गृह » राष्ट्रिय सेवा दलको दीक्षान्त
समाचार समाज

राष्ट्रिय सेवा दलको दीक्षान्त

कावासोती । राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालय हात्तीखोरमा सञ्चालन भएको तालिममा सहभागी सिंस ४४ औं जुनियर डिभिजन क्याडेट छात्रछात्राहरुको सोमबार दीक्षान्त गरिएको छ ।
नवलपरासीको हात्तीखोरमा भएको अन्तिम दीक्षान्त कवाजमा ५२९ जना क्याडेट छात्रछात्राहरु सहभागी थिए । उनीहरुलाई प्रमुख अतिथि नेपाली सेनाका रथी पूर्णचन्द्र थापा बलाधिकृतले दीक्षान्त गरेका हुन् । अन्तिम दीक्षान्त कवाजमा सहभागी क्याडेट छात्रछात्राहरुले कवाज प्रदर्शनीसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
सो क्रममा उत्कृष्ट विद्यालय, उत्कृष्ट क्याडेट छात्रछात्राहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक रविन्द्र क्षेत्री, नवलपरासी वर्दघाट सुस्ता पूर्वजिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीलगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा प्रमुख अतिथि नेपाली सेनाका रथी पूर्णचन्द्र थापा बलाधिकृतले तालिममा सहभागी क्याडेट छात्रछात्राहरु विपद् व्यवस्थापनसहित राष्ट्रलाई आवश्यक परेको समयमा योगदान गर्न तयार रहनुपर्ने बताए । तालिमको क्रममा सिकाइने सिप र ज्ञानलाई व्यवहारमा परिणत गर्न सकेको खण्डमा राष्ट्र र समाजलाई समेत फाइदा पुग्ने हुँदा समाज परिवर्तनको लागि लागि पर्न उनले आग्रह गरे ।
विसं २०२२ सालमा स्थापना गरिएको राष्ट्रिय सेवा दलले हाल ७६ जिल्लाका १६५ विद्यालयका ६ हजार विद्यार्थीहरुलाई तालिम प्रदान गरिरहेको छ । एक सय दिन लामो यो तालिममा ७९ दिनको संस्थागत तालिम र २१ दिनको सैन्य तालिम सञ्चालन हुन्छ । जुनियर र सिनियर डिभिजनमा क्याडेट छात्रछात्रहरुलाई तालिम सञ्चालन हुने गर्छ । २१ दिने सैन्य तालिम पूर्वीतालिम शिक्षालय, मध्य तालिम शिक्षालय र पश्चिम तालिम शिक्षालय गरी तीन स्थानमा सञ्चालन हुन्छ । सिनियर डिभिजन तालिम मध्य तालिम शिक्षालय हात्तीखोरमा मात्रै सञ्चालन हुन्छ ।
राष्ट्रिय सेवा दलले ४३ औं सिसं सम्म २५ हजार २० जना जुनियर क्याडेट र १२ औं सिसंसम्म १ हजार ८१८ जना सिनियर क्याडेट छात्रछात्रा गरी जम्मा २६ हजार ८३८ जना क्याडेट छात्रछात्रहरुलाई दीक्षान्त गरिसकेको छ ।
पहिलो चरणको तालिमको दीक्षान्त समारोह सम्पन्न भएपछि मंसिर २३ बाट अन्य विद्यालयका जुनियर डिभिजनका क्याडेट छात्रछात्राहरु शिक्षालयमा २१ दिने सामूहिक क्याम्पको लागि आउनेछन् ।

Comments

About the author

चितवन पोष्ट