गृह » बस भेटियो बेपत्ता भेटिएनन्
समाचार समाज

बस भेटियो बेपत्ता भेटिएनन्

दिपेन्द्र अधिकारी
भरतपुर । १३ गते बुधबार बिहान त्रिशूलीमा हराइरहेको बस २ दिनपछि क्रेनको मद्दतले तानिएको छ । बस ध्वस्त भएको अवस्थामा फेला परेको छ । बसमा ५ यात्रु हराइरहेको भन्ने खबर आए पनि यात्रुका झोला बाहेक अन्य केही नभेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि सन्तोष पन्तले बताए ।
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको बस दुर्घटनामा परेको थियो । घटनामा ८ यात्रुको निधन भएको छ । शिक्षक, पत्रकार, व्यवसायीलगायतका व्यक्तिहरु घटनामा परेका थिए ।
२५ फिट तल डुबेको बसमा हराइरहेका मानिसहरु च्यापिएर बसेको हुनसक्ने आशंका गरे पनि कोही पनि नभेटिएपछि बेपत्ता भएकाका परिवार झन दुःखित बनेका छन् । घटनाबाट अर्घाखाँचीबासी शोकमा परेका छन् । हराएका व्यक्तिहरुको गोताखोरले खोजी गरिरहेको प्रनि पन्तले जनाए ।
७ जना अझै बेपत्ता
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि सन्तोष पन्तका अनुसार बस दुर्घटनामा ७ जना अझै हराइरहेका छन् । ‘चार जना पक्का हो, अन्य तीन जना पनि हराएको भन्दै परिवार खोजीका लागि आएका छन्,’ उनले भने । सन्धिखर्कका दुर्गा कार्की, घाइते लक्ष्मी पौडेलको श्रीमान् र जेठाजुको छोरा मनिष रेग्मी रहेको जानकारी दिएकाले उनीहरु पनि हराएको हुन सक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ । कुँवर थरका युवक हराइरहेको चितवन प्रहरीले जनाएको छ ।
९ जना उपचाररत
दुर्घटनामा परेका ८ महिने शिशु भने बाँचेका छन् । तर, उनको आमा अर्घाखाँचीको सन्धीखर्क–१ निवासी मनिषा थापा भने त्रिशूलीमा बेपत्ता छिन् ।
बस चालक कपिलवस्तुका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान झिमु्रक–२ का १९ वर्षीय सुनिल क्षेत्रीको उपचार भइरहेको छ । घाइतेहरुमा ६ महिनाको बालक, अर्घाखाँची भूमिकास्थान–४ की २१ वर्षीया इन्दिरा दमासे, उनका भाइ २० वर्षका सन्दिप दमासे, सन्धिखर्क ८ का ३० वर्षका गोविन्दबहादुर सुनार, सोही ठाउँका ३१ वर्षका राजेन्द्र रायमाझी, कोहलपुरकी ३१ वर्षीया उमा पोखरेल र खना गाउँ अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल रहेका छन् । अन्य ५ जना घाइतेको काठमाडौं स्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
त्रिशूलीमा २५ अझै बेपत्ता
चितवनको मौवाखोला ९धादिङ सीमाना०देखि देवघाटसम्म त्रिशूली नदी क्षेत्र पर्छ । आर्थिक वर्ष २०७३÷७४ मा यस क्षेत्रमा भएका २७ दुर्घटनामा ४१ जनाले ज्यान गुमाए । ८९ जना घाइते भए । त्यस्तै त्रिशूलीमा अझै पनि १८ जना बेपत्तै छन् । १३ गते भएको घटनामा ७ जना थप बेपत्ता हुँदा हालसम्म बेपत्ताको संख्या २५ पुगेको छ ।
२०७३ असोज ९ गते पूर्वगृहमन्त्री माघव घिमिरे र उनको परिवार दुर्घटनामा परे । दारेचोक गाविस–३ मा भएको बा ९ च १५३१ नम्बरको जिप दुर्घटनामा ४ जनाको निधन भयो । हालसम्म दुई जना बेपत्ता छन् । त्यस्तै, २०७३ भदौ १० गते चण्डिभञ्ज्याङ–५ नारायणगढ मुग्लिङ सडकखण्डको कालिखोला नजिक रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ‘ग’ १ ख ३७०९ नं को रात्रि बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल त्रिशूली नदीमा खस्दा २५ यात्रुले ज्यान गुमाए । घटनामा परी १६ यात्रु घाइते भए । त्यस्तै, हालसम्म पनि १० जना बेपत्तै छन् ।
निर्कै दर्दनाक अर्कौ घटना २०७४ असार ९ गते राति इच्छाकामना गाउँपालिका–६ कालीखोला स्थित नारायणगढ–मुग्लिङ सडकखण्डमा अचानक माथिबाट पहिरो आई पहिरोले ईप्रका मुग्लिङको ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान बगायो । असईसहित ३ जनाको निधन भयो भने गाडी र एक प्रहरी त्रिशूलीमै बेपत्ता भए । प्रहरी रिर्पोट अनुसार यस आर्थिक वर्षमा त्रिशूलीमा गाडी पल्टँदा मर्नेको संख्या ९ रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट