गृह » नारायणगढका घर नहटाउने सरकारको निर्णय, राज्यमन्त्री अधिकारीले गरे पहल
प्रमुख समाचार

नारायणगढका घर नहटाउने सरकारको निर्णय, राज्यमन्त्री अधिकारीले गरे पहल

–वसन्त पराजुली
भरतपुर । सरकारले नारायणगढको मेनरोड वरपर रहेका घरहरु नहटाउने भएको छ । सडक विस्तारका नाममा बजारका घरहरु हटाउने तयारी भैरहेका बेला बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक बसेर मेनरोड क्षेत्रलाई सहरी बाटो मान्दै त्यस वरपर रहेका घरहरु नहटाउने निर्णय गरेको हो ।
केही वर्षयता बजार क्षेत्रकै घर हटाउने सडक विभागले तयारी गरिरहेका बेला सरकारले नारायणगढबजारलाई सहरी क्षेत्र घोषणासमेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा बसेको मन्त्रिपरिषद् बैठकले नारायणगढलाई सहरी क्षेत्र घोषणा गरेको हो ।
सडक चौडा गर्ने भनेर सडक विभागले केही वर्षयता सूचना निकालेसँगै नारायणगढबजार संरक्षण समिति नै गठन भएर सो रोक्न माग हुँदै आएको थियो । समितिका अध्यक्ष पूर्वसांसद भीमबहादुर श्रेष्ठ सरकारले बजारवासीको आवाज सुनेको बताउँछन् ।
‘शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको प्रस्तावमा नै मन्त्रिपरिषद्ले नारायणगढलाई सहरी क्षेत्र मान्ने निर्णय ग¥यो’, श्रेष्ठले भने ।
नारायणगढको पुल्चोकदेखि आँपटारीसम्मको दुई किलो चार सय मिटर सडकलाई सरकारले सहरी क्षेत्र घोषणा गरेको हो । यहाँ दुवैतर्फ बाक्ला घरहरु छन् । सो सडकखण्डमा करिब एक हजार एक सय घर छन् ।
हाल रहेको ११ मिटर सडकलाई चौडा गरेर १५ मिटर बनाउने सडक विभागको योजना थियो । यदि बजार क्षेत्रमा यो सडकको चौडा बनाइएको भए एक हजार एक सय घर भत्काउनुपर्ने अवस्था थियो । सरकारको यो निर्णयले तत्कालका लागि घर भत्किने तनाव हटेको छ ।
‘यहाँका घरहरु भत्काइएको भए त कतिपय सुकुमबासी नै हुने अवस्था थियो । तर यो रोकिएको छ’, अध्यक्ष श्रेष्ठले भने । सडक विस्तार गर्ने भनिएपछि भरतपुर महानगरपलिकाले समेत यो सडकमा घर निर्माणका लागि नक्सा पास गराउन रोकेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले पनि यो सडक वरपरका घरहरु बैंकमा धितो राख्न रोकेको थियो । तर, सरकारको नयाँ निर्णयले अब यसमा सहज भएको छ ।
अहिले नारायणगढ–मुग्लिन सडकको विस्तार काम भैरहेको छ । आँपटारीदेखि मुग्लिनसम्मको सडकखण्ड अहिले दुई लेनको बनाउने काम भैरहेका बेला आँपटारीदेखि पुल्चोकसम्मको क्षेत्रमा पनि विस्तार गर्ने योजना अघि बढाइँदै थियो । तर, सरकारको यो निर्णयले अब नारायणगढ–मुग्लिन सडकलाई बजार क्षेत्रभन्दा बाहिरबाट लैजानुपर्ने अवस्था आएको छ ।
नारायणगढ क्षेत्रको मेनरोडलाई सरकारले बजारी क्षेत्रको सडक भनी गरेको घोषणाको नारायणगढका व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योग वाणिज्य संघ चितवनले वषौँदेखिको समस्या समाधान भएको जनाएको छ ।
सो खण्डमा पर्ने भरतपुरस्थित आँपटारीदेखि पुलचोकसम्मको सडकलाई सहरी सडक कायम गर्ने निर्णय सरकारले गरेसँगै यहाँका स्थानीय र उद्योग वाणिज्य संघले निर्णयको स्वागत गरेका छन् । संघले त अझै यो सडक विस्तारभन्दा पनि वैकल्पिक बाटोको माग गदैृ आएको थियो ।
‘हामीले सडक विस्तारको काम सहरी क्षेत्रमा गर्नुहुँदैन । बजार क्षेत्रभन्दा बाहिरबाट सडक लैजानुपर्छ भनेर यसअघि एमाले अध्यक्ष केपी ओली, त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पहल ग¥यौँ, सुनाइ भएको थिएन’, संघका अध्यक्ष राजन गौतमले भने, ‘जे भए पनि अहिलेको सरकारले हाम्रो समस्या बुझ्यो ।’
संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवम् सञ्चार उद्यमी सहनलाल प्रधान राज्यमन्त्री अधिकारीको पहलमा सरकारले गरेको निर्णय सराहनीय भएको प्रतिक्रिया दिए । ‘यहाँका जनताको जे चाहना थियो, त्यसैअनुरुप काम भएको छ । सरकारले जनताको पीडा बुझेको छ’, उनले भने ।
नारायणगढ–मुग्लिन सडक ०३४ सालताका बनेको हो । तर, नारायणगढबजार भने यो सडक बन्नुभन्दा पनि अघिदेखि नै बसेको हो । विसं २०११ सालदेखि नै नारयाणगढमा घरहरु बन्न थालेका हुन् ।
‘सडकभन्दा जेठो सहर भएकाले पनि बजार छलेर सडक लैजानुपर्ने हुन्छ, त्यो सरकारले अहिलेको निर्णयले पूरा गरेको छ’, समितिका अध्यक्ष श्रेष्ठले भने ।

 

Comments

About the author

चितवन पोष्ट