गृह » अपाङ्गमैत्री संरचनामा ध्यान देऊ
सम्पादकीय

अपाङ्गमैत्री संरचनामा ध्यान देऊ

‘कोही नछुटुन् दिगो विकासको नारा : अपाङ्गतामैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने मूल नारासहित मंसिर १७ अर्थात् डिसेम्बर ३ मा २६ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस नेपालमा पनि विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा मनाएका छन् । यो दिवस मनाइरहँदा अपाङ्गता भएका व्यक्तिहरुका गुनासा र माग अझै सम्बोधन हुन नसकेको पाइएको छ । नेपालको संविधानमा हरेक सरकारी कार्यालय, भवन र बाटाहरु अपाङ्गमैत्री हुनुपर्ने प्रावधान छ । तर, चितवनलगायत अधिकांश जिल्लाका सरकारी कार्यालयहरु अझैसम्म अपाङ्गमैत्री हुन नसकेका गुनासाहरु आइरहेका छन् । पुराना भवनमात्रै नभई नयाँ बनाइएका सरकारी कार्यालयसमेत अपाङ्गमैत्री हुन नसकेका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको छ । सरकारी कार्यालयहरु अपाङ्गमैत्री नहुँदा थुप्रै अपाङ्गता भएका मानिसहरु प्रत्यक्ष रुपमा कार्यालयको पहुँचसम्म पुग्न नसकेका दृष्टान्तहरु थुप्रै छन् । यस्ता व्यक्तिहरु सरकारी सेवासुविधाबाट समेत वञ्चित हुनु परेको गुनासा बढिरहेका छन् । सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएका मात्र होइनन्, सरकारले दिने भनिएको पाँच प्रतिशत आरक्षणसमेत व्यावहारिक र प्रभावकारी रुपमा आउन सकेको छैन । अपाङ्गता भएकालाई सेवासुविधा लिन सहज बनाउने लक्ष्यअनुसार सरकारले केही वर्षअघि अपाङ्गमैत्री भवन बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । अपाङ्गता भएकाहरुका लागि यो दुःखको विषय हो ।
सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकाको समस्या सम्बोधन हुन सकिरहेको छैन । चितवनमा शिक्षा कार्यालय, जिल्ला अदालत, वन, नापी, मालपोत, जिल्ला विकास समितिलगायतका दर्जनौँ सरकारी कार्यालय अझै पनि अपाङ्गमैत्री बन्न सकेका छैनन् । भरतपुर महानगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने पहिलो तल्लासम्म अपाङ्गता भएकाहरुको पहुँच सुनिश्चित गरिएको छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुद्वारा आयोजित विभिन्न कार्यक्रमहरुमा यससम्बन्धी थुप्रै बहस तथा अन्तक्र्रिया गरी सरकारी कार्यालयहरु अपाङ्गमैत्री बनाउने विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदासमेत अझैसम्म सम्बोधन हुन सकिरहेका छैनन् । चितवनका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएकै कारण उनीहरुलाई भेटघाट, सरकारी सेवासुविधा तथा औषधि उपचार गराउनसमेत निकै अप्ठ्यारो भइरहेको छ । आइतबार अपाङ्गता दिवस मनाउने क्रममा सबै कार्यालयहरुले अनिवार्यरुपमा अपाङ्गमैत्री संरचना गर्न सुझाइएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्यांक सरकारसँग पनि छैन । नेपािलमा करिब ३० लाख व्यक्ति अपाङ्गता भएका व्यक्तिहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ । ०६८ को जनगणनाअनुसार कुल जनसंख्याको दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ, यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले भने १३ प्रतिशतसम्म अपाङ्गता भएको दाबी गर्दै आएका छन् । चितवनमा अपाङ्ग व्यक्तिहरुको संख्या १२ हजार रहेको अपाङ्ग समाज चितवनले जनाएको छ । चितवनमा ५० सालमा स्थापित अपाङ्ग समाज, नेत्रहीन संघ, बहिरा संघ, सुस्तमनःस्थिति कल्याण केन्द्र, बौद्धिक अपाङ्ग अभिभावक संघ, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, सुषुम्ना नाडी घाइतेमैत्री समाजलगायतका संस्थाहरु अपाङ्गता भएकाहरुको हकहितका लागि क्रियाशील छन् । अपाङ्गता भएकाहरुका लागि धेरै संस्थाहरुले संघर्ष गर्दा पनि सरकारी कार्यालयहरु अपाङ्गमैत्री हुन नसक्नु विडम्बना नै मान्नुपर्छ । पछिल्लो समयमा विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा सार्वजनिक यातायातका साधनहरु अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको छ । नयाँ संविधानमा पनि यो विषयले प्राथमिकता पाएको छ । साङ्गबराबरको सेवासुविधा अपाङ्गता भएका व्यक्तिहरुले पनि पाउनैपर्छ । हरेक स्थानीय निकायले हरेक सरकारी कार्यालय अपाङ्गमैत्री बन्ने विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट