गृह » पोखराकी कवि सरस्वती चितवनमा
साहित्य

पोखराकी कवि सरस्वती चितवनमा

भरतपुर । पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरू’ शनिबार भरतपुरमा चितवनका साहित्यकारहरूमाझ प्रस्तुत भइन् । लामो समयदेखि नेपाली साहित्यको कविता, गीत तथा गजल विधामा कलम चलाउँदै आएकी श्रेष्ठले चितवनमा हुँदै आएको नियमित कार्यक्रम चियासँग कविताको ३९आँै श्रृङ्खलामा एक दर्जन कविता सुनाइन् । उनको कविता सुनेर चितवनमा साहित्यानुरागीहरू पनि मन्त्रमुग्ध भए । चिसो मौसममा पनि उनीहरू न्यानो अनुभूति गरेर कविता सुन्नमै मस्त थिए ।
लम्जुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी श्रेष्ठले चितवन आएर आफ्ना नयाँ तथा पुराना सिर्जना प्रत्यक्षरूपमा सुनाउन पाउँदा ज्यादै खुसी लागेको बताइन् । उनले ‘मनको भाव शून्य कोठा’, ‘जंगली फूल’, ‘घाम’, ‘चुरोट’ लगायतका शीर्षकका कविता सुनाइन् । यही क्रममा उनले अत्यन्तै रोचक प्रसंगमा अर्को कविता ‘उनी अचेल आमा भएका छन्’ सुनाइन् । प्रायः भान्सादेखि बालबच्चाको लालनपालनको जिम्मेवारी पुरूषको तुलनामा महिलामा बढी हुने नेपाली समाजमा यो कविताले भने पुरूष पनि आमा बनेको प्रसंगलाई कलात्मक शैलीमा कवितामा उतारेकी थिइन् ।
उनको कवितामाथि चर्चा गर्दै समीक्षक उदय अधिकारीले पछिल्लो समय नेपाली साहित्य लेखनमा नारी साहित्यकारहरूको उपस्थिति बाक्लिँदै आएको भन्दै कवि श्रेष्ठलाई अहिलेको उर्जावान कविको रूपमा चित्रण गरे । ‘उहाँका सिर्जनामा साँच्चै सिर्जनशीलताको प्रयोग भएको पाइन्छ,’ समीक्षक अधिकारीले भने । प्रायः सबै क्षेत्र र विधाको लागि महिलाहरूलाई कतिपय अवस्थामा पारिवारिक समस्याले अप्ठ्यारो पार्ने गरे पनि आफ्नो लगाव र निरन्तरताले गर्दा नेपाली साहित्य क्षेत्रमा सशक्त नारी हस्तीको रूपमा उपस्थित हुन सफल भएको बताइन् । संरक्षण कविता आन्दोलनमा आफू पनि श्रेष्ठसँग सँगै हिँडेको स्मरण गर्दै कवि एवम् लेखक तिवारीले भनिन्, ‘५० को दशकमा नेपाली साहित्यमा महिलाको उपस्थिति बढ्दै गएको छ । जहाँ सरस्वती श्रेष्ठको नाम अग्रपंक्तिमा राख्न सकिन्छ । अझ उहाँ त कविता विधामा भन्दा पनि गीत गजलको विधामा राम्रो हुनुहुन्छ ।’
कवि श्रेष्ठको कवितामाथि चर्चा गर्दै गजलकार पुष्प अधिकारी ‘अञ्जली’ले श्रेष्ठका धेरैजसो कवितामा नारी चेतना पाइने बताए । ‘उहाँ यतिसम्म कि एउटा पुरूषलाई पनि महिला बनाएर कवितामा उभ्याउन सक्ने क्षमता छ,’ उनले भने, ‘त्यसैले पनि उहाँका कविता प्रभावशाली छ ।’ साहित्यकार शान्ति शर्माले भने श्रेष्ठका कवितामा विसंगति र अस्तित्वको खोजी भएको बताइन् । कार्यक्रममा साहित्यकारहरू ईश्वर कँडेल, रमेश प्रभात, सविता पौडेल सापकोटालगायतले बोलेका थिए । विभिन्न पुरस्कारबाट पुरस्कृत तथा सम्मानित कवि श्रेष्ठको ‘थुँगाथुँगा जिन्दगानी’ (गीतसंग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता संग्रह) ‘फूलहरूको आँधी’ (कविता संग्रह)लगायतका कृतिहरू प्रकाशन भइसकेका छन् ।

Comments

About the author

चितवन पोष्ट