गृह » बाँदरमुढे सम्झेर भावुक बने प्रचण्ड
प्रमुख समाचार राजनीति

बाँदरमुढे सम्झेर भावुक बने प्रचण्ड

दिपेन्द्र अधिकारी
माडी । १३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे घटनाको विषय सम्झेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक भएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुखद घटना हुँदा म परिवारसहित रोल्पाबाट दाङ झर्दै थिए, घटना सुन्ने बित्तिकै मैले ठूलो गल्ती गरियो भन्ने त्यति खेर नै महसुस गरेको थिएँ ।’ उनले यस घटना सम्झिदाँ निकै भावुक भएका थिए । तर, पनि उनले छिटै आफूलाई सम्हालेका थिए ।
घटना सुनेको साँझ खाना नखाएको र रात नसुतेको पनि प्रचण्डले भाषणको क्रममा सम्झिए । ‘अब सबै पूराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ, प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ ।’ माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए ।
चुनावी सभामा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डले चितवन र माडी क्षेत्रको विकासको सपना देखे बमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए । विराटनगरबाट सभामा सम्बोधनका लागि हेलिकप्टरमार्फत माडी आएका पूर्वप्रधानमन्त्री ओलीले नाकाबन्दीको समयमा ठोरी नाका र माडीवासीले देशलाई गुन लगाएको बताए । साथै उनले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र चुनावमा हुन सक्ने धाँधलीबाट सर्तक हुन कार्यकर्ताहरुलाई समेत आग्रह गरे ।
प्रचण्डलाई भोट माग्दै पाण्डेका सारथि
माडीमा भएको चुनावी सभामा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले प्रचण्डका लागि भोट मागेका छन् । ‘म पनि पाण्डे जस्तै ठेकेदार हुँ, देशको विकास गर्न पाण्डे होइन प्रचण्ड चाहिन्छ, नेता लामाले भने,‘विक्रम पाण्डे ठेकेदार हुन नेतृत्व लिन सक्दैनन् ।’ दुई धु्रवमा बाँडिएको गठबन्धनमध्ये आफूले देशको आवश्यकता अनुसार वाम गठबन्धन रोजेको र प्रचारमा लागेको उनले बताए । सो अवसरमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य विनितासिंह ठकुरी, राप्रपा प्रजातान्त्रिक निकट दलित संगठनका जिल्ला सदस्य दिलिप विक, कांगे्रस क्षेत्रीय समिति सदस्य प्रमोद पोखरेललगायतका २०० जना वाम गटबन्धनमा प्रवेश गरेका छन् ।
बाँदरमुढे पीडितसँग सम्झौता
नेकपा माओवादी केन्द्र र बाँदरमुढे घटनाका पीडितहरुबीच ३ बुँदे सम्झौता भएको छ । आइतबार पीडित परिवारका २९ जना सम्मिलित व्यक्तिहरु र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता गरेका छन् ।
घटनाका मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था सम्झौतामा उल्लेख छ ।
त्यस्तै घटनाका घाइतेहरुका लागि औषधि उपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार, नसक्नेलाई जीवनवृत्तिको व्यवस्था रहेको छ । चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् । बाँदरमुडे घटनास्थलमा मृतकहरुको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमूना सङ्ग्रहालय बनाउने लिखित सहमति भएको छ ।
साथै पीडित परिवारको आर्थिक क्षति, उपचार खर्च र बालबालिकाको शिक्षा खर्चको विषयमा माग सम्बोधनका लागि घटनापीडित परिवारबाट तीन जना, माओवादी पार्टीबाट तीन जना र एक जना नगरपालिकाको प्रतिनिधि रहने गरी समिति बनाइने भएको छ ।
बाँदरमुढेमा भव्य स्वागत भएपछि चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रचण्ड उत्साहित देखिएका छन् । पीडित एक, दुई परिवार बाहेक अन्य सबैले प्रचण्डलाई खुलेर स्वागत गरेका छन् । ‘हामी सम्झौताबाट खुसी छौं, पीडित परिवारका सदस्य सुदिप न्यूरेले भने, ‘पीडितहरुमध्ये हामी धेरैजसो सम्झौतामा सहमत छौं ।’ घटनामा ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए ।
केही पीडितको असहमति
चुनावको मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरमुढे घटनाका घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे सहमति भएकोमा आपत्ति जनाएका छन् ।
समझदारी गर्ने व्यक्ति घटनाका पीडितले गठन गरेको कार्यसमिति बाहिरका हुन् । माओवादीले लगातार घटना दबाउन खोजेको बताउँदै बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘चुनावको मुखमा फेरि तीनबुँदे समझदारी गराएर घटनालाई मत्थर पार्ने प्रयास भएको छ ।’
म अध्यक्ष हुँ । मलाई जानकारी हुनुपर्दथ्यो । तर, छलफलमै ल्याइएन । यो सहमति हुनै सक्दैन । मेरो आपत्ति छ । यसमा म खेद प्रकट गर्दछु ।’ अध्यक्ष न्यौपानेले थपे, ‘म आफू पनि वार्तामा बस्न चाहिरहेको थिएँ । पीडितको कुरा राख्न चाहन्थेँ । तर, यो नियोजितरुपमा पीडितहरुलाई नै विभाजितका लागि हो ।’ घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तै घाइतेमध्ये पनि अधिकांश माडीकै बासिन्दा थिए ।
समितिको अध्यक्षमा मुक्तिनाथ न्यौपाने, उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा भानु आचार्य, कोषाध्यक्षमा यमनाथ सुवेदी छन् । यस्तै सदस्यहरुमा लक्ष्मीकान्त घिमिरे, राधेश्याम भण्डारी, लक्ष्मी श्रेष्ठ, रोशन श्रेष्ठ, दुर्गामाया मगर छन् । तर, समितिमा रहेर न्याय र अधिकारको पक्षमा वकालत गरेका व्यक्तिलाई नै माओवादी केन्द्रका अध्यक्षले बिर्सेको आरोप अध्यक्ष न्यौपानेको छ ।
यसअघि पनि प्रचण्डले माडी महोत्सवको उद्घाटन गर्दै ०६९ सालमा ६० लाख राहत प्याकेज घोषणा गरे पनि पीडितले सो राहत अस्वीकार गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट