गृह » नारायणगढ–मुग्लिन सडकको दुर्दशा, ७५ प्रतिशतको लक्ष्य पनि पूरा भएन
प्रमुख समाचार

नारायणगढ–मुग्लिन सडकको दुर्दशा, ७५ प्रतिशतको लक्ष्य पनि पूरा भएन

नारायणगढ । प्रधानमन्त्री र संसदीय समितिले स्थलगत अनुगमन नै गरेर समयमा काम सक्न पटकपटक निर्देशन दिए पनि नारायणगढ–मुग्लिन सडकको विस्तारको कार्य अझै लक्ष्य अनुरुप हुन सकेको छैन । अहिलेसम्म ७५ प्रतिशत काम सकिनु पर्नेमा जम्मा जम्मी ६२ प्रतिशत मात्रै पूरा भएको छ ।
‘नोभेम्बर अर्थात मंसिर १४ सम्म सडक विस्तारको ७५ प्रतिशत काम सक्नुपर्ने थियो । तर, हामीले त्यो लक्ष्य भेटाउन सकेनौं । जम्मा ६२ दशमलब दुई प्रतिशत मात्रै काम सकिएको छ’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।
सो सडक विस्तारको काम २०१५ को अप्रिलमा सुरू भएको हो । सुरुको सम्झौता अनुसार सडक विस्तारको काम गएको वैशाखमै पूरा हुनुपर्ने थियो । तर, अनेक समस्याहरु देखाउँदै कामले तीव्रता लिन नसक्दा पटकपटक म्याद थप हुँदै आएको छ । पछिल्लो पटक थप भएको मिति अनुसार सडक विस्तारको काम आउँदो फेब्रुअरी १८ अर्थात् फागुनका पहिलो हप्तामा सकिनुपर्ने हुन्छ ।
सोही मितिभित्र काम सकिन यो बेलामा निर्माणको ७५ प्रतिशत काम पूरा हुनुपर्ने लक्ष्य तय गरिएको थियो । ‘लक्ष्यभन्दा १३ प्रतिशत काम कम भएको अवस्था छ । तर, निराश नै हुनुपर्ने अवस्था पनि हैन । गाडी रोकेर गर्नुपर्ने काम हामीले अहिले गर्न सकेका छैनौं । त्यसैले भने अनुसार नभएको हो’ खनालले भने । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भरी गाडी बन्द गर्न नसक्ने उनले बताए ।
चुनावपछि गाडी रोकेर काम सुरू हुने हुँदा लक्ष्यमा पुग्न समय नलाग्ने उनले बताए । तर, तोकिएको मिति फागुन पहिलो हप्तासम्म काम पूरा गर्न अहिले पनि गाह्रो मात्रै हैन प्राय असम्भव नै रहेको अधिकारीहरुको भनाइ छ । तर, आधिकारिकरुपमा यो बारेमा कसैले बोलेको छैन ।
कुल ३६ किलोमिटर लम्बाइको सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई ठेक्कामा लगाइएको छ । लक्ष्य नभेटे पनि सबैभन्दा धेरै काम माझ खण्ड अर्थात् दासढुंगादेखि सिमलतालसम्म भएको छ । सो खण्डमा ६८ प्रतिशत काम भएको छ । जब कि त्यहाँ पनि यो बेलासम्म ७६ प्रतिशतभन्दा धेरै काम हुनुपर्ने थियो ।
सबैभन्दा कम काम सिमलतालदेखि मुग्लिनसम्मको क्षेत्रमा भएको छ । त्यहाँ यो बेलासम्म ७३ प्रतिशत काम सकिनु पर्नेमा ५७ प्रतिशत मात्रै भएको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । आँपटारीदेखि दासढुंगासम्म ७७ प्रतिशत काम हुनुपर्नेमा ६३ प्रतिशत मात्रै सकिएको छ । कुनै पनि खण्डमा लक्ष्य अनुरुप काम नभएका कारण समयमै सकिन गाह्रो हुने अवस्था आएको हो ।
विश्व बैकको लगभग तीन अर्ब रूपैयाँ ऋण सहयोगमा सरकारले सो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउँदै छ । काठमाडौं र पोखरलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने सो सडकमा दैनिक १० हजार गाडी ओहरदोहर गर्छन् । सो सडकलाई राजधानीको लाइफ लाइननै भनिन्छ । तर, निर्माण चाडै नसक्दा अस्तव्यस्त हुने गरेको छ ।
निर्माण क्षेत्रमा कतै कतै कालोपत्रे गर्ने काम पनि सुरू भएको छ । अहिले सो सडक बन्द छैन । चुनाव सकिएपछि बन्द गरेर निर्माणको कामलाई तीव्रता दिने आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । अनौपचारिक जानकारी अनुसार फागुनमा नसकिए पनि आउँदो चैतभित्रै निर्माणको काम सकिने सम्भावना छ ।

Comments

About the author

चितवन पोष्ट