गृह » गालीगलौचको राजनीति
सम्पादकीय

गालीगलौचको राजनीति

नेपालमा निर्वाचनमय बनेको यो मंसिर महिनामा गत १० गते संसद् र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको मंसिर २१ गते हुने निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ । यसैगरी, सुरक्षा निकायहरु पनि उच्च सतर्कताका साथ आगामी निर्वाचनलाई कसरी बढीभन्दा बढी शान्तिपूर्ण बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेका छन् । उता, निर्वाचनको मैदानमा उत्रिएका राजनीतिक दलहरु पनि आफ्नो क्षमता र स्रोतसाधनले भ्याएसम्म तीव्र गतिमा घरदैलो, कोणसभा र आमसभाहरुमार्फत मतदाताको मन जित्न लागिपरेका छन् । मुलुक निर्वाचनमय बनेको यो समयमा बन्दै गरेको चिसो मौसमलाई निर्वाचनले तताएको महसुस गरिएको छ ।
यसैबीच शीर्ष दल, तिनका प्रमुख नेताहरु आफ्नो पार्टीतर्फ मतदाताको ध्यानाकर्षण गर्न एकले अर्कोलाई हदैसम्मको गालीगलौच र मानहानीसमेत हुनसक्ने गरी विष वमन गरिरहेको देख्दा त्यस्ता नेताप्रति श्रद्धाभावको साटो अपमान भइरहेको पाइन्छ । आफू अरुभन्दा राम्रो र असल छु भन्ने कुरा प्रमाणित गर्न अरु दललाई गाली गरिरहन जरूरी छैन । वास्तवमै यदि कुनै नेता वा दल ठूलो छ भने उसका आचरण र व्यवहारले उक्त कुरा प्रमाणित गराउन सक्नुपर्दछ । मंसिर २१ को चुनाव नजिकिँदै गर्दा गालीगलौचको क्रम पनि बढ्दै गएको पाइन्छ । यस्तो क्रियाकलापले त्यस्ता नेतालाई नंग्याउने काममात्र गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ज्योतिषीले सातपटकसम्म प्रधानमन्त्री हुन्छौँ भनेको कुरा पश्चिमतिरको कांग्रेसका चुनावी सभामा भन्दै हिँडेका छन् । यो आफैँमा हास्यास्पद विषय किन पनि हो भने आजको २१ औँ शताब्दीमा कर्म र विज्ञानमा विश्वास गर्न छाडेर ज्योतिषी र भाग्यवादमा विश्वास गर्ने मानिस अवश्य पनि योग्य राजनेता हुन सक्दैन । नेपाली कांग्रेसको राजनीतिक गन्तव्य प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई साकार रुप दिन काम गर्छु भनेको भए त्यो धेरै हदसम्म अर्थपूर्ण हुनेथियो । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ भनेर देशका युवा पिँढीलाई सकारात्मक सन्देश दिनुपर्ने हैसियतमा रहेका प्रधानमन्त्री देउवाले ज्योतिषीको हवाला दिएर सातपटकसम्म प्रधानमन्त्री बन्छु भन्नु आफैँमा हास्यास्पद अभिव्यक्तिका रुपमा लिइएको छ । देशको प्रधानमन्त्रीजस्तै हामीले भाग्यवादमा नभएर कर्ममा विश्वास गर्दै आगामी निर्वाचनमा देशको विकास गर्ने पार्टी र नेताहरुलाई विजयी गराउन सक्यौँ भनेमात्र संघीयता र गणतन्त्रको सपना साकार हुन सक्नेछ ।

Comments

About the author

चितवन पोष्ट