गृह »  प्रचण्ड र  पाण्डेको अग्निपरीक्षा
प्रमुख समाचार

 प्रचण्ड र  पाण्डेको अग्निपरीक्षा

किशोर खनाल
भरतपुर । दोस्रो चरणको निर्वाचन हुन चार दिनमात्र बाँकी रहँदा चितवन क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री र मन्त्रीको ठूलै चुनावी युद्ध भइरहेको छ । यस क्षेत्रमा वाम गठबन्धनबाट पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक गठबन्धनबाट वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे चुनावी मैदानमा जोडतोडले लागेका छन् ।
दुवैले करिबकरिब घरदैलो कार्यक्रम सकेका छन् । प्रायः सबै ठाउँमा दुवै नेता एक पटक पुगेकै छन् । दुवैले जित्ने दाबी गरेका छन् तर नतिजा कसको पोल्टामा जाने हो, अहिल्यै आंकलन गर्न सकिएको छैन । सबै कुरा मतदातामा भर पर्छ ।
दुवैको बढी फोकस माडी
यसै क्षेत्रमा माडी उपत्यका पनि पर्छ । चारैतर्फ निकुञ्जले घेरिएको यस उपत्यका विकासले पछि परेको भूभाग हो । रिउलगायतका विभिन्न खोलाको बाढी र निकुञ्जका वन्यजन्तुबाट हैरानी भोगेका यहाँका मतदाताहरुको मन जित्न यतिबेला उम्मेदवारबीच ठूलै रस्साकस्सी चलेको छ ।
चितवन क्षेत्र नम्बर ३ मा पर्ने माडी उपत्यकामा एउटा नगरपालिका छ । साबिक चार गाविस मिलाएर माडी नगरपालिका बनाइएको हो । यस क्षेत्रका मतदाताहरुको मन जित्न ‘प्रचण्ड’ र पाण्डेबीच हरेक दिनजसो प्रतिस्प्र्धा चलेको देखिन्छ । दुवैले समग्र माडीको विकासको लागि ठूलठूला प्रतिबद्धताहरु गरेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्ड पनि माडीवासीको मन जित्न पटकपटक घरदैलो कार्यक्रममा माडी पुगेका छन् । चुनावी सभा गरेका छन् । माडीमा अर्को चुनावी सभा आयोजना पनि भएको छ ।
मन्त्री पाण्डे पनि माडीवासीको मन जित्न दोहो¥याइ तेह¥याई सो क्षेत्रमा पुगेका छन् । दुवैले माडीका मतदाताको भोट बढी तान्नलाई ठूलै जमर्को गरेका छन् तर कसको पल्ला भारी हुने हो, त्यहीँका मतदातामा भर पर्छ ।
स्थानीय तहमा कसको मत बढी 
चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । क्षेत्र ३ मा स्थानीय तहको १९ वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये ६ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेका छन् ।
स्थानीय चुनावमा क्षेत्र ३ मा पर्ने १९ वटा वडाको कांग्रेसले पाएको मत जोड्दा २३ हजार २३७ छ । एमालेको जोड्दा २१ हजार १३० मत छ । माओवादी केन्द्रको मत दुवैका भन्दा कम छ । माडी नगरपालिकाको सहितको मतलाई जोड्दा कांग्रेसको मत २७ हजार कट्छ । माडीको मतसहित एमालेको सम्पूर्ण मत जोड्दा २४ हजार कटेको छ ।
चितवन ३ मा वाम गठबन्धनको ९माओवादी केन्द्र र एमाले० मत जोड्दा कांग्रेसको मतभन्दा ७ हजारले बढी छ । क्षेत्र ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २६, २५ र १३ मा माओवादी केन्द्रको मत बढी छ । स्थानीय चुनावमा यस वडाको नेतृत्वमा माओवादी केन्द्रले जितेको थियो । वडा नम्बर १३ लाई माओवादी केन्द्रको गढ नै मानिन्छ । माडीमा कांग्रेस, माओवादी केन्द्र, एमाले र राप्रपाको मत पनि बराबरीजस्तो आएको
थियो । कुनै समय कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला सतप्रतिशत जित्ने क्षेत्र भन्दै सोही ठाउँबाट उठेर जितेका थिए । अहिलेको ३ नम्बर क्षेत्र त्यतिबेला ४ मा परेको थियो । २०४८ सालदेखि नै हाल चितवनको ३ नम्बरमा क्षेत्रमा परेका ठाउँहरु कांग्रेसको आधार इलाका मानिन्छन् ।
कुन कस्ता खालका नेता
प्रचण्ड राष्ट्रिय राजनीतिको माहिर खेलाडी हुन् । दुई पटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव पार्ने नेता हुन् प्रचण्ड । प्रचण्डले चितवनलाई विकासको गति दिन यहाँबाट उम्मेदवारी दिएको बताएका छन् । २०६४ को चुनावमा रोल्पा र काठमाडौँलाई जोड्न त्यहाँबाट उठेको २०७० को चुनावमा तराई र काठमाडौँलाई जोड्न सिरहाबाट उठेको र अहिले चितवनलाई आर्थिक विकाससँग जोड्न यहाँबाट उठेको उनी बताउँछन् ।
दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले चितवनमा विकासको प्याकेज ल्याएका थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा शक्तिखोरमा औद्योगिक क्षेत्र, शारदानगरमा अन्तर्राष्ट्रिय रंगशाला र भरतपुरमा प्रदर्शनी केन्द्रको निर्माण गर्ने योजना पास भएको थियो । अहिले त्यो काम धमाधम भइरहेको छ । यसबाहेक चितवनको विकासमा उनले थुप्रै बजेट पारेका थिए ।
आफ्नो कुनै प्रतिस्पर्धी नभएको र आफूलाई चितवनका जनताले विकासको लागि जिताउने दाबी गर्छन् प्रचण्ड । वाम गठबन्धनले जितेमा स्थायी सरकार बन्ने र त्यही सरकारले नै चितवनलाई एसियालीस्तरको शहर बनाउने उनको दाबी छ । प्रचण्ड विजयी भए फेरि पनि प्रधानमन्त्री भएर देशको बागडोर सम्हाल्न सक्छन्, त्यतिबेला उनले आफ्नो क्षेत्रलाई कायापलट गर्न सक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
‘दुईपटक प्रधानमन्त्री भएँ, यहाँका जनताको आशिर्वाद लाग्यो भने फेरि पनि प्रधानमन्त्री हुन्छु, मलाई चितवनले प्रचण्ड बनायो, अब म चितवन बनाउँछु’ प्रचण्ड यही भन्दै घरदैलोमा हिँडिरहेका छन् । पुत्रशोकमा रहेका प्रचण्ड सबै चितवनका युवाहरुलाई प्रकाश देख्छन् र भन्छन्, ‘यस्तो शोकमा पनि तपाइँहरुसँग आएर विकासको लहर ल्याउँछु भन्ने अर्को कुन बाबु हुन सक्छ ’
प्रचण्डलाई विक्रम पाण्डेले हरपल हरक्षण चुनौती दिइरहेका छन् । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे हाल नेपाल सरकारका वन तथा भूसंरक्षणमन्त्री हुन् । मन्त्री पाण्डे प्रचण्डका त्यस्ता प्रतिस्पर्धी हुन् जो यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए । उनी दुई पटक मन्त्री भएका नेता हुन् । भूमिसुधारमन्त्री हुँदा उनले मालपोत कार्यलय र नापी कार्यालयको शाखा खोलेका थिए । उनी उठेको क्षेत्रमा माडी र चनौलीमा जनताले मालपोत र नापी कार्यालयको सेवा सुविधा पाइरहेका छन् ।
पाण्डे २० वर्षदेखि सोही क्षेत्रमा घुलमिल भएका नेता हुन् । चाहे बाढी आउँदा होस्, चाहे आगलागी लाग्दा काठमाडौँबाट हानिएर आउने गर्थे पाण्डे । जनताको सुख दुःखमा साथ दिन्थे । यसअघि सो क्षेत्रमा प्रचण्डभन्दा बढी समय खर्चेका नेता हुन् पाण्डे । उनको जनतासँग बढी नै उठबस छ । २०६४ सालमा सोही क्षेत्रबाट हारेका पाण्डे ०७० मा जितेका थिए । अहिले उनलाई झन् कांग्रेसले साथ दिएको छ ।
‘२० वर्षदेखि म आफ्नो क्षेत्रमा लागिरहेको छु, जनताको सुखदुःखमा साथ दिएको छु र दिइरहन्छु’ मन्त्री पाण्डेले भने, ‘यस्तो कुन नेता हुन सक्छ, बाढी आउँदासाथ आफ्नो क्षेत्रमा राहत लिएर आउने, दुःखमा साथ दिन आउने ’
कसको होला जित 
चितवन ३ का मतदाताले प्रचण्डलाई जिताएमा फेरि पनि प्रधानमन्त्री पाउन सक्छन् । पाण्डेलाई जिताए फेरि पनि यहाँका मतदाताले विकासका ठूला सारथि पाउन सक्छन् । विकासका सारथिका नेता पाण्डे रोज्ने कि प्रधानमन्त्री हुने नेता प्रचण्डलाई चुन्ने रु मतदाताका लागि यतिबेला यक्ष प्रश्न बनेर आएको छ ।
चितवन ३ का मतदाताले कसलाई संसदको ढोका खोल्छन् रु भन्ने कुरा अहिल्यै भन्न सकिने अवस्था छैन । तर, एउटा कुरा निश्चित हो, जसले जिते पनि विकास नगरी अब कुनै नेताले सुख पाउने छैनन् । जितेर जाने, अनि फर्केर नआउने, विकासका नाममा छेस्को पनि नभाँच्ने नेतालाई अब चितवनका मतदाताले छोड्ने छैनन् । जसले जिते पनि कठालो समातेर विकास गराउन चितवनवासीले बाध्य पार्नेछन् ।

Comments

About the author

चितवन पोष्ट