गृह » इतिहासको सम्मान : मानवताको पूजा
विचार

इतिहासको सम्मान : मानवताको पूजा

–धनराज गिरी
२०७४ साल मंसिर महिना ५ गते मंगलबार । यसै पत्रिकामा प्रकाशित मेरो लेखले पाठकहरुको निकै माया पायो । सामान्य मानिस हुँ, आफ्नो कामको सकारात्मक मूल्याङ्कन हुँदा खुसी लाग्यो नै । सकारात्मक चिन्तन मेरो खेलनीको उद्देश्य हो । मेरो परिचय नै अलि बेग्लै बन्न गयो । प्रायः अरुसित घुलमिल नहुने पात्रहरु मसित घुलमिल हुन थाले । मेरो सकारात्मक चिन्तन अझ सबल हुन गएझैँ लाग्यो, त्यसो त मानव जीवनमा आग्रह र पूर्वाग्रहको प्रभाव नहुने होइन । म सकेसम्म साक्षी भाव राखेर सापेक्ष नहुने पर्यत्न गर्दछु । धज्जी उडाउन मलाई पनि आउँछ, तर यो सही बाटो होइन । त्यही भएर म ‘उज्यालो कहाँ छ ?, सुगन्ध कहाँ छ ?’ भनेर खोज्ने गर्दछु । आज फेरि म इतिहासलाई फर्केर हेर्ने जमर्को गर्दैछु ।
पूर्वी चितवन, सौराहा, बछौली, झुवानी, रत्ननगर, पदमपुर, पिठुवा आदि मेरो आफ्नो क्षेत्र । त्यसैले म यही क्षेत्रलाई बढी मह¤व दिन्छु । त्यसमाथि नेपाल माध्यमिक विद्यालय, रत्ननगर तत्कालीन नेपाल हाइस्कूल मेरा लागि पवित्र तीर्थधाम, दोहोरो । २०२७ साल पुष १९ गते ६ कक्षामा भर्ना भएर यहीँ ५ वर्ष अध्ययन गरेँ । इतिहास साक्षी छ । रत्ननगर साक्षी छ । गुरूआमा नीरकला शर्मामात्र होइन गुरूदेव प्रेमराज लेखकज्यू, रामचन्द्र अधिकारी, दीपकभक्त उपाध्याय, ईश्वरी कट्टेल, धर्मराज अधिकारी, राधाकृष्ण पण्डित, थीरनाथ अधिकारी, लक्ष्मीकान्त अधिकारी अझै यही धरतीमा हुनुहुन्छ । डा. विजय न्यौपाने मेरो इमिडियट जुनियर फस्ट ब्वाई, उसलाई पनि हाम्रो इतिहास थाहा छ । कहानी यत्तिमै सकिन्न । २०४९ साल माघ १९ गतेदेखि २०५५ साल भाद्र २ गतेसम्म म अर्थशास्त्र, नेपाली र अंग्रेजीको प्रमाणपत्रधारी गणित शिक्षकको रुपमा यही सरस्वतीको मन्दिरमा झुवानीबाट सरुवा भएर आएँ । अनि मेरो वस्ती सरसित दोस्ती भयो । अंग्रेजीका पण्डित, त्यो कालखण्डका एउटा नमुना गुरू । ए वस्ती, तिमीलाई मैले कहिल्यै पनि गाली गर्न पाइन, मेरा पनि गुरू, रघुनाथ आचार्यको गुनासो सायद गुरूदेव निमित्त प्रअ हुनुहुन्थ्यो । अतिकडा गुरूका रुपमा उहाँको परिचय बनेको थियो । साह्रै इमान्दार र नियमित शिक्षकको रुपमा खेमराज वस्ती सरको नाम लिइन्थ्यो । वस्ती सरलाई हेरेर घडीको सुई मिलाए हुन्छ, मानिसहरु यसरी मूल्याङ्कन गर्थे । वस्ती सरको इमानदारी देखेर म पनि नतमस्तक हुन्थेँ । यहाँसम्म इमानदार कि बिहानीको कक्षा सञ्चालन भएको बेला सरबाटै कृष्णपुरबाट हिँडेका दाजी बिजुलीको खम्बा गाड्ने खाडलमा परेर झन्नै ज्यान गुमाएका । यही स्कुलमा दीर्घसेवा गरी अहिले घरमा आराम गरिरहनु भएको छ ।
पूर्ण र वस्ती जोडीको तारिफ दुनियाँले गरेको इतिहासको म स्वयम् साक्षी छु । सहकर्मी भएर काम गरेको ती दिनहरु सम्झिँदा अहिले रोमाञ्चित हुन्छु । यस्ता इमान्दार राष्ट्रसेवकहरुलाई समाजले सम्झिनुपर्छ र इतिहासलाई सम्मान गर्नुपर्दछ । म पनि वस्ती सरजस्तै अंग्रेजी टिचर हुन्छु भनेर सपना देख्ने चेलाचेली थुप्रै थिए । दाजी खेमराज वस्तीका नाममा आजलाई यत्ति नै, हरेक सार्वजनिक स्कुलमा एक दुई वस्ती सर हुने हो भने जनताले महँगो शुल्क तिरेर बच्चा पढाउन पर्ने थिएन । प्रअ पूर्ण दवाडी र नारायणी उच्च मावि भरतपुरकै अनुयायी धेरै धेरै सार्वजनिक विद्यालयहरु हुन सके हाम्रो देशको शैक्षिक जगतको नक्सा अर्कै हुने थियो । भाइ पूर्ण दवाडी मेरो प्रेमी तिमीलाई सलाम ! तिम्रो इतिहास पनि लेख्ने छु म ।
आज यो लेखमा म खेमराज वस्ती पछि खेमलाल लामिछानेलाई सम्झिन चाहन्छु । दाजुपछि मामाश्री । मामाश्री खेमलाल लामिछानेज्यूको जीवनकथा पनि बडो शिक्षाप्रद छ । भारतमा गएर केही वर्ष जागिर खाएर फर्किएपछि उहाँ ‘सन्झोट’ पदमपुरमा स्थायी बसोबास गर्न पुग्नुभयो । आफ्नो पिताका एकमात्र सन्तान मामाश्री । आचार्य परिवार र लामिछाने परिवारको संयुक्त गठबन्धन । अझै पनि यो आत्मीयता कायम छ । हक्की र कडा स्वभावका मामाश्री बडा परिश्रमी र अनुशासित । साहिलो पुत्ररत्न जीवनाथ लामिछाने अर्थात् ‘सरसर्ती सन्सार’का लेखक जीवा लामिछानेको उद्यम र वौद्धिक कुशलताले लामिछाने परिवार सबैको नजरमा पर्न गयो । सरस्वती माताले मात्र होइन लक्ष्मी माताले पनि भाइ जीवालाई आर्शीवाद दिन अल्छी गरिनन् । सोभियत संघको विघटनले दिएको अवसरलाई सदुपयोग गरी जीवा र खेम जोडीले मिनी चमत्कार गरे । कुल दीपक बने यी जोडी । जीवा लामिछाने साहित्यका पारखी ।
‘टन्न दही खाएपछि मोही चाहिँदैन
पुगिसरी आएपछि कोही चाहिँदैन’
औसत धनी मानिसहरुको पद र शाक्तिको मदमा चुर्लुम्म डुब्नेहरुको प्रवृत्ति देखेर मैले यो शेर लेखेको थिएँ । तर यो शेर भाइ जीवामा लागू भएन । उनको जीवनदर्शन : म सानो छँदा यो बाटोमा हिँड्दा हजुरहरुमध्ये कसैले मेरो हात समाएर बाटो कटाइदिनु भएको थियो होला । मलाई कपुरी ‘क’ देखि यहाँसम्मको उच्च शिक्षा प्राप्त गर्ने अवसर दिने यही समाज हो । यही माटोको एउटा फूल हुँ म । मैले आज जे जति आर्जन गरेँ त्यसमा यो समाजको, मेरो स्कुलको, मेरो देशको पनि हक लाग्छ । त्यसैले म केही गर्न चाहन्छु । धेरैले बोल्छन्, तर गर्दैनन् । जीवा कम बोल्छन् र धेरै गर्छन् । नेपाली साहित्य साक्षी छ । चितवन साहित्य परिषद्को भवन साक्षी छ । पदमश्री र खेमलाल प्रतिभा पुरस्कार साक्षी छ । मामाश्री समाजसेवी भएर नै जीवामा पनि त्यो गुण स¥यो । मामाश्री स्वयम् खटेर नेपाल माध्यमिक विद्यालयको चौतर्फी विकासमा सहयोग पु¥याएको इतिहास देख्ने यही लेख्ने मान्छे हो । मन्दिर निर्माण, अस्पताल निर्माण, बाटोघाटोको सुधार आदिमा पनि मामाश्री खेमलाल लामिछानेको देन अनुकरणीय छ ।
‘रसियन बा’ मामाश्रीको विशिष्ट परिचय । गुणराज पाठक बुआको अतिप्रिय पात्र । भाइ बलराम दंगालले एक दिन सोधेछन्– ‘बुबा आखिर यो धन के रहेछ ?’ मामाश्रीले सहज भावमा उत्तर दिनुभएछ, ‘छोरा बले, नून र धन उस्तै हो । ठीक्क हुनुपर्दछ । दुनियाँको नजरमा धनाढ्य बूढा, उनको सादगी हेर्न लायक । नेपाल माध्यमिक विद्यालयको गेट र पुस्तकालय निर्माण गर्दा मामाश्री आफँै खट्नुभयो । समाजसेवा गरेपछि मानिसलाई पदको पनि आशा हुन्छ । तर हाम्रा मामाश्रीलाई फगत् कामसित मतलब छ । नेपाल माध्यमिक विद्यालयको सञ्चालक समितिको अध्यक्ष पदमा रहेर काम गर्न अनुरोध गर्दा उहाँले साफ इन्कार गर्नुभयो । एउटा औतारी बूढा । चप्पल पनि नलगाई खाली खुट्टा टाँडीदेखि पदमपुरसम्म पैदल । रत्ननगरको अनुहार उज्यालो पार्नमा खेमलाल– हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले खेलेको भूमिका जगजाहेर छ ।
यस संस्थाको संस्थापना कालदेखि नै उपाध्यक्ष पदमा रहेर मैले पनि केही समय दिने अवसर पाएको छु । अहिले म लामिछाने परिवारकै एउटा सदस्य बनेको छु । यतिखेर मामाश्रीको अनुहार झलझल्ती सम्झिरहेछु । माइजू हरिकला लामिछाने भन्नुहुन्छ– ‘भाञ्जा बाबु, साहिलो र तपाईंको जोडी असाध्यै मिलेको छ । धेरै धेरै नाम कमाउन, बेलामौकामा मलाई हँसाउन आउनू, तपाईं हँसाउन सिपालु हुनुहुन्छ ।’ माइजूमा म आफ्नै आमा देख्छु । मामाश्रीले जुन संस्कार सिकाएर आउने दिनहरुमा रत्ननगर र नेपाल उच्च माध्यमिक विद्यालयमात्र होइन, एनआरएनमार्फत् भाइ जीवा लामिछानेले नेपालकै अनुहार उज्यालो बनाउन केही गर्नेछन् । मा….थिबाट मामाश्रीले भन्नुहुनेछ, स्याबास् साहिंला ! प्रणाम मामाश्री ।

Comments

About the author

चितवन पोष्ट