गृह » झण्डै पाँच हजार सुरक्षाकर्मी परिचालन 
समाचार समाज

झण्डै पाँच हजार सुरक्षाकर्मी परिचालन 

रामकुमार श्रेष्ठ
कावासोती । नवलपरासी नवलपुर जिल्लामा २१ मंसिरमा हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अन्य जिल्लाको तुलनामा नवलपुरमा निर्वाचन विरोधी गतिविधि कमै भए पनि नवलपुरमा हवाई, पैदल, स्कटिङ, मोबाइल गस्तीलगायतका गस्ती बढाइएको छ । नवलपुरमा दुई हजारको हाराहारीमा निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।
नवलपुरमा रहेका ११२ मतदान स्थल र २५८ वटा मतदान केन्द्र मध्ये १२ स्थानलाई अतिसंवेदनशील, ३८ स्थानलाई संवेदशील र बाँकीलाई साधारणको रुपमा वर्गीकरण गरिएको छ । उक्त क्षेत्रमा सोही अनुसारका सुरक्षाकर्मी खटाइएको मरासिनीले बताए । नवलपुरमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार तहका सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान स्थलको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र चौथो तथा अन्तिम घेरामा नेपाली सेना गरी चार तहको सुरक्षा व्यवस्था हुने छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले नवलपुरको सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेको बताए । निर्वाचनको सुरक्षाका लागि रातको समयमा पनि गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए ।
त्यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको जिल्लामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नवलपुर जिल्लाको तुलनामा अझ शान्त मानिएको पश्चिम नवलपरासीमा दुई हजार ८८५ जना सुरक्षाकर्मी खटाइएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मतदान स्थलको सुरक्षा बुझ्नका लागि आफू पनि मतदान स्थलको निरीक्षणमा गएका थिए ।
उनले पश्चिम नवलपरासीमा म्यादी प्रहरी एक हजार १४३ जना, नेपाल प्रहरी ७०० जना, सशस्त्र प्रहरी ४०० जना र नेपाली सेना ६४२ जना गरी दुई हजार ८८५ जना सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
पश्चिम नवलपरासीमा १२० वटा मतदान स्थल र २३७ वटा मतदान केन्द्र रहेकोमा दुई मतदान स्थल अतिसंवेदनशील, ५६ वटा संवेदशील र बाँकी सामान्य भनेर वर्गीकरण गरिएको छ ।
निर्वाचन स्थलमै सोमबार नै सुरक्षाकर्मी पुगिसकेको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।
अतिसंवेदनशील मतदान स्थलमा १५ म्यादी र १० जना नेपाल प्रहरी मतदान स्थलमा खट्ने भने भने संवेदनशील स्थलमा ५ र म्यादी र ५ जना नेपाल प्रहरी खटिने छन् भने सामान्य भनेर वर्गीकरण गरिएको मतदान स्थलमा ५ जना म्यादी र ३ जना नेपाल प्रहरी परिचालन गरिने छ ।
अधिकांश मतदान स्थलमा
निर्वाचन सामग्री पुग्यो
जिल्ला निर्वाचन कार्यालय नवलपुरले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री सम्बन्धित मतदान स्थलमा पठाएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कर्मचारीहरु सोमबार अबेरसम्म मतदानमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुसँग निर्वाचन सामग्री पठाउनका लागि व्यस्त देखिन्थे । नवलपरासीको नवलपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेका छन् । प्रदेशसभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र नंं १ मा ८ जना र निर्वाचन क्षेत्र नं. २ मा १२ जना गरी २० जना चुनावी मैदानमा छन् ।
त्यस्तै ४ प्रदेशसभा सदस्य पदका लागि १ ‘क’ र १ ‘ख’ मा १०÷१० जना र २ ‘क’ र २ ‘ख’ मा ११÷११ जना गरी ४२ जना चुनावी मैदानमा छन् । नवलपुरमा ११२ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्र रहेका छन् । ती मध्ये १२ स्थानलाई अतिसंवेदनशील, ३८ स्थानलाई संवेदशील र बाँकीलाई साधारणको रुपमा वर्गीकरण गरिएको छ ।
जिल्लामा रहेका सबै मतदानस्थलमा पुग्ने गरी मंगलबार सा“झसम्ममा निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्र र मतदान स्थलका मतदान अधिकृतलाई हस्तान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका निर्वाचन अधिकारी भेषराज घिमिरेले बताए ।
यस्तै निर्वाचनमा खटिने कर्मचारीहरु पनि मंगलबार नै आफ्नो मतदान स्थलतर्फ लागेको जनाइएको छ । नवलपुर क्षेत्रमा दुई हजार ६० कर्मचारी परिचालन गरिएको छ । नवलपुरमा रहेका २ लाख २१ हजार ७१४ मतदाताले मंसिर २१ गते हुने निर्वाचनमा मतदान गर्नेछन् ।
मतदान स्थलमा खटिएका कर्मचारीहरुले आज मंगलबारबाट मतदाता परिचयपत्र वितरण गर्न सुरू गर्ने घिमिरेले जानकारी दिए । त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पनि सोमबार नै मतपत्र लगायतका निर्वाचन सामग्री मतदान स्थलमा पठाइएको छ ।
पश्चिम नवलपरासीमा १२० वटा मतदान स्थल र २३७ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा ५ देखि ८ जना कर्मचारी खटाइएको छ । यहाँ निर्वाचनका लागि जिल्ला भरी दुई हजार ५४ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी दीपक पौडेलले बताए ।
पश्चिम नवलपरासीमा दुई लाख ८ हजार २३७ जना मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका २ पद र प्रदेशसभा सदस्यको ४ पदका लागि गरी ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । २ प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ मा १५ जना र निर्वाचन क्षेत्र नं. २ मा ११ जना गरी २६ जना चुनावी मैदानमा छन् ।
त्यसैगरी प्रदेश नं. ५ को प्रदेशसभा सदस्य हुनका लागि ४ पदका लागि ६३ जना चुनावी मैदानमा छन् । पश्चिम नवलपरासीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ‘क’ मा १४ जना, १ ‘ख’ मा १३ जना, २ ‘क’ मा १७ जना र २ ‘ख’ मा १९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
सोमबार अवेरसम्म निर्वाचन क्षेत्र नंं १ को अधिकांश मतदान स्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेको र २ का केही स्थान बाहेक समग्रमा मतदान सामग्री सहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको पश्चिम नवलपरासीका जिल्ला निर्वाचन अधिकारी दीपक पौडेलले बताए । केही मतदान स्थलमा भने मंगलबार बिहानसम्ममा कर्मचारी पुग्ने र मंगलबारदेखिनै मतदाता परिचयपत्र वितरण गर्न र मतदानका लागि मतदान स्थल निर्माण गर्ने काममा खटिने छन् ।

 

Comments

About the author

चितवन पोष्ट