गृह » अग्रगामी प्रचण्ड कि पश्चगामी पाण्डे ?
विचार

अग्रगामी प्रचण्ड कि पश्चगामी पाण्डे ?

— रञ्जित तामाङ
मुलुक यतिबेला नेपाली जनताको ठूलो त्याग, बलिदान र समर्पणबाट प्राप्त संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनको अभिभारामा जुटेको छ । यस युगीन अभिभारालाई पूरा गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुंँदैछ । संविधान जारी भएपछि हुन गइरहेको राष्ट्रिय निर्वाचनको महाअभियानसँगै यसपटकको निर्वाचनमा राजनीतिक ध्रुवीकरण तीव्र भएको छ । अर्कोतिर, संविधानमा व्यवस्था भएको ‘थ्रेसहोल्ड’ का कारण पनि राष्ट्रिय दल बन्न संघर्षरत ससाना पार्टीहरु तीव्र ध्रुवीकरणको बाध्यतामा छन् । यसपटकको निर्वाचनमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीबीच भएको तालमेल र एकताले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय जगत्मा समेत ठूलो हलचल पैदा भएको छ । एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनका विरूद्ध कांग्रेस–राप्रपाले लोकतान्त्रिक गठबन्धनको नारा दिए पनि त्यसले पूर्ण आकार र स्वरुप पाएको भने देखिँदैन ।
यो दलीय शक्ति आँकलनका लागि हुने निरन्तरताको साधारण आवधिक निर्वाचन होइन । नेपाली जनताको ७० वर्ष लामो एकलव्य तपस्या र भीषण रक्तपातपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रुपमा संस्थागत गर्ने ऐतिहासिक मोड हो । यो निर्वाचन अमूक दल वा नेताको जित–हारसँग जोडिएको प्राविधिक विषयमात्र होइन । यो नेपाली जनताको अथक संघर्ष र उत्सर्गले विजय प्राप्त गरेपछिको उत्सवमय पर्व पनि हो । त्यसैले, यो ऐतिहासिक निर्वाचनमा लहडका भरमा नभई विगतमा निर्वाह गरेको भूमिकाका आधारमा जनताले निर्णय गर्नुपर्ने भएको छ । यतिबेला दल र नेताभन्दा बढी व्यवस्थालाई रोज्न जिम्मेवारीपूर्वक मतदान गर्नुपर्ने संवेदनशील घडी हो । यसैले, हामीले यसपटक मत हाल्दा हातमात्र होइन, निधार पनि खुम्च्याउनु पर्दछ । हाम्रा हातहरुले संकेत गरेको स्वस्तिक चिह्नले हाम्रै भाग्य र भविष्यको फैसला गर्नेवाला छ ।
प्रचण्ड चितवनमा नै किन ?
यतिबेला म चितवनको तीन नम्बर निर्वाचन क्षेत्रमा छु । यो क्षेत्रमा सर्वाधिक रुपले स्वदेश र विदेशको ध्यान तानिएको छ । नेपाली जनताको न्यायपूर्ण संघर्षमा जीवन–मरणको लडाइँ लडेका कमरेड प्रचण्डको उम्मेदवारी रहेको क्षेत्र भएका कारण स्वाभाविक रुपमा समग्र राष्ट्रकै आँखा परेको छ ।
मैले प्रचण्डलाई जीवन पढाएको र जगत् बुझाएको चितवनको बाटो र माटोमा उभिएर हेरेँ । पेरूंगोजस्तो भोको पेट लिएर कयौँपटक प्रचण्डले यी घुम्ती र मोडहरुमा ओहोरदोहोर गर्नुभयो । कास्कीमा हुँदा दुई पेट खान नपुगेर चितवन झरेको कहानी स्वयं प्रचण्डले कयौँपटक सुनाउनुभएको छ । जमिनदारको निर्मम पैँताला मजदुरको मेरूदण्डमा पर्दा कति कष्टकर र असह्य हुन्थ्यो भन्ने प्रचण्डले यही माटोमा उभिएर सिक्नुभयो । प्रचण्डको मस्तिष्कमा विद्रोहको पहिलो झिल्को चितवनमै बलेको थियो । उहाँका आँखामा शोषण, अत्याचार र विभेदको विद्रुप तस्बिर परेको फाँट यही थियो । आफूजस्तै हजारौँ असहायका लागि लड्नुपर्ने चेत खुलेको पाठशाला यही थियो । जनताको चीत्कार र आँसु बटुलेर तिनकै पक्षमा लड्ने कसम खाएका मैदान यिनै थिए । प्रचण्डले चितवनमै कम्युनिस्ट पार्टीको गर्विलो सदस्यता खल्तीमा हाल्नुभएको थियो । त्यसैले, यो भूगोलको प्रत्येक गौँडा र देउराली प्रचण्डलाई प्रचण्ड बनाउने विश्वविद्यालय थिए । यहाँका छाप्रा, झोपडी र जनताको खाली पेट प्रचण्डको प्रारम्भिक पाठशाला थियो । त्यही पाठशालामा लिएको अमूल्य ज्ञान बोकेर उहाँले थुप्रै हिउँद, वर्षा काट्नुभयो । र, अहिले उहाँ पुनः चितवनको माटोमा फर्किनुभएको छ । निम्नवर्गीय गरिब परिवारको अभावपूर्ण झुपडीमा देखेको सपनालाई पूरा गर्दै पुनः समृद्धिको अर्को सपना पूरा गर्न लाल झन्डा बोकेर प्रचण्ड चितवनमा खडा हुनुभएको छ ।
सायद, कुनै सामान्य नागरिक मात्र भएको भए प्रचण्ड यतिबेला बरखी बारिरहेको हुनुहुन्थ्यो । एकमात्र पुत्रको अल्पायुमै अकल्पनीय निधन भएपछि प्रचण्ड शोकमग्न हुनुहुन्छ । तर, शोकमग्न यात्री क. प्रचण्डलाई यतिबेला छोरो सम्झिएर रूने र घोत्लिने समयसमेत छैन । उहाँले देभभरका लाखौँलाख छोराछोरीहरु नै आफ्ना छोराछोरी भएको बताइसक्नुभएको छ । म चितवनका हरेक घरघरमा शोकमय हृदयविदारक यस घडीमा पनि प्रचण्ड वेग रोकिएको छैन । यो समय छोरा प्रकाशलाई सम्झिएर प्रचण्डका पाइला लर्खराए भने बाँकी हजारौँ प्रकाशको भविष्यमा कालो ग्रहण लाग्नेछ । प्रचण्डले आलाप गरेरै मात्र बस्नुभयो भने उहाँले भनेका बाँकी लाखौँ प्रकाशहरुले दशकौँसम्म आलाप गरिरहनु पर्नेछ । जनयुद्धका महानायक प्रचण्डले यसबीचमा लाखौँ प्रकाशहरु जन्माइसक्नु भएको छ । हजारौँ रक्तबीजको भविष्य प्रचण्डले शोकलाई शक्तिमा बदलेपछि मात्र चम्किने छ । हजारौँ प्रकाशहरुको आगत प्रचण्डले दह्रोसँग पाइला टेकेपछि मात्र सुन्दर हुनेछ । इतिहास बदल्ने युगपुरूषहरुले एकैछिन पनि सुस्ताउन नपाउने रहेछन्, एकैछिन पनि आँसु पुछ्न नपाउने रहेछन् । दरबारको कुनै महाराज वा आलिसान महलको मालिकलाई जस्तो नहुने रहेछ भोकानांगाहरुको पक्षमा लड्नेहरुको जीवन । कमरेड प्रचण्ड समयले गरेको बज्रपातलाई बिर्सने प्रयासमा हुनुहुन्छ सायद । बाँकी उहाँका लाखौँ छोराछोरीको जीवन कहालीलाग्दो नबनोस् भनेर आफ्ना आँसु रोकेर चितवन झर्नुभएको छ ।
प्रचण्ड चितवन फर्किनुको प्रतीकात्मक अर्थ झनै गहिरो छ । शान्ति प्रक्रियापछि उहाँ रोल्पा र काठमाडौँ दुवै ठाउँबाट निर्वाचन लड्नुभयो । त्यो जनयुद्ध र शान्ति प्रक्रियाको बाटोलाई सैद्धान्तिक रुपमा जोड्ने, गाउँ र सहरलाई जोड्ने, विकट र सुगम भूभागलाई बराबरी मह¤व दिने कार्यको राजनीतिक थालनी थियो । दोस्रोपटक मधेसमा फाटेको मनलाई काठमाडौँसँग जोड्न उहाँ सिरहा जानुभयो । यतिबेला चितवन आउनुको अर्थ आफ्नो माटो नभुल्नु, चितवनसँगको भावनात्मक र वैचारिक निकटता नभुल्नु पनि हो । प्रचण्डले राजनीतिको कखरा सिकेको चितवनलाई छाड्नुभएन ।
हिजो राजनीतिक मुद्दा र एजेन्डा स्थापित गर्न संघर्षको चरणमा रोल्पा र काठमाडौँ रोज्नुभएका प्रचण्डले अहिले विकास र समृद्धिको यात्रा तय गर्न चितवन रोज्नुभएको छ । यसबाट प्रचण्डको चितवनप्रति प्रेम, लगाव र मोह झल्कन्छ । प्रचण्डले अहिले चितवन ३ का हरेक टोलमा भन्दै हुनुहुन्छ– ‘मैले तपाईंहरुमा नै प्रकाश देखेको छु । म तपाईंहरुमा प्रकाश छर्न आएको हुँ । विकासको प्रकाश अनि समृद्धिको प्रकाश !’
परम्पराको साङ्लो चुँडाल्ने तरूण कांग्रेस पुस्ता
चितवन ३ मा आज एकातिर जनताले हिजो सामन्तवादका प्रतीक भनेर दुत्कारेका एक ठेकदार चुनावको मैदानमा छन् भने अर्कोतर्फ जनताका लागि लडेको गरिब किसानका छोरा प्रचण्ड हुनुहुन्छ । म यी दुई पात्रले बोक्ने प्रवृत्तिको तुलना गर्न चाहन्नँ । जीवनभर महाराजका पाउमा लम्पसार पर्ने संस्कार सिकेको दास र उत्पीडित जनताका पक्षमा लड्ने योद्धाबीच तुलनै हुन सक्दैन । बरू मलाई के लाग्छ भने, नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेको नेपाली कांग्रेसका साथीहरुको रोजाइ परिवर्तनकारी हुनुपर्छ । अझ, युवा साथीहरुले यस समय विवेक पु¥याउन झनै जरूरी छ । हामी हाम्रो भविष्य एक जना अयोग्य ठेकेदारका हातमा सुम्पिन चाहन्छौँ कि नेपाली राजनीतिको शिखर पुरूषका हातमा ? कसलाई विश्वास गर्दा हाम्रो र अर्को पुस्ताको समेत आगामी दिन सुखद हुनेछ ? को योग्य र लायक छ ? को गरिखाने जनताको प्रतिनिधि हो र को अभिजात वर्गको प्रतिनिधि हो ? जीवनभर राजनीति गरेको व्यक्तिसँग सपना हुन्छ कि ठेकेदारी गरेको र जनताको पक्षमा एकै शब्द नबोलेको व्यक्तिसँग ? नेपाली कांग्रेसका साथीहरुले सोच्नुपर्ने विषय हो यो । जनताले राजनीतिको रंगमञ्चबाट कुचो लगाइसकेको शक्तिलाई होइन, परिवर्तनको वाहकलाई चुन्छ कांग्रेसले भन्ने मलाई विश्वास छ । कांग्रेस परिवर्तनको पक्षमा उभिन्छ र उभिनुपर्छ । हिजो सामन्तवादको नाइकेसँग लडेका बीपी र गणेशमानका उत्तराधिकारीहरुले राजतन्त्रको जूठोपूरो खाएर हुर्किएको उही सामन्तवादको अवशेषका सामु लम्पसार पर्न सुहाउला र ! गगन थापाले दीक्षित गरेका तरूण कांग्रेसी मित्रहरु ! हिजो आर्यघाटमा सेलाइसकेका राजतन्त्रका प्रेतात्माहरुलाई फर्काउन मिल्ला र ! आउनुस्, तरूण कांग्रेसका साथीहरु छलफल गरौँ । गिरिजाप्रसाद कोइरालासँगै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने क. प्रचण्डलाई मतदान गरेर कोइरालाप्रति पनि सम्मान व्यक्त गरौँ ।
युगद्रष्टा प्रचण्ड रोज्ने कि प्रश्चगामी पाण्डे ?
यतिबेला प्रचण्डमात्र होइन, चितवन पनि परीक्षाको घडीमा उभिएको छ । एक जना युगनायक जन्माउने ल्याकत राख्ने चितवन निर्वाचनमा कसको पक्षमा फैसला गर्छ ? चितवनले आजन्म जनताका पक्षमा संघर्ष गरेको प्रचण्डलाई काँध हाल्छ वा जनताले चिहानमा पु¥याएको जन्मसिद्ध श्रेष्ठताको खुनी प्रतीकसँग सती जाने सामन्तवादको नाइकेलाई रोज्छ ? चितवनका बौद्धिक र शिक्षित मतदाताका अघिल्तिर उभिएको प्रश्न हो यो । कहिले कहिले इतिहासले सोधेका यक्ष प्रश्नहरुको गलत उत्तर दिइयो भने वर्तमान मात्र होइन, भविष्यले समेत दण्डित गर्न सक्छ । यतिबेला इतिहासलाई अभिशप्त बनाउने, पछाडि फर्काउने वा इतिहासको चक्रलाई अग्रगमन र विकासतर्फ लाने भन्ने कुराको फैसला गर्ने पावन अवसर चितवनको तीन नम्बर क्षेत्रलाई प्राप्त छ । चितवनको तीन नम्बर क्षेत्रले यो प्रश्नको सही उत्तर दिन सक्यो भने सिंगो देश हाम्रा अपूरा सपना पूरा गर्ने चरणमा जानेछ । यो उत्तर गलत दिइयो भने चितवनमात्र होइन, सिंगो देश र समय पछाडि फर्किने छ । हामी कहालीलाग्दो अन्धकार युगमा प्रवेश गर्नेछौँ । त्यसैले, यो समय चितवनले प्रचण्डलाई अझ नजिकबाट चिन्नुपर्ने समय हो । भनिन्छ, विवेकी जनता र नेताले सही र दूरदर्शी निर्णय लिँदा देश ५० वर्ष अगाडि बढ्छ भने गलत निर्णय लिँदा ५० वर्ष पछाडि फर्किन्छ । देशलाई ५० वर्ष पछाडि फर्काउने वा ५० वर्ष अगाडि लैजाने भन्ने ऐतिहासिक निर्णय लिने अवसर चितवनको तीन नम्बर क्षेत्रलाई प्राप्त छ । मलाई लाग्छ, इतिहासका निर्माता र अजेय शक्ति जनताले गलत निर्णय लिने छैनन् । चितवनको माटोमा उभिएर हेर्दा यहाँका शिक्षित जनताले पक्कै गलत निर्णय लिने छैनन् । किनकि, प्रचण्ड आफैँमा एउटा युग बदल्ने अभियानको नाम हो । ठेकेदार विक्रम पाण्डेले ठूलो मुनाफासहित ठेक्कामा परेको बाटोसम्म त बनाउलान्, तर प्रचण्ड त सिंगो देश बनाउने युगद्रष्टा हुन् । समृद्ध समाजवाद निर्माणका मूल अभियन्ता हुन् । आउनुस्, के कांग्रेस, के एमाले, के माओवादी ! सबै मिलेर युगनायक प्रचण्डलाई जिताऔँ ।
(अध्यक्ष अखिल क्रान्तिकारी)

Comments

About the author

चितवन पोष्ट