गृह » पूर्वगृहमन्त्रीको गाउँमा मृतकले दिए भोट
राजनीति समाचार समाज

पूर्वगृहमन्त्रीको गाउँमा मृतकले दिए भोट

केशव अधिकारी
धादिङ । धादिङ जिल्लाको उत्तरी भेगको सबैभन्दा बिकटमा रहेको रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको मुक्रावदेखि मावि बोराङमा मृतकको नाममा समेत मतदान भएको खुलासा भएको छ ।
वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि अन्य कारणले मृत्यु भएकाको नाममा समेत मतदान भएको यो क्षेत्र पूर्वगृहमन्त्री तथा राप्रपाका नेता बुद्धिमान तामाङको गाउँमा पर्दछ । पूर्वमन्त्री तामाङका भाइ डम्बरबहादुर तामाङ धादिङ क्षेत्र नम्बर २ को प्रदेश नम्बर २ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । त्यसो त बुद्धिमान पनि राप्रपाको समानुपातिक उम्मेदवारको सूचीमा छन् । तामाङ दाजुभाइले गाउँका १७ जना मृतकको नाममा मतदान गरेको निर्वाचनमा खटिएका एक कर्मचारीले बताए ।
गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कुल ८१५ मतदाता रहेको बोराङमा ८०९ जनाले मतदान गरेका थिए । नेपालको इतिहासमै पहिलो पटक ९९।२६ प्रतिशतले मतदान गरेको देखिएको यस क्षेत्रमा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसको तालमेल रहेको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि दिलमान पाख्रिन उम्मेदवार छन्, उम्मेदवारमा उनका भाइ डम्बर तामाङ उम्मेदवार छन् । मृतक १७ जना मध्ये १ जनाले आत्महत्या गरेको, ८ जनाको कालगतिले र ८ जनाको भूकम्पमा परी मृत्यु भएको गाउँलेहरुले बताए । मतदान अधिकृत होमप्रसाद सिटौलाले कुल ८१५ मतदाता मध्ये ८०९ जनाले मतदान गरेको स्वीकार गरे ।
‘हामीले त्यहाँको भाषा जान्दैनौँ । उहाँहरुले तामाङ भाषा मात्रै बोल्नु हुन्छ । मतदानमा को–को आए थाहा भएन । मृतकको नाममा समेत मतदान गरेको भन्ने कुरा म केही जान्दिन । त्यहाँ राप्रपा नै बलियो देखिएको थियो । अरु दलका एजेन्ट पनि आउनु भएको थियो । हामीलाई भन्दा त्यहाँका एजेन्टलाई यो विषयमा जानकारी बढी छ ।’ मतदान अवधिभर यस विषयमा कुनै कुरा नउठेको सिटौलाले बताए ।
राप्रपाले इन्द्रमाया तामाङ, कृति तामाङ, चिरचा तामाङ, देमेन तामाङ, ध्यान्जोन तामाङ, नरबहादुर कामी, बखरा तामाङ, मानसिंह तामाङ, म्हेपुङ तामाङ, मैना विक, धोमिनी तामाङ, श्रीदुर्गाबहादुर तामाङलगायत १६ जना मृतकको नाममा मतदान गरेको तथ्य भेटिएको छ ।
यसैगरी जिल्लाकै उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिकाको झार्लाङमा पनि दलहरुले स्थानीय निर्वाचनमा पाएको मतका आधारमा भागवण्डा गरेर आँफैले मत हालेको भए पनि यस विषयमा त्यहाँ खटिएका मतदान अधिकृत तथा अन्य कर्मचारी र दलहरुले समेत कुनै प्रतिक्रिया दिन मान्दैनन् ।

 

Comments

About the author

चितवन पोष्ट