गृह » वाम गठबन्धनपछि एकता : वर्तमानको आवश्यकता
विचार

वाम गठबन्धनपछि एकता : वर्तमानको आवश्यकता

विष्णु ओस्ती
०७४ असोज १७ गते भएको सात बुँदे सहमतिलाई कार्यान्वयन गर्न एमाले र माओवादी केन्द्र दुई पार्टीबीच भएको सहमतिले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा नयाँ उत्साह र गति पैदा गरेको छ । निर्वाचनपश्चात् पार्टी एकता गर्ने लक्ष्यका साथ हाल चुनावी गठबन्धन गरी राष्ट्रिय हित, सामाजिक, आर्थिक रुपान्तरणद्वारा मुलुकको समृद्धि र नेपाली मौलिक समाजवाद निर्माणमा संविधानले प्रदान गरेको नागरिकका अधिकारहरुलाई कार्यान्वयन गराउनु वाम गठबन्धनको उत्तरदायित्व हो ।
वाम गठबन्धनले नेपाली विशेषतासहितको राजनीति स्थापित गर्नुप्र्छ । यसका निम्ति आवश्यक सर्त भनेको राष्ट्रिय एकता र विकास हो । यदि यी दुई विशेषता भएनन् भने देश विकास नहुने मात्र होइन, राष्ट्रिय अखण्डता पनि जोगाउन सकिँदैन । राष्ट्रिय चेतना सुदृढ गराउन वाम गठबन्धन जोडका साथ अगाडि बढ्नुपर्छ । पहिले नै यसरी राष्ट्रिय एकता र चेतनाको लहर आएको भए आजसम्म देशले ठूलै उपलब्धि प्राप्त गर्ने थियो । तर, त्यो केवल घटनामा सीमित हुन गयो, क्रान्तिमा परिणत हुन सकेन । त्यसबेलादेखि नै देशको आन्तरिक राजनीतिमा विदेशी शक्तिको प्रत्यक्ष संलग्नता सुरू भयो । त्यस्तो विदेशी हस्तक्षेपको मात्रा इतिहासको कालखण्डमा धेरै वा थोरै रुपमा निरन्तर रहिरहेको छ । ०७ सालको काण्डपछि पनि त्यस्तो बाहिरी प्रभाव नेपाली राजनीतिमा रहँदै गयो । ०४६÷४७ तथा ०६२÷०६३ को जनआन्दोलनपश्चात् पनि त्यही सिलसिला रह्यो । फलस्वरुप, नेपाली राजनीतिमा स्थिरता आउन सकेन । प्रजातान्त्रिक व्यवस्थाले पनि संस्थागत विकासको रुप लिन सकेन । अहिले नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तैपनि, नेपाली राजनीतिमा स्थिरता छैन र देशमा सबै राजनीतिक घटना बाहिरी शक्तिबाट प्रभावित हुने गर्छन् ।
तसर्थ, आज एमाले र माओवादी केन्द्र दुई वामपन्थी राजनीतिक शक्ति एक ठाउँमा आए । तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन लडिरहेका छन् । वाम गठबन्धनको बहुमतको सरकार बनेपश्चात् राजनीतिक स्थिरता हुनुका साथै आर्थिक समृद्धि र सामाजिक रुपान्तरण, संविधान कार्यान्वयन हुनुका साथै समाजवाद स्थापनाको बाटो खुल्नेछ । अहिले उनीहरुका बीचमा देखिएको मेल परिस्थितिले उब्जाएको बाध्यता हो । यिनीहरुले अब पनि फुटेर राजनीति गर्ने हो भने देशमा बाहिरी शक्तिले स्थिरता आउन दिने छैनन् भन्ने आभास पाएको देखिन्छ । निर्वाचनपश्चात् यिनीहरुका बीचमा पुनः सत्ताका लागि संघर्षको इतिहास दोहोरियो भने देश थप अस्थिरतातर्फ धकेलिने छ । अहिलेसम्मको देशको जर्जर अवस्थाका लागि प्रमुख जिम्मेवार कारण राष्ट्रिय चेतनाको अभाव हुनु हो ।
चीनले मात्र नभई भारतलगायतका अन्य देशले पनि राष्ट्रिय चेतनाका माध्यमबाट आफूलाई माथि उठाउँदै लगेका छन् । भारतको स्वतन्त्रता संग्रामका नेताहरुले राष्ट्रिय चेतनाविना राष्ट्रिय मुक्ति र विकास सम्भव छैन भन्ने बुझेकै कारण लामो संघर्षपछि देशलाई स्वाधीन बनाए । राष्ट्रिय चेतना बलियो बनाउनुपर्छ, तबमात्र देशले आर्थिक प्रगतिको बाटो समात्ने छ । नेपालको शिक्षा प्रणालीमा राष्ट्रिय चेतना बढाउन पाठ्यसामग्रीमै राखिएका हुन्छन् । गौरवपूर्ण इतिहास झल्काउने विषय विद्यालय एवम् कलेजका पाठ्यपुस्तकमा राख्नुपर्छ । स्वस्थ राजनीतिक संस्कार बसाल्नुपर्छ नेपालमा । आज देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा र संस्कृति बढाउनु पर्ने आवश्यकता छ । अहिले मुलुकमा वाम गठबन्धन भइरहेको छ, त्यो सकारात्मक छ । देश र जगत्को समग्र हित र चिन्ताबाट त्यो प्रेरित हुनुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ कांग्रेसले जसरी चीनलाई सुहाउने अर्थात् चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थालाई निरन्तरता दिएको छ, त्यो उसको आन्तरिक विषय हो । नेपालले पनि नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्न वाम गठबन्धन क्रियाशील हुनुपर्छ । अहिले देखिएको वाम गठबन्धनले राष्ट्रिय एकता र चेतना बढाई देशको विकासलाई मूर्तरुप दिन सकोस् भन्ने शुभकामना छ । भोलि वाम गठबन्धनको सरकार बनेपश्चात् त्यसले देशप्रति उत्तरदायी भई अन्य देशको उदाहरणबाट पाठ सिकेर नेपाली जनताले गरिबी, बेरोजगार र राष्ट्रिय अपमानको स्थितिबाट मुक्ति दिलाउन सकोस् । वाम गठबन्धन राष्ट्रिय हित र जनताको स्वार्थमा प्रयोग गर्न सके अति उत्तम हुने देखिन्छ ।
मुलुक निर्वाचनमय बन्न पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् वाम गठबन्धनको बहुमतको सरकार बनेपश्चात् संविधान कार्यान्वयन हुनेछ । लोकतन्त्रमा निर्वाचन जरूरी हो । संविधान कार्यान्वयन जरूरी छ । संविधान कार्यान्वयनसँगै लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, विधिको शासन, सामाजिक स्थायित्व, शान्ति, विश्वास, निर्णय क्षमता वाम गठबन्धनको नेतृत्वमा हुने हो भने अब देशमा आर्थिक वृद्धि, साधनस्रोत, रोजगार, व्यापार, व्यवसाय, अवसर र प्रगतिको ढोका खुल्नेछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवम् हितको रक्षा र राष्ट्रको समृद्धि वाम गठबन्धनको आधारभूत प्रतिबद्धता हो ।
एमाले र माओवादी केन्द्रका चुनावी गठबन्धन एउटै घोषणापत्र निर्माण र निर्वाचनपश्चात् पार्टी एकता गरी एउटै शक्तिशाली वाम पार्टी निर्माण गर्न समझदारी र घोषणाले मुलुकभरि र बाहिरसमेत तरंग ल्याउन सफल भयो । वाम गठबन्धनमा नेपाली कांग्रेसले आफ्नो जनमत बचाउने नाममा वामपन्थी गठबन्धनलाई विभिन्न अफवाह, भ्रम, दुष्प्रचार गरी जबर्जस्त लोकतन्त्रविरूद्ध धकेल्ने प्रयास गरेको छ । कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण सम्भव भएको हो । तसर्थ, यस अवस्थामा वामपन्थी गठबन्धनले लोकतान्त्रिक पद्धतिको माध्यमबाट संविधानले निर्देशन गरेको संघीयता तथा समावेशिताका आधारमा राज्यसत्ता सञ्चालन गरेर जनतालाई विश्वास दिलाउन सकेमा कांग्रेसबाट गरिने राजनीतिक प्रहार स्वतः क्षीण हुनेछ ।
दुई ठूला कम्युनिस्टमध्ये एउटा धराशायी हुने खतरा धेरैले अनुमान गरेको विषय हो । दुई ठूला कम्युनिस्ट पार्टीहरु नेपाली राजनीतिक पृथक् बाटोबाट अगाडि बढ्न एउटाले अर्कोविरूद्ध विष वमन गर्नेमात्र नभई सत्तामा पुग्ने बाटो पनि सधैँ अवरूद्ध हुने अड्कल गरिएको विषय थियो । सम्भवतः एमाले र माओवादी केन्द्रका नेतृत्वलाई यसबारे ढिला भए पनि सद्बुद्धि आयो र दुवैले आफ्नो अहम् त्यागी गठबन्धन र एकीकरणसम्मको यात्रा घोषणा गरे । फेरि नेपालको राजनीतिक इतिहासले ०७ साल राज्य र कांग्रेस, ०४७ साल कांग्रेस र कम्युनिस्ट र ०६३ साल सात दल र माओवादी केन्द्रबीचको सहमतिले देशको राजनीतिक नक्सा नै परिवर्तन गर्न सफल भएको उदाहरण अगाडि छ । सम्भवतः यिनै पृष्ठभूमि र संवैधानिक जटिलताबीच नेपालको वाम गठबन्धन अगाडि आएको हो ।

Comments

About the author

चितवन पोष्ट