गृह » अकल्पनीय रुपमा विकासको मूल फुट्छ : प्रचण्ड
राजनीति समाचार समाज

अकल्पनीय रुपमा विकासको मूल फुट्छ : प्रचण्ड

भरतपुर । चितवन क्षेत्र नम्बर–३ का वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अकल्पनीय रुपमा विकासको मूल फुट्ने बताएका छन् ।
‘आजको दिनसम्म सानातिना योजनामा अल्झियौ, ठूला योजनाका बारेमा सुन्ने बित्तिकै ओ हो यस्तो पनि होला र भन्ने लाग्यो तर देश विकासको उत्कृष्ट काम अब चितवनबाट सुरू हुनेछ ,प्रचण्डले भने । रेलमार्ग, सुरुङमार्ग, फ्लाइ ओभरजस्ता योजना सुन्ने वित्तिकै अचम्म मान्नेहरुले चितवनमा निकट भविष्यमा उक्त विकासको योजना पूरा भएको देख्न पाउने प्रचण्डले बताए ।
निजी क्षेत्रसँग आफ्नो पार्टीको सम्बन्ध निकै राम्रो रहेको उनको भनाइ छ । पछिल्लो प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई आफूले गरेको सहयोग निजी क्षेत्रकै मानिसहरुले प्रशंसा गर्ने गरेको भन्दै प्रचण्डले अबहुने विकास कसैले छेकेर नछेकिने बताए ।
आफू माडी, पश्चिम चितवन, चितवन मात्र केन्द्रित नभइ सिंगो देशको विकास गर्ने लक्ष्यका साथ स्थिर सरकारको पक्षमा रहेको प्रचण्डले बताए । देशमा वामपन्थीहरु मिल्दा कांग्रेसले अधिनायकवादको सस्तो नारा लगाएकोे भन्दै उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनाव पछि पनि सहकार्य रहने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोखरेल, २ क का उम्मेदवार घनश्याम दाहाल अविनाशको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट