गृह » निर्वाचनको सम्पूर्ण तयारी सकियो
प्रमुख समाचार

निर्वाचनको सम्पूर्ण तयारी सकियो

–किशोर खनाल
भरतपुर । संघीय गणतन्त्र नेपालको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मुखैमा आइसकेको छ । यस ऐतिहासिक दिनको पर्खाइमा बसिरहेका छन् मतदाताहरु । दोस्रो चरणको निर्वाचनको मिति आउन तीन दिनमात्र बाँकी रहँदा मतदाताहरुमा एक खालको रुझान छाएको छ ।
जिल्ला निर्वाचन कार्यालय निर्वाचन कार्यालय भरतपुरले चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले भने, ‘मतदान अधिकृतहरु र सहायक मतदान अधिकृतहरुले ६६ प्रकारका निर्वाचन सामग्रीहरु बुझेका छन् । आज सोमबार मतपत्र बुझेर उनीहरु मतदान केन्द्रहरुमा पुग्छन् । टाढा क्षेत्र परेका मतदान अधिकृतहरुले आइतबार निर्वाचनका सम्पूर्ण सामग्री बुझेर आफू परेको केन्द्रहरुमा गएका छन् ।’ उनले अब भोट हाल्ने काममात्र बाँकी रहेको बताए ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरका अनुसार चितवन जिल्लामा ४०८ जना मतदान अधिकृतहरु र त्यतिकै संख्यामा रहेका सहायक मतदान अधिकृतहरु आज सोमबारसम्म सबै आफ्नो निर्वाचन केन्द्रहरुमा पुगेर मतदानको तयारी गर्नेछन् । प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत दुई जना कर्मचारी र दुई जना कार्यालय सहयोगी हुनेछन् । ४ जनासम्म स्वयंसेवक पनि खटिनेछन् । ‘मतदाताको संख्या हेरी बढीमा एउटा केन्द्रमा सुरक्षाकर्मीबाहेक ८ जना कर्मचारी हुन्छन्’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतबाट स्वयंसेवक छनौट हुनेछ ।’ चितवनमा यसपटक ४०८ मतदान केन्द्र र १६६ मतदानस्थल छन् ।
नेपाल सरकारको मातहतमा रहेका निजामति कर्मचारी, शिक्षकहरु र विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ । उनीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले केन्द्रमा खटिएर निर्वाचन सम्पन्न गराउन निर्देशनसहित नियुक्तिपत्र दिएको
छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट केन्द्रहरुमा पठाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र वितरण गर्ने छ ।
रत्ननगर १२ बाघदेवी आधारभूत विद्यालय जिरौना ‘ख’का मतदान अधिकृत भोजराज तिवारीले निर्वाचन कार्यालय भरतपुरबाट सम्पूर्ण निर्वाचनका सामग्रीहरु बुझेको बताए । उनले भने, ‘स्वस्तिक छापदेखि मतदाता परिचयपत्रसम्म ६६ प्रकारका सामग्री बुझिएको छ । भोलि (आज सोमबार) मतपत्र लिएर मतदान केन्द्रमा पुगिन्छ ।’ उनले भयमुक्त, निष्पक्ष र स्वच्छ निर्वाचन गराउन आफू लागिपर्ने बताए ।
मतदान केन्द्रमा गएपछि मतदान अधिकृतहरुले सर्वदलीय छलफल गर्नेछन् । मतदान केन्द्रको अवस्था हेरेर ३०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गर्नेछन् । १९ र २० गते मतदान अधिकृतले मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । पुराना मतदाताहरुले पुरानै परिचय देखाएर भोट हाल्नेछन् ।
निर्वाचनको मुखमा चितवनको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए । उनले भने, ‘सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ, एउटा बुथमा हातहतियारसहित १२ जनादेखि ४९ जनासम्म सुरक्षाकर्मी खटिनेछन् ।’ उनले पर्याप्तमात्रमा सिभिल प्रहरी पनि खटिने जानकारी दिए ।
‘बुथ भित्रको सम्पूर्ण जिम्मा नेपाल प्रहरीले लिन्छ, बाहिरको सम्पूर्ण जिम्मा सशस्त्र र नेपाली सेनाले लिनेछ’ प्रहरी प्रमुख थापाले भने, ‘यसपटक पहिलो घेरा, दोस्रो घेरा केही रहँदैन । भित्रको प्रहरीले र बाहिरको सेना र सशस्त्रले प्रभावकारी रुपमा सुरक्षा दिनेछ ।’ चितवन प्रहरीले संयुक्त सुरक्षाकर्मीहरुको कोर्डन सर्च एण्ड स्विप अप्रेसन जारी रहेको जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट