गृह » प्रचण्ड अवसरवादी : मन्त्री पाण्डे
राजनीति समाचार समाज

प्रचण्ड अवसरवादी : मन्त्री पाण्डे

भरतपुर । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका प्रतिस्पर्धा गरेका पाण्डेले शनिबार आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुख दिनेजस्ता काम गरेकाहरुलाई जनताले यसपटक सवक सिकाउने उनले बताए । जनताले अहिले आश्वासन नभइ विकास चाहेको भन्दै उनले यस अगाडिका योजना सफल बनाउन र आगामी विकासका योजनाहरुलाई तदारुपता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताए ।
स्व। गिरिजाको सपना पुरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादीकेन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने उनको चेतावनी थियो । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उनले बताए । ‘व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ’ उनले भने ।
प्रचण्डले निर्वाचन जिते चितवनको बदनाम हुने उनको दाबी थियो । उनले थपे, ‘मतपत्र च्यात्ने, निर्दोस जनता मार्नेलाई विजयी गराउनु चितवनको बदनाम हुनु हो’ । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनिति गर्दै आएको बताउँदै उनले जनताको हरेक पीडा आफूलाई थाहा भएको बताए । ‘उहाँ भर्खर चितवन आउनुभयो यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ’ पाण्डेले भने ।
प्रचण्डलाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै आफूलाई सहज रुपमा भेट्न सक्ने उनले बताए । प्रचण्ड यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उनको विकल्पमा आफूलाई मतदान गर्ने विश्वास उनको छ ।
पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताए । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उनले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तु बिचको द्वन्द्व वढेको बताए । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उनले विदेशिएका युवाहरुलाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रमहरु आफूले तयार पारेको बताए ।
रेवा, राप्ती, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनले बताए । तटबन्ध माथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्ने लगायतका काम गर्ने उनको भनाइ थियो ।

Comments

About the author

चितवन पोष्ट