गृह » तेस्रो प्रतिपक्षको भावी अहं भूमिका
विचार

तेस्रो प्रतिपक्षको भावी अहं भूमिका

रविकिरण निर्जीव
वाम र लोकतान्त्रिक गठबन्धनले अब नेपाली राजनीतिक आकाशमा लागेको तुँवालो फाटेर स्थायी सरकार, प्रबल प्रतिपक्ष र समृद्धिको घाम लाग्छ कि भन्ने आशा जगाएको छ । तर त्यो आशामा तिनको अस्वस्थ प्रतिस्पर्धात्मक द्वन्द्व मच्चिएर झन् अस्थिरता बढेर देश शक्ति राष्ट्रहरुको कोपभाजन हुने हो कि भन्ने आशंका पनि उठेको छ । आशा र आशंका एकैपल्ट, एकै ठाउँमा जन्मनु कस्तो आश्चर्य ! यो आशंकाको स्रोत दुई गठबन्धनबीचको पारस्परिक आरोप–प्रत्यारोपहरू हुन् । चुनावपछि देश यूरोप, अमेरिका र अष्ट्रेलियाजस्तो दुई दलीय राज्यशक्तिमा रुपान्तरित हुन्छ कि भन्ने सन्देहसमेत उठ्ने गरेको छ । राज्य सधैँ अशान्ति र अस्थिरतामा जाकिनुभन्दा पालैपालो दुई दलको शासन हुनु उपयुक्त हो भन्ने मनसाय पनि उठ्ने गरेको छ ।
बेलाबेला बहुमतीय सरकार भए पनि त्यो अकुशल र उत्तरदायित्वहीन हुनु, अनुभव र ज्ञानहीन प्रतिपक्ष हुनु, पार्टी बहुमतमा हुन नसक्दा गठबन्धन सरकार भएर बारबार सरकार बदलिइरहनु, यो बदलावमा नेताहरुलाई आर्जन र सुखभोग गर्ने अवसर मिल्नु, भ्रष्टाचार र अकर्मण्यता बढ्नु, जनता पार्टी–पार्टीमा विभाजित भएर उदात्त चिन्तनका नभइ विचलनहरुप्रति मौन हुनु, स–साना पार्टीहरु पनि छूद्र स्वार्थले आक्रान्त हुनु आदि विसंगतिहरु बहुदल र गणतन्त्रका दुर्गुण भएर देश गरिबी र पराधिनताको भड्खारोमा खस्यो । नेताहरुमा कर्तव्यबोध जाग्रत भएरभन्दा पनि, पार्टीहरुमा ‘होस’ आएरभन्दा पनि आ–आफ्ना साख र प्रभाव बचाउने, लाज र कर जागृत भएर माके र एमाले पार्टीहरुमा चुनावी गठबन्धन र पार्टी एकीकरण गर्ने चेष्टा आयो । उनीहरुको यो चेत सक्कली हो भन्ने विश्वास कसैलाई नभए पनि र यो गठबन्धनपश्चात् कांग्रेस र राप्रपामा आएको गठनबन्धन चेत पनि नक्कली हो भन्ने जनसाधारणको अनुभूति भए पनि ती गठबन्धनहरु आफ्ना उद्देश्य क्रियान्वयनमा उत्रिए भने जनता त्यसलाई साथ दिने मनस्थितिमा आएका छन् । यो अत्यन्त नवीन र सुन्दर पक्ष एवम् परिस्थिति हो ।
चुनाव वाम वा लोकतन्त्र जुनसुकै गठबन्धनले जितोस्; त्यसले बहुमत ल्याउनुपर्छ; चुनाव लोकतन्त्र वा वाम जुनसुकै गठबन्धनले जितेर आए पनि त्यसले बहुमत ल्याउनुपर्छ; दक्षिणको पराधिनतालाई घटाएर उत्तरको ढोका खोल्नुपर्छ; बहुमत ल्याउनेले सरकार बनाउनुपर्छ; प्रतिपक्षमा बस्ने प्रजातान्त्रिक अनुशासन र संस्कारको हुनुपर्छ; देशलाई समृद्धशाली बनाउन ती दुवैले काँधमा काँध मिलाउनु पर्छ; अरु साना तथा पूँजीवादी, सामन्तवादी, राजावादी, धर्मवादी, विद्रोही, क्रान्तिकारी सबै पार्टीहरुले राज्यपक्ष र प्रतिपक्षका गलत कामहरुको जोडदार विरोध गर्नुपर्छ र उत्कृष्ट प्रतिपक्षका रुपमा असल कामहरुको हार्दिक समर्थन गर्नुपर्छ ः यही हो अबको राज्याकांक्षा र जनचाहना ।
सत्तापक्ष र प्रतिपक्ष आलोपालो गरुन् तर काले–काले मिलेर भाले खाने कुरा नगरुन् । सत्ताको घोडा चढ्ने हतार र अधैर्यताले प्रतिपक्ष ‘डेढ महिने’, पूर्वसांसद अवरुद्ध गर्ने दुस्प्रयासमा नलागोस्, बन्द नगरोस्, चक्काजाम नगरोस्, सडकमा कालो धुँवा नउडाओस् । सत्तापक्ष पनि आफ्नो शासन लम्ब्याउन बिचौलिया, मुन्द्रे र मण्डलेहरु पोसेर तिनलाई बोकी प्रतिपक्षप्रति अरिङ्गाल नलगाओस् ।
छोरीलाई वेश्यावृत्ति र छोरालाई मदिरासेवनबाट बाबुले छुटाएर सदाचारमा ल्याउने गरेझैँ भ्रष्ट दलनायक र सत्तानायकहरुलाई सदाचारमा कसले ल्याउने ? कसरी ल्याउने ? पञ्चतन्त्रमा गाउँफर्कले निर्वाचित भ्रष्टहरुलाई पत्याह्वान् गर्न सक्ने प्रावधान थियो तर त्यो कसैमाथि पनि कार्यान्वयन भएन, यो लोकतन्त्रमा पनि आफ्नो पार्टीको विजित नेतालाई कारबाही गर्ने वा हटाउने प्रत्याह्वान्जस्तो प्रावधान छ, तर त्यो पनि कहिल्यै सार्थक हुँदैन । अध्यक्ष तथा महासचिवहरु त्यसो गर्दैनन् । जनताले जसरी–जसरी नेता चुने ऊ अकर्मण्य भएमा त्यसैगरी प्रत्याह्वान् गर्न सक्ने प्रावधान संविधानमा किन बनेन ? किन बनेनभन्दा पनि आफैँलाई प्रत्याह्वान् गर्ने कानुन सांसदहरुले बनाएनन् । बनाउनुपर्छ, नेताहरु बारम्बार अकर्मण्य र देशप्रति जवाफदेहीहीन भएपछि अब त्यो प्रत्याह्वान्को प्रावधान बन्नुपर्छ । बनेन भने यसको निर्माणका लागि उत्कृष्ट प्रतिपक्षले किन ‘पत्थर आन्दोलन’ नगर्ने ? वा तेस्रो प्रतिपक्षले किन विद्रोह नगर्ने ?
यी ‘वाम’ र ‘काङ्राप्र’ गठबन्धनको संकल्पले आकाशबाट सम्पन्नताको फल पातालमा खस्ला भनेर पिसापको न्यानोमा बसिरहन चाहँदैनन् जनताहरु । झुटो आश्वासनमा झुण्डिरहन पनि चाहँदैनन् उनीहरु, संकल्पको मूर्तिकरण चाहन्छन् । सग्ला उखुका डाँठ प्रतीत हुने चुनावी घोषणा–पत्रका छोक्रा हेरेर पनि बस्न चाहँदैनन् जनता–जनार्दनहरु । उनीहरु रुइको न्यानो चाहन्छन्, रसिला उखुका ढाँक चाहन्छन् ।
चुनाव सकिनेबित्तिकै गठबन्धन पार्टनरबीचमा भागबण्डाको गाँड कोतरा–कोतर भएर तीन महिना व्यतित भएको पनि हेर्न चाहँदैनन् जनताहरु र राज्यको मेसिन चलाउन तीन बीस टेक्निसियन चाहिएको पनि देख्न चाहँदैनन् । सालोलाई किचनको डाडु र साढुलाई आँगनको झाडू दिइएको कुरा पनि सहन सक्तैनन् जनमानसहरु ।
वाम आयो भने अधिनायकवाद आउँछ, काङ्ग्रेस आयो भने नेपालभरि भारत छाउँछ भन्ने चुनावी ‘थुकाथुक’प्रति पनि बुद्धिवादीहरुको खासै सरोकार छैन । बरु यी दुवै पहिलेको ‘पश्चिम बङ्गालको ज्योतिवसु’, चोग्याल र लेण्डूप बन्छन् कि भन्ने भय छ । यस्तो हुने सङ्केत देखिइहाल्यो भने तेस्रो प्रतिपक्ष ‘माओत्सेतुङ’ बनेर ‘च्याङकाइसेक र जापानको विरुद्ध’ एकैपल्ट जुध्न तयार हुनुपर्छ ।
नेपालको स्थिरता, शान्ति र सम्पन्नताको निमित्त तेस्रो प्रतिपक्ष कहाँ–कहाँ छन्, तम्तयार हुने बेला आएको छ । उनीहरु पनि गठबन्धित हुने बेला आएको छ, तेस्रो प्रतिपक्ष हुने बेला आएको छ । यसको पहल र नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले गर्ने बेला आएको छ ।

Comments

About the author

चितवन पोष्ट