भएको कसैले देखे जसले पनि सूचना दिन सक्ने छ’ सुवेदीले भने ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सोमबार मध्यरातदेखि निर्वाचन प्रचारप्रसार र मत माग्न पाइदैन । त्यस्तै मतदान केन्द्रको तीन सय मिटर वरपर पार्टीहरुले कुनै खालका प्रचार सामग्रीहरु राखेका छन् भने ती सबै मौन अवधि सुरू हुनुभन्दा अघि नै हटाएको हुनुपर्छ । उम्मेदवार र राजनीतिक दलको प्रचारप्रसार हुने गरेर सञ्चार माध्यमले समाचारसमेत प्रकाशन र प्रसारण गर्न हुन्न ।
‘मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन’ टोली प्रमुख उद्धवप्रसाद पुडासैनीले भने । बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार, पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
मतदानका दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा संकेत नभएको पहिरन, परिचयपत्र र व्याज मात्र प्रयोग गर्नुपर्ने हुन्छ । मतदानका दिन कुनै पनि खालका गाडी प्रयोग गरेर मतदातालाई ल्याउन लैजान पाइँदैन । तर, शारीरिकरुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकेको सवारी साधन प्रयोग गर्न सकिने छ ।
‘मौन अवधि भनेको एक प्रकारले अघोषित कफ्र्यु जस्तै हो । भेला भएर मत माग्न वा निर्वाचन विरोध कुनै पनि खालका काम गर्न पाइदैन । भोजभतेर गर्न पाइदैन । भएको पाइएमा कारबाही हुन्छ’ पत्रकार सम्मेलनमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने । २० गते बुधबार मध्यरातबाट गाडी चल्न पनि बन्द हुने छ ।
‘दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा अन्य खालका जस्ता सुकै गाडीहरु पनि बुधबार मध्यरातबाट चल्ने छैनन् । बिहीबार मतदान सकिएपछि अर्थात पाँच बजेपछि मात्रै चल्ने छन्’ प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । उम्मेदवार, पत्रकार, पर्ववेक्षक, अनुगमनकर्ता र सरकारी अधिकारीले प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिएका गाडीहरु मात्रै चलाउन पाउने छन् ।

Comments

About the author

चितवन पोष्ट