गृह » प्रचण्डको विजय : चितवनको गौरव
विचार

प्रचण्डको विजय : चितवनको गौरव

 हरिप्रसाद अधिकारी

चितवन हाम्रो प्रथम पहिचान र परिचय हो । हामीलाई कुनै अन्जान व्यतिmले गर्ने पहिलो प्रश्न तपाईं कहाँको ? भन्दा हामी गर्वका साथ चितवनको नाम लिने गर्दछौँ । यस नामसँगै हाम्रो शिर उच्च हुने गर्दछ अनि प्रश्नकर्ताहरु चितवनको नामसँगै धेरै विषयहरुमा घोत्लिन खोज्दछन् । उनीहरु प्राकृतिक सम्पदासँग चिनिन चितवनसँग साइनो गाँस्न चाहन्छन्, राजनीतिक पाठ पढ्न चितवन बुझ्न चाहन्छन्, अनि क्रान्तिको यात्रा हेर्न चितवन चुम्न चाहन्छन् ।
हो, चितवनले यस देशको मुहार फेर्ने अनि सान, मान अनि इज्जत बढाउने हरेक आन्दोलनको अग्रणी मोर्चा सम्हालेको छ । सहकारी आन्दोलनको शिलान्यासदेखि कुनै पनि सामाजिक एवं राजनीतिक आन्दोलनमा यस जिल्लाले अहम् भूमिका निर्वाह गरेको छ । जसले गर्दा चितवनवासीको शिर सधैँ उच्च रहेको छ । कुनै पनि स्थानको नाम यसरी राष्ट्रकै उच्च स्थानमा रहनुमा त्यस स्थानको भौगोलिक स्थिति, प्राकृतिक सम्पदा तथा त्यस स्थानमा जन्मेका सपूतहरुको मह¤वपूर्ण भूमिका रहेको हुन्छ । चितवनको परिचयसँगै जोडिएर आउने चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, एकसिंगे गैँडा, देवघाट विश्वमा नै परिचित छन् । जसरी यी अमर प्राकृतिक सम्पदाहरु देशी–विदेशी आँखामा टाँसिएका छन्, हो त्यसैगरी चितवनको एक सामान्य कृषकको छोरो जो यस भूमिमा सामान्य गाउँमा जन्मेर देश परिवर्तनको महान् आन्दोलनको बिगुल फुक्ने काम गरेका छन्, उनको नाम पनि देशका हरेक गल्लीदेखि सम्भ्रान्तका पल्लवी दरबारसम्म, भारतीय बिहारदेखि अन्टार्टिकाको कुनासम्म छर्लंग देखिने गर्दछ । गरिब र पिल्सिएका जनताहरु, किसान र मजदुरहरु, शिक्षक अनि पिछडाहरु, त्यो नाम सुन्नेबित्तिकै गर्वले छाती फुलाउँछन् भने ठग र शोषकहरु लुटेरा र शासकहरु थरथर काम्न थाल्दछन्, धर्मराउन थाल्दछन् अनि बर्बराउन थाल्दछन् । हो, त्यही चितौने सपूतको नाम हो ‘प्रचण्ड’ ।
प्रचण्ड कुनै नाम होइन, प्रचण्ड कुनै शासकहरुले दिएको श्री को उपाधि पनि होइन, न त यो कुनै राजाको बाहुलीबाट प्रदान गरिएको सुकिला कोटमा टाँस्ने बाहु नै हो । यो त एउटा संघर्षले बनाएको जनताले लगाइदिएको जनमुकुट हो, एउटा विशेषण हो । प्रचण्ड न त हाम्रा गुरूले एघार दिनमा राखेको न्वारानको नाम नै हो, न त कुनै विश्वविद्यालयले पहिराएको स्वर्णपदक नै हो । वास्तवमा प्रचण्ड नेपाली जनताले पहिराएको राष्ट्रकै सबैभन्दा उच्च पदवी हो, जुन हरेक जनताका माझमा परिचित छ, लोकप्रिय छ अनि सुन्दर छ । प्रचण्ड गर्मीसँग जोड्न सकिन्छ, प्रचण्ड युद्धसँग साट्न सकिन्छ, प्रचण्डपथसँग नाप्न सकिन्छ, अनि प्रचण्ड देश र जनताको मायासँग गाँस्न सकिन्छ । हो, यिनै प्रचण्डको गाउँको बासिन्दा हुन पाउँदा, यिनै प्रचण्डको नगरको नागरिक हुन पाउँदा अनि यिनै प्रचण्डको जिल्लाको बासिन्दा हुन पाउँदा मेरो दिल सिंहको छातीझैँ फुलेको छ, गुराँसझैँ फक्रेको छ, अनि सगरमाथाझैँ अटल भएको छ ।
हुन त, प्रचण्डलाई कुनै एक टोल या गाउँ, कुनै एक नगर या जिल्ला अनि कुनै एक देशसँगमात्र जोडेर हेर्नु संकीर्णता हुनेछ । किनकि, प्रचण्ड विश्वका एक समाज परिवर्तनका वाहक हुन्, महान् क्रान्तिकारी नेता हुन् जसको अनुसरण जोकोहीले गर्न सक्दछ ।
आज तपाईं हामीले देखेको देशलाई केही दशक वर्ष पूर्व गएर हेर्ने हो भने अँध्यारो अनि डरलाग्दोसिवाय अरु केही देखिँदैन, जुन देश तानाशाही वंशको एकक्षत्र पेवा थियो । जहाँ स्वतन्त्रता, न्याय, समानता, मौलिक हकअधिकार श्रीपेचको छत्रछायाभित्र मृत अवस्थामा छोपिएको थियो । राष्ट्रिय ढुकुटी अनि विकास केही मुठ्ठीभरका दलालहरुको हातमा थियो । शिक्षा, स्वास्थ्य, मानवअधिकार केही दरबारियाहरुका चेकबुकमा मात्रै थियो । राजनीतिक पार्टीहरु राज वा नर्तकीहरु जस्तै थिए, अनि नाटकका पात्रहरु जस्तै थिए । त्यो घोर अन्धकारबाट देश र जनतालाई मुक्त गराउन चितवनको एउटा गरिब किसानको छोरो, एउटा सामान्य परिवारमा हुर्केको कर्मठ युवाले राज्यको निरंकुश शक्तिमाथि धावा बोल्यो, युद्ध खोल्यो अनि क्रान्तिको लामो मोर्चा सम्हाल्दै शोषक सामन्तीका पिल्लरहरु भाँच्न सफल भयो । देश र जनतालाई युगौँदेखिको दासताबाट मुक्त दिलायो । आज हाम्रो हातमा जनताले लेखेको संविधान छ । आज हाम्रो साथमा जनताले रोजेको संघीयता छ । जनताले खोजेको कानुन छ, जनअधिकार छ, स्वतन्त्रता छ । हो, यी सबै परिवर्तनका अनि क्रान्तिको बग्गी चलाउन सफल महारथी हुन्, चितवनका सपूत ‘प्रचण्ड’ । हो, यिनै प्रचण्ड जसलाई चियाउन बीबीसी र सीएनएनले रोल्पाको पखेरा चहार्थे । यिनै प्रचण्डलाई भेट्न विश्वशक्तिका हस्तीहरु व्यग्र हुन्थे, अनि यस देशका शासकहरु यिनको भेटलाई गौरवको गाथा बनाउँथे । आज तिनै प्रचण्ड, तिनै चितवनका महान् सपूत आफ्नै जन्मभूमिमा आएका छन् । आफ्नै कर्मभूमिमा धाएका छन् । हाम्रो लागि प्रचण्डको प्रवेश एउटा महोत्सव बन्न पुगेको छ । प्रचण्ड चितवनको गौरवसँग गाँसिएको छ ।
हिजो देशले परिवर्तन खोजेको थियो, न्याय रोजेको थियो, मुक्ति सोचेको थियो अनि निरंकुशताको जन्जीर तोड्न खोजेको थियो । त्यो अन्याय र अत्याचार, त्यो निरंकुशता अनि तानाशाहबाट मुक्ति दिन प्रचण्डले युद्धको शंखघोष गर्नुप¥यो, क्रान्तिको बिगुल फुक्न प¥यो । आज देशले खोजेको र जनताले रोजेको व्यवस्था छ । अब नेपाली जनता दोस्रो क्रान्तिको बिगुल फुक्न चाहन्छन्, दोस्रो युद्धको शंखघोष गर्न चाहन्छन् । तर, त्यो युद्ध अब बन्दुक र खुकुरीको हुनेछैन । त्यो युद्ध काटमारको हुनेछैन, अनि त्यो युद्ध सैन्य शक्तिको हुनेछैन, त्यो युद्ध विकास र उन्नतिको हुनेछ, त्यो युद्ध जनताद्वारा जनताकै लागि हुनेछ । र, यस दोस्रो युद्ध छेड्नका लागि, राष्ट्रव्यापी निर्माणका लागि पुनः उनै सफल राष्ट्रनेता प्रचण्डको खाँचो छ । देशलाई खाँचो छ, चितवनलाई खाँचो छ अनि प्रगतिको सपना देख्ने हरेक व्यक्तिलाई प्रचण्डको खाँचो छ ।
युद्धको बिगुल फुक्न पहाड चढेका प्रचण्ड शान्तिको दियो लिएर तराइ झरेका थिए । आफ्नो राष्ट्रिय एजेन्डा सफल पारेर आज विकास र समृद्धिको एजेन्डा लिएर प्रचण्डले आफ्नै जन्मथलो, आफ्नै कर्मथलोलाई रोजेकोमा हामी चितवनवासीको दिल प्रफुल्ल भएको छ ।
हुन त, केही सीमित व्यक्तिहरु, सामन्ती शोषकका अवशेषहरुले प्रचण्डलाई सामान्य जीवनका केही पाटाहरुसँग तुलना गर्ने गर्दछन् । बाटोघाटो, पुलपुलेसासँग दाँज्ने गरेका छन् । राप्तीको पुल, रिउको बगर, नदी कटान, तटबन्धनसँग गाँस्ने गरेका छन् । तर, प्रचण्डलाई हामी चितवनवासीहरुले सीमिततामा बाँध्न हुँदैन । प्रचण्डलाई सामान्य मान्छे, शिक्षक वा कर्मचारीसँग दाँज्न मिल्दैन, अनि कुनै ठेकेदार वा बिल्डर्ससँग नाप्न मिल्दैन । प्रचण्ड जसको एक निर्देशनमा हजारौँ युवाहरु तानाशाहका विरूद्ध जाई लागेका थिए, हजारौँ नेपालीहरुले जनशासनका लागि बलिदान दिएका थिए, आज चितवनले फेरि उनै प्रचण्डलाई विकास र समृद्धिको नेतृत्वको बिगुल फुक्ने जिम्मा दिनुपर्दछ । उनले गरेको योगदानको मूल्य तिर्ने अवसर चितवनवासीलाई अहिले आएको छ ।
प्रचण्डको प्रवेशले चितवनमा अहिले राष्ट्रिय आँखा तेर्सिएको छ । चितवनको माहोल राजधानीजस्तो बन्न पुगेको छ । अब छिट्टै नै चितवन देशकै शक्तिकेन्द्रको एउटा अभिन्न अंग बन्नेछ । विकासको पहिलो पाठशाला चितवन बन्नेछ, किनकि राज्यशक्तिका एक अभिन्न अंग प्रचण्डले चितवनको नेतृत्व सम्हालेका छन् । प्रचण्डको विजयले चितवनको गौरव राष्ट्रभरि फैलने छ । देश निर्माण गर्ने यस महान् युद्धका महारथी प्रचण्डलाई चितवनको पवित्र भूमिबाट विजय गराउनु हामी विकासप्रेमी चितवनवासीको कर्तव्य बन्न पुगेको छ ।

Comments

About the author

चितवन पोष्ट