गृह » वाम गठबन्धन निकटका व्यवसायी भेटघाटमा
राजनीति

वाम गठबन्धन निकटका व्यवसायी भेटघाटमा

रत्ननगर । वाम गठबन्धन निकटका अगुवा व्यवसायीहरुको एक टोलीले निर्वाचनलाई लक्षित गरी ग्रामीण क्षेत्रमा रहेका व्यवसायीहरुसँग शनिबार भेटघाट गरेको छ ।
रत्ननगरका अगुवा व्यवसायीहरुको टोलीले ग्रामीण क्षेत्रका व्यवसायीहरुले झेल्नु परेको समस्या, उनीहरुले उम्मेदवारसँग गरेको अपेक्षाका बारेमा बुझ्न टोलटोलमा पुगेर भेटघाट गरेका हुन् । नेपाल राष्ट्रिय वाणिज्य संघले रत्ननगर, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले आयोजना गरेको कार्यक्रममा रत्ननगरका पुराना व्यवसायीहरुको सहभागिता रहेको छ । टोलीमा रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्षसहित कार्यसमितिका सदस्य तथा पूर्वअध्यक्षलगायत अन्य अगुवा व्यवसायीहरुको समेत सहभागिता रहेको छ । वाम गठबन्धनका उम्मेदवारहरुप्रति उद्योगी व्यवसायीको धारणा बुझ्न र उनीहरुका मुद्दालाई समष्टिगत गरी उम्मेदवारहरुलाई जानकारी गराउने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरका अध्यक्ष पुरु खनालले बताए ।
वाम गठबन्धनका उम्मेदवारहरुले रत्ननगरको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित चुनावी मैदानमा रहेकाले त्यसका बारेमा बुझाउन पसल र उद्योगहरुमै पुगेर व्यवसायीसँग भेटघाट गरिएको खनालले बताए । देशमा स्थिर सरकार भएमात्र उद्योग व्यापार फस्टाउने भन्दै वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमतको सरकार बनाउने सम्भावनालाई दृष्टिगत गरी गठबन्धनको चुवानी योजनाका बारेमा व्यवसायीलाई जानकारी गराउन कार्यक्रम गरिएको नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगरका अध्यक्ष निरज श्रेष्ठले बताए ।

Comments

About the author

चितवन पोष्ट